रिङरोडले जोडिँदै धनगढी
धनगढी : धनगढी उपमहानगरपालिकालाई वाहिरी रिङरोडले जोडिँदै छ । धनगढीको विकाससँग जोडिएको रिङरोड (चक्रपथ) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १५ दशमलव ५ किलोमिटर निर्माण सकिएको छ । ३९ किलोमिटर रहेको उक्त क्षेत्र पहिलो चरणमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत २९ करोड ९३ लाख लागतमा निर्माण गरिएको हो ।
वडानम्वर–२ भन्सारदेखि राजपुर, मोहनपुर, गेटा हुँदै उत्तरमा घोडसुवा, वेला, विजुलीया, जालीगाउँ भएर रिङरोड निर्माण भइरहेको छ । जाखोर ताल, कालिका मन्दिर डि–गाउँ र दक्षिणमा वडा नम्बर ९ हुँदै पुनः भन्सारमा आएर जोडिने इन्जिनियर द्विजराज भट्टले जानकारी दिए । ‘सवारी चाप कम गर्न निर्माण भइरहेको रिङरोड निर्माण कार्य गेटा मोहनपुरदेखि बेला सम्मको सडक निर्माण हुन बाँकी छ’, उनले भने ।
योजना कार्यान्वयन ईकाइका इन्जिनियर झंकबहादुर थापाले पहिलो चरणको रिङरोड निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । भन्सारमा पनि स्थानीयले साईड क्लीयर गर्दा समस्या उत्पन्न भएपछि लम्बिएको इन्जिनियर थापाले बताए । रिङरोड निर्माण भएपछि स्थानीय पनि खुसी भएका छन् । सघन शहरी विकास कार्यक्रम अन्तर्गत तीन वर्षको अवधिमा ५२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । सघनले धनगढीमा ३ अर्बको लगानीमा सडक निर्माण गरिरहेको हो ।
नगर क्षेत्रको कूल ९१ किलोमिटर सडक कालोपत्रे गरिने छ । ८ नम्बर प्याकेज अन्तरगतका पिपलचौतारा–जाई–मट्यारी सडक, जाली–अत्तरिया बिजुलीया सडक, तुल्सी चौक सडक गरी ७ दशमलव ६ किलोमिटर कालोपत्रे पुरा भएको छ । फुलबारी–कोल्ड स्टोर सडक, फुलबारी–क्याम्पस रोड सडक, फुलबारी–स्टेडिएम सडक, केदारबाबा मन्दिर, बेला–पटेला गरी ८ दशमलव ५५ किलोमिटर सडक कालोपत्रे निर्माण गरिएको छ । २०७४ चैत्रमा सम्झौता भएको पाँच नम्बर प्याकेजको ४१ किलोमिटर सडक २०७७ चैत्र मसान्तसम्म निर्माण गरि सक्नुपर्नेछ ।