चार हजारले लिएनन् निजी आवास अनुदान

चार हजारले लिएनन् निजी आवास अनुदान

भक्तपुर : २०७२ सालको भूकम्प प्रभावित भक्तपुरका चार हजार नौ जनाले अहिलेसम्म पहिलो किस्ता बुझेका छैनन्। सरकारले लाभग्राहीको सूचीमा राखेका उनीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास अनुदानको लागि सम्झौतासमेत नगरेका हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय भक्तपुरका अनुसार भक्तपुरमा २८ हजार चार सय १४ जना लाभग्राही रहेका छन्। जसमध्ये २४ हजार चार सय नौ जनाले मात्रै प्राधिकरणसँग सम्झौता गरेर पहिलो किस्ता बुझेको सचिवालयका प्रमुख ध्रुव गैंडाले जानकारी दिए।

उनका अनुसार प्राधिकरणले निजी आवास अनुदानका लागि सम्झौता नगरेका लाभग्राहीलाई यहीं असार २१ गतेभित्र सम्झौता गर्न सूचित गरिसकेको छ। ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यहीं असार २१ गतेभित्र निजी आवास अनुदानको सम्झौता गरी असार मसान्तभित्र पहिलो किस्ता बुझ्न भनेको छ’, प्रमुख गैंडाले भने, ‘भक्तपुरमा चार हजार नौ लाभग्राहीले जेठसम्म निजी अनुदानको लागि सम्झौता गरेका छैनन्। असार २१ भित्र पनि नगरे लाभग्राही सूचीबाट हट्छ।’

भक्तपुरका चारवटा नपाका सम्पूर्ण वडा कार्यालयमार्फत् सम्झौता नगरेका लाभग्राहीलाई प्राधिकरणको सूचनाबारे जानकारी गराइएको उनको भनाइ थियो।

सचिवालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका दुई हजार ३५ लाभग्राहीले सम्झौता गरेका छैनन्। त्यस्तै चाँगुनारायण नपाका एक हजार दुई सय ५१, सूर्यविनायक नपाका चार सय ४६ र मध्यपुर थिमीका दुई सय ७३ जना सम्झौता गर्न आएका छैनन्।

भक्तपुरका २८ हजार चार सय १४ लाभग्राहीमध्ये भक्तपुर नपामा सात हजार ६ सय ५६, चाँगुनारायण नपामा ११ हजार, सूर्यविनायकमा सात हजार चार सय २५ र मध्यपुर थिमीमा दुई हजार तीनसय ३३ जना रहेका छन्।

दोस्रो किस्ता लिने ३३ प्रतिशतमात्रै
त्यस्तै निजी आवास बनाउन प्राधिकरणसँग सम्झौता गरेका भक्तपुरका ३३ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो किस्ता बुझेका छन्। पहिलो किस्तावापत पचास हजार रुपैयाँ बुझेका १६ हजार नौ लाभग्राहीले दोस्रो किस्ता बुझेका छैनन्। आठ हजार चार सय जनाले मात्रै दोस्रो किस्ता बुझेको प्रमुख गैंडा बताउँछन्।

उनका अनुसार पहिलो किस्ता लिएर दोस्रो किस्ता लिन नआएका लाभग्राहीले घरै नबनाएको देखिएको छ। त्यसैले पहिलो किस्ता लिएकालाई समेत छिटोभन्दा छिटो घर निर्माण थालेर दोस्रो किस्ता लिन आउन सूचित गरिएको उनले जानकारी दिए।

‘पहिलो किस्ता बुझेकाले पनि कि छिटो घर बनाउनुपर्‍यो कि रकम फिर्ता गर्नुपर्‍यो भनेर सूचित गरेका छौं’, प्रमुख गैंडाले भने, ‘पहिले २०७६ असारसम्म दोस्रो किस्ता बुझ्न भनेका थियौं तर अहिले छिटो दोस्रो किस्ता लिन भनेका छौं।’

प्राधिकरणकै म्याद सकिन लागेकाले निजी आवास निर्माण सम्झौताको समयावधि पनि सकिने लागेको उनको भनाइ थियो।

चारजनाले फर्काए अनुदान
प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्तावापतको ५० हजार रुपैयाँ बुझेका चार जना लाभग्राहीले रकम फिर्ता गरेका छन्। उनीहरुले घर बनाउन नसकिने भएपछि अनुदान रकम फिर्ता गरेका हुन्।
प्रमुख गैंडाका अनुसार प्राधिकरणसँग गरेको अनुदान सम्झौताको प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस, अनुदान रकम बैंकमा जम्मा गरेको सक्कल भौचर बुझाएर अनुदान रकम फिर्ता गर्न सकिन्छ।

भक्तपुरका अनुदान रकम फिर्ता गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरले नेपाल इन्भेस्टमेन्ट बैंकमा खाता खोलेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.