प्रधानसेनापति थापा बेइजिङमा
बेइजिङ : प्रधानसेनापति पूर्णचन्द्र थापा चीनमा द्विपक्षीय भेट र निरीक्षणमा व्यस्त बनेका छन्। चीनका जनमुक्ति सेनाको निमन्त्रणामा उनी आइतबार चीन आएका थिए।
उनी चेन्दुबाट मंगलबार बेइजिङ आइपुगेको दूतावासका अधिकारीले जानकारी दिएका छन्। उनले पश्चिम थिएटर कमान्डर चाव झोङ्छीसँग भेट गरेका थिए। उनीहरूबीच नेपाल–चीन सम्बन्ध र दुई देशका सेनाको सहकार्य एवं क्षमता वृद्धिमा अनुभव साटासाटलगायत विषयमा छलफल भएको थियो।
उनी मंगलबारै बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन्। उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने र राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनी असार ७ मा काठमाडौं फर्किने दूतावासले जनाएको छ।