आयोजकलाई चौथो सफलता

आयोजकलाई चौथो सफलता

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको छ । मंगलबार भएको खेलमा इङ्ल्यान्डले एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानलाई १५० रनले पराजित गर्‍यो ।

ओल्ड ट्राफोर्डमा इङ्ल्यान्डले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४७ रन मात्र बनाउन सकेपछि आयोजक इङ्ल्यान्डले सहज जित निकालेको हो ।

अफगानिस्तानका हस्मतुल्ला साहिदीले ७६ रनको अर्धशतकीय पाली खेले । टोलीका लागि सर्वाधिक रन बनाएका उनले १०० बलमा दुई छक्का र पाँच चौका हिर्काए । यसैगरी रमात साहले ४६, अस्गर अफगानले ४४, कप्तान गुलबद्दिन नइबले ३७, निजाबुल्ला जाडरनले १५ रन बनाए । इङ्ल्यान्डका अदिल रसिद र जोफरा आर्चरले तीन÷तीन विकेट लिए । यस्तै मार्क उडले पनि दुई विकेट हात पारे ।

यसअघि ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ६ विकेटको क्षतिमा ३९७ रनको विशाल योगफल खडा गरेको थियो । यो जारी विश्वकपकै सर्वाधिक ठूलो योगफल हो । यसै विश्वकपमा यसअघि इङ्ल्यान्डविरुद्ध नै पाकिस्तानले ३४८ रनको योगफल खडा गरेको थियो ।

इङ्ल्यान्डको विशाल योगफलमा कप्तान इयोन मोर्गनले शतक र जोनी बेयरस्ट र जोए रुटले अर्धशतकीय पाली खेले । आक्रामक ब्याटिङ गरेका मोर्गनले १४८ रन बनाए । उनले ७१ बलमा १७ छक्का र चार चौका हिर्काए । उनले ५७ बलमा शतक पूरा गरेका थिए । एकदिवसीय क्रिकेटमा उनको १३औं शतक हो । उनले एकदिवसीय क्रिकेटको एउटै पालीमा सर्वाधिक छक्का हिर्काउने कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

उनले भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यी तीनै खेलाडीको नाममा १६÷१६ छक्काको कीर्तिमान थियो ।

यसैगरी बेयरस्टले ९० र रुटले ८८ रनको पाली खेले । बेयरस्टले ९९ बलमा तीन छक्का र नौ चौका हिर्काए । यस्तै रुटले ८२ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । यसैगरी मोइन अलीले पनि आक्रामक ब्याटिङ गर्दै नौ बलमा ३१ रन बनाए । उनले पनि चार छक्का र एक चौका हिर्काए । अफगानिस्तानका दौलत जाडरन र कप्तान गुलबद्दिन नइबले तीन÷तीन विकेट लिए ।

जारी विश्वकपमा इङ्ल्यान्डले दक्षिण अफ्रिका, बंगलादेश र वेस्ट इन्डिजलाई पराजित गरेको थियो । इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रन, बंगलादेशलाई १०६ रन र वेस्ट इन्डिजलाई आठ विकेटले हराएको थियो । पाकिस्तानसँग भने इङ्ल्यान्ड १४ रनले पराजित भएको थियो । यसैगरी अफगानिस्तान भने अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.