उखुको ८ अर्ब भुक्तानी कहिले ?
जनकपुरधाम : उधारोमा चिनी उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका लाखौं किसान भुक्तानी नपाएर पिरोलिएका छन्। चिनी उद्योगीले किसानलाई अझै ७ अर्ब तिर्न बाँकी छ। सरकारबाट पाउनुपर्न १ अर्बभन्दा बढी अनुदान पनि पाएका छैनन्।
महोत्तारीको गौशाला—२ निगौलका किसान नरेशसिंह कुश्वाहा उखुको भुक्तानी पाउन नसकेको बताउँछन्। उनले रामनगरस्थित एभरेस्ट उद्योगमा ४ हजार क्विन्ट उखु बिक्री गरेको थिए। २१ लाखको उखु बिक्री गरेका उनले हालसम्म २ लाख रुपैयाँ मात्र पाएका छन्।
‘उखु खरिद गरेको ढेड महिनाभित्र उद्योगले उखु किसानलाई भुक्तानी दिने सम्झौता थियो’, उनले भने,‘ऋण काढेर वर्षभरि मेहन गरी उधारोमा उखु बिक्री गर्नुप¥यो। त्यसको पैसा लिन दुःखैदुःख छ।’ मिल बन्द भएको दुई महिना बित्दैछ। उखु बिक्री गरेको भुक्तानी चिनी मिलले नदिँदा गुजारा चलाउन समस्या भएको उनको भनाइ छ।
नगदे उखुको व्यथा
गौशाला—४ रजखौरका उखु किसान दिनेश महतोले चिनी मिलले उधारोमा उखु लिएर दुःख दिइरहेको बताए। ‘खेतमा नयाँ उखु हुर्किसक्यो। बिक्री गरेको उखुको रकम पाउन सकिएको छैन’, उनले भने। नरेश र दिनेश जस्ता लाखबढी उखु किसान उखुको भुक्तानी पाउन नसक्दा समस्यामा छन्। आर्थिक वर्ष ०७५/०७६ मा देशभरका किसानले करिब १० अर्बको २ करोड १२ लाख क्विन्टल उत्पादन गरेका थिए।
किसानलाई सुन्दैन सरकार
महोत्तारीको गौशाला—११ लक्ष्मीनियाँका उखु किसान रामभजन महतो भन्छन्, ‘किसानको देशमा सरकार हाम्रा समस्या सुन्दैन।’ रगत पसिनालाई एक गरेर खेती गर्ने किसानलाई सरकारले दुःख दिँदै आएको उनले गुनासो गरे। रामभजन बर्सेंनि ४ बिघामा हजार क्विन्टल उखु उत्पादन गर्दै आएका छन्।
एक बिघाको उखु उधारोमा बिक्री गरेका महोत्तारी गौशालाका अर्का किसान कासी महतोलाई नगदेबाली उखुको उधारो व्यथाले सताएको छ। ‘उखुको उद्यारो खेतीले किसान मारमा छन्’, उनले भने,‘ छोरीछोरी पढाउन, छाक टार्न, जीवन चलाउन निकै कठाइभयो।’ अन्नदाता किसान आजको दिनमा चारैतिरबाट झुठ्ठा सावित भइरहेका छ।’ सरकार र उद्योगपतिले पाइलै पिच्छै किसानलाई दिने दुःखले आजित भइसको उनले बताए।
‘भुक्तानी नदिए आन्दोलन चर्काउँछौं’
नेपाल उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चिनी मिलले किसानसँग गरेको सम्झौता पालना नगरेको बताए। उनले गत पुसको अन्तिम साता किसान र चनी उद्योगीबीच भएको सम्झौताअनुसार उखु खरिद गरेको ४५ दिनभित्र भुक्तानी दिनुपर्ने थियो।
‘अर्ब रुपैयाँ अझै किसानलाई उद्योगीले तिर्न बाँकी छ’,अध्यक्ष मैनालीले भने,‘भुक्तानी गर्न ढिला गरे उद्योगीबिरुद्ध आन्दोलन चर्काउँछौं।’ हालसम्म किसानले देशभरका १४ उद्योगमध्ये ८ वटा चिनी उद्योगले कुल २ अर्ब ६० करोड ९० लाख मात्र भुक्तानी पाएका छन्। पाएका भुक्तानीले उखु काट्दा लागेको ऋण किसानले तिर्न सकेका छैनन्।
चिनी बिकेन : उद्योगी
‘चिनी बिकेको छैन। त्यसैले किसानलाई उखुको रकम तिर्न ढिलो भइरहेको छ’, नेपाल चिनी उत्पादक महासंघका अध्यक्ष शशिकान्त अग्रवालले भने। उखुको आम्दानीले परिवार पाल्ने किसानले भुक्तानी नपाउँदा उनीहरको बिल्लीबाठ भएको छ। ०७५÷०७६ मा उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य सरकारले निर्धारण गरेको थियो। यसमध्ये प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा किसानले सरकारबाट अनुदान प्राप्त गर्छन् भने ४ सय ७१ रुपैयाँ २८ पैसा उद्योगीले उखु खरिद गरेबापत प्राप्त गर्ने भनिएको छ। सरकारबाट पाउनुपर्ने १ अर्बभन्दा बढी रकम पनि किसानले पाएका छैनन्।