जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता
सुर्खेत : कर्णाली नदीमा यात्रुवाहक जीप खस्दा कम्तीमा १० जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिकाबाट सदरमुकाम सिमकोटका लागि छुटेको लु१ज ७१६६ नम्बरको जीप मंगलबार याङ्चुबाट कर्णालीमा खस्दा सबै यात्रु बेपत्ता भएका छन्।
जीप कच्ची सडकबाट करिब ३० मिटर तल नदीमा खसेको थियो। स्थानीय र आफन्तको सूचनाका आधारमा प्रहरीले जीपमा १० जना यात्रु चढेको बताएको छ। तर जीपमा अरू पनि यात्रु चढेको हुन सक्ने आशंका छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिनभर दुईवटा हेलिकोप्टर, सेना र प्रहरीले बेपत्ता जीप र यात्रुको खोजी गरेका थिए। तर जीप र यात्रुको अवस्था पत्ता लाग्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।
दुर्घटनामा जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल, चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाईं र उनका दुई वर्षका छोरा, गोकुल सुनार र काठमाडौं थानकोटका मिस्त्री राजु श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले भने, ‘स्थानीयको सूचनाका आधारमा १० जना बेपत्ता भएको खुलेको छ। ग्रामीण सडक भएकाले त्योभन्दा बढी यात्रु चढेका हुन सक्छन्।’
गोताखोर नहुँदा खोजी कार्यमा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। उनका अनुसार उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली घटनास्थलतर्फ खटाइएको छ।
‘हेलिकोप्टरबाट पनि खोजी भयो, तर पत्ता लगाउन सकिएन’, पोखरेलले भने,‘नदीको वेग धेरै छ, गोताखोर भएमा खोज्न सजिलो हुन्थ्यो।’ स्थानीयका अनुसार बेपत्ता जीप केही महिनाअघि मात्र हेलिकोप्टरमार्फत खार्पुनाथ लगिएको थियो। यो सडकमा सञ्चालन हुने यो एउटा मात्र जीप थियो।
जीप स्थानीय चन्द्र हमालले चलाएका थिए। सिकारु चालक र कच्ची सडक भएकाले जीप दुर्घटनामा परेको आशंका गरिएको छ।
दुर्घटनामा परेको जीप १६ सिट क्षमताको रहेको बताइएको छ। हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। तर जिल्लाभित्र खनिएका कच्ची सडकमा साना जीप सञ्चालन हुने गरेका छन्। कच्ची सडक, सिकारु चालक र क्षमताभन्दा बढी यात्रु ओसार्दा दुर्घटनाको जोखिम बढ्दो छ। बुधबार बिहानै खोजी कार्य सुरु गरिने प्रहरीले जनाएको छ। स्थानीयले तत्काल गोताखोरमार्फत बेपत्ता आफन्तको खोजी गरिदिन माग गरेका छन्।