राजा महेन्द्रलाई कसरी सम्झने ?

राजा महेन्द्रलाई कसरी सम्झने ?

महेन्द्रको राज्यकालमा मुलुक भारतको छत्रछायाबाट उम्कन सफल रह्यो तर आर्थिक रूपमा जकडिन किन नपरोस्


एघार-बाह्र वर्षको हुँदा एक दिन (९ माघ २०१८) रेडियो नेपालले ‘जनकपुर भ्रमणमा रहेका राजामाथि बम प्रहार’ समाचार प्रसारण गर्‍यो। दुर्गानन्द झाले राजा सवार भएको गाडीमा बम प्रहार भएको तर राजाको गाथमा कुनै हानिनोक्सानी नभएको समाचार थियो। उक्त घटना भएको दुई वर्ष नपुग्दै (१५ माघ २०२०) दुर्गानन्दलाई गोली हानेर मृत्युदण्ड दिइयो। टंकप्रसाद, रामहरि शर्मा तथा चूडाप्रसाद ब्राह्मण भएकाले जुद्ध शमशेरले मृत्युदण्ड दिएनन्। सायद बाहुनको छोरालाई गोली हानेर हत्या गरेको यो पहिलो घटना थियो। झाको हत्यापछि २८ चैत २०२२ मा तेजबहादुर अमात्यको सीमापारि रक्सौलमा गोली हानेर हत्या भएको खबर सुनियो।

पितालाई सोधें- अमात्यको हत्यारा को ?  विनासोच ‘यो मुलुकमा राजाको आदेशविना कुनै नेताको हत्या हुन सक्छ ? राजाले मारेको’ उत्तर सुन्दा म अचम्मित भएँ। त्यतिन्जेल मेरो उमेर १५ वर्ष पुगिसकेको थियो। २०१८ सालमा धेरै विद्रोहीहरूको हत्या गरिएका समाचार सुनेको थिएँ। विष्णु भगवान् क्षमा दिने तथा अहिंस्रक भए पनि तिनको अवतारको आदेशमा निहत्था मारिएका मानिसको फेहरिस्त अझै पूर्ण भइसकेको छैन। तिनको शासनकालदेखि विरोधीहरूलाई राज्यले हत्या गर्न थालेको हो।

खरीको बोट उखेलिँदा

टुँडिखेलको कुनामा ठूलो खरीको बोट थियो। बन्दुक बोकेका सिपाहीहरूका सालिक तथा सिंहमरमरका भर्‍याङ माथिल्लो खण्डमा समतल ठूलै फैलिएको स्थान। एक दिन त्यो रूख काटियो अनि ठूलो बुलडोजरले जरासमेत खनेर उखेलियो। पितालाई सोधें- किन त्यति राम्रा रूख काटेका होलान् ?        उहाँले भन्नुभयो, ‘हजारौं वर्ष पुरानो रूख काटे। सैनिक मञ्च बनाएका हुनाले भन्छन्। रूख काट्नुको कुनै तुक थिएन। बेइमानले सम्पदाहरू नास गरे। गर्दै जाने भए।’ खरीको बोटको मञ्चभन्दा के सैनिक मञ्च आकर्षक थियो वा छ ?        त्यो ठूलो ऐतिहासिक रूख काट्नुपछाडिको कारण अझै बुझ्न सकिएको छैन।

त्यसो त राजदरबारको प्रांगणमा खडा गरेको मन्दिर आकारको घर तथा धरोहरा आकारका अग्ला झ्याल-ढोकाविहीन टहरोको औचित्य तथा सौन्दर्यको प्रशंसा हुन सकेको छैन। राजाले तिनको मुलुकलाई उज्ज्वल तुल्याउँदै छन्। कक्षा ९ तथा १० मा अंग्रेजी साहित्यको गद्य विषयमा माथि उल्लेख गरिएको एउटा निबन्ध थियो। एसएलसीको परीक्षामा सोधिने प्रश्नमध्ये प्रायः एक हुने गथ्र्यो, ‘राजा महेन्द्रले कसरी आफ्नो देशलाई समृद्ध तुल्याउँदै छन् ?        उत्तर कण्ठ पार्ने प्रचलन थियो। उक्त निबन्धमा जनताले राजले कुल्चेको धुलोको टीका लगाउँदै छन् भन्ने वर्णन गरिएको थियो।

वास्तवमा ३५ वर्षको उमेरमा राजगद्दी सम्हालेपछि राजाले देश दर्शन पैदल गर्न थाले। प्रत्यक्ष जनसम्पर्कमा आउँदा काठमाडौंकेन्द्रित राजनीतिक दलका नेताहरूभन्दा लोकप्रिय हुने विश्वास तिनको थियो। सुरुको भ्रमणमा तिनले दौरा-सुरुवाल पहिरिएका थिए। सेनापति किरण शमशेरको व्यक्तित्व राजाको भन्दा बढी प्रभावकारी थियो। जनताले राजा तिनैलाई ठाने। त्यसपश्चात्का दिनमा राजा आफू पनि सैनिक पोसाकमा निस्कन थाले। सैनिक बर्दी तथा कालो चस्मा पहिरिएर ठाँटिएका राजाको मनमा के थियो थाहा कसले पाउने ?        यातायातको सुविधाविहीन (हेलिकोप्टरले समेत परिचय नपाएको अवस्था) त्यस कालखण्डको नेपालमा राजाले देशको कुनाकाप्चाको भ्रमण गरेर जनताको प्रत्यक्ष सम्पर्कमा आउँदा चार प्रमुख कार्य गरेका थिए- (१) आफू विगतका राजाहरूजस्तो नभएर नागरिकका समस्या बुझ्ने राजाका रूपमा पहिचान स्थापित गर्ने, (२) स्थानीय स्तरका प्रबुद्ध व्यक्तिको पहिचान गरेर भविष्यमा तिनको उपयोग गर्ने, (३) राजनीतिक दलहरूको लोकप्रियताको अवस्था बुझ्ने तथा (४) देशको वास्तविक नेताका रूपमा स्थापित हुने।

राजनीतिक परीक्षण

प्रजातन्त्र स्थापनाको एक वर्ष नबित्दै युवराज महेन्द्रले दलीय व्यवस्थाको विरुद्धमा अभिव्यक्ति दिन थालेका थिए। दलीय व्यवस्थाले मुलुकलाई अनुशासनविहीन तुल्याएको, वैमनस्य फैलाएको, राजनीतिक वृत्तमा स्वार्थ, लोभ तथा सत्तामोह हाबी भएको जस्ता आलोचना तिनले गर्ने गरेका थिए। राजगद्दी सम्हालेपछिको १७ वर्ष लामो शासन अवधिमा पाँच राजनीतिक परीक्षण गरे (१) परम्परावादीहरूको सहयोगमा प्रत्यक्ष शासन, (२) राजनीतिक दल तथा आफ्ना भक्तजनसम्मिलित मन्त्रिपरिषद्को नेतृत्व, (३) राजनीतिक दल अध्यक्षको नेतृत्वको सरकार गठन, (४) विभिन्न दलसम्मिलित राष्ट्रिय सरकार, (५) संसदीय प्रणालीको सरकार तथा (६) दलविहीन व्यवस्था प्रणाली। पिताबाट राज्य व्यवस्था सञ्चालन अधिकार पाएर स्वदेश फिर्ती भएलगत्तै तिनले मातृकाप्रसादको सरकार विघटन गरेर राणाकालीन विश्वासिला पात्रहरूसम्मिलित भारदारसभा गठन गरी प्रत्यक्ष शासन सञ्चालन गरे।

तिनको यस कार्यको चौतर्फी विरोध भएपछि टंकप्रसाद आचार्य नेतृत्वको सरकार गठन गरे। प्रजापरिषद् दलको प्रधानमन्त्री नियुक्त गर्दा उक्त दल अध्यक्षमा टंकप्रसाद थिएनन्, अध्यक्ष थिए भद्रकाली मि श्र। यस सरकारमा प्रजापरिषद्को सदस्य केवल टंकप्रसाद र चूडाप्रसादका अलावा अरू सबै राजाका आफन्त नै थिए। यसले गर्दा मन्त्रीमण्डल प्रधानमन्त्रीको नियन्त्रणमा थिएन। १८ महिना लामो टंकप्रसाद मन्त्रिमण्डलको औचित्यचाहिँ राजा त्रिभुवनले मुलुकलाई जाहेर गरेको संविधानसभाको सट्टा संसद्को निर्वाचन गराउने घोषणा गरिनुमा सीमित रह्यो। प्रधानमन्त्रीले चुनाव गर्न सरकार असमर्थ भन्ने बहानामा टंकप्रसादको सरकारलाई विघटन गरे। लगत्तै राजाले डा. केआई सिंहको सरकार गठन गरेर सबैलाई चकित तुल्याए।

कुनै स्वदेशी वा विदेशी अनुसन्धानकर्ताले राजा महेन्द्रको मुलुक गणतान्त्रिक हुनुमा तिनले पुर्‍याएको दूरगामी प्रभावबारे विस्तारै अध्ययन गर्ने नै छन्।

उक्त सरकारलाई तिनले तीन महिना नपुग्दै विघटन गरे। आफ्नो सरकार गिरेको वास्तविकता प्रधानमन्त्रीलाई रेडियो नेपालमा सोधेर पुष्टि गर्नुपरेको थियो। त्यसपछि आफ्नै नेतृत्वमा सर्वदलीय सरकार गठन हुने घोषणा गरेर राजाले मन्त्रिमण्डल गठन गरे। यस कालखण्डमा सरकार गठन तथा विघटनबाट राजाले पुरातनवादीको क्षमताको आकलन, काठमाडौंकेन्द्रित नेताहरूको नाडी छाम्ने कार्य तथा आफ्नो अधिकार सुनिश्चित गरेको भन्दा अन्यथा हुँदैन। राजाले आफ्नो देश भ्रमण कार्य तथा आफ्ना विश्वासिला पात्रहरूलाई दौडमा खटाएर राजनीतिक दलहरूको अवस्था आकलन गर्न पठाएर कुनै पनि दलले बहुमत कायम गर्न सक्दैन भन्ने सुनिश्चित भएपछि संसद्को चुनाव हुन दिएका थिए। चुनावको माहोल तातेपछि मात्र तिनले संविधानसभा नभएर संसद्को चुनाव घोषणा गरे। त्यतिञ्जेल राजनीतिक कार्यकर्ता चुनाव क्षेत्रतर्फ लागिसकेकाले बहिष्कार गर्ने माहोल थिएन। चुनाव परिणाम राजाको अनुमानविपरीत हुँदा तिनले सरकार गठनपूर्वदेखि नै कसरी उक्त सरकारलाई अपदस्थ गर्ने भनेर तानाबाना बुन्न थालिसकेका थिए।

 पञ्चायत

दलीय प्रणालीविरोधी राजाले आफ्नै सरकारलाई सेनाको सहयोगमा अपदस्थ गरेपछि नेपाली कांग्रेसको तीन पूर्व महासचिवसम्मिलित सरकार आफ्नो नेतृत्वमा गठन गरे। ठूलो संख्यामा कर्मचारीको जागिर खोसिदिए। विश्वास पात्रहरू डा. तुलसी गिरी, विश्वबन्धु थापा, ऋषिकेश शाह, सूर्यबहादुर थापा तथा अनिरुद्धप्रसाद सिंहलाई सम्मिलित गरेर आफ्नो नेतृत्वमा सरकार गठन गरे। लगत्तै सेनाबाट अवकाश प्राप्त क्षेत्रविक्रम राणा, पदमबहादुर खत्री, यदुनाथ खनाल, डा. यादवप्रसाद पन्त, डा. भेषबहादुर थापा तथा करिसन बम मल्ललाई सचिव पदमा नियुक्त गरे। राजा आफूले चयन गरेका राजनीतिक व्यक्तिभन्दा बढी विश्वास सचिवहरूको गर्दथे।

पञ्चायतको औचित्य राजाका निमित्त धेरै हिसाबले हात्तीको देखाउने दाँत थियो, ग्रामीण तहदेखि माथिल्लो तहसम्मको राजनीतिक संरचनाको व्यवस्था गरियो। वडासम्मिलित ग्राम वा नगरपञ्चायत, ग्राम तथा नगरहरू सम्मिलित जिल्ला अनि जिल्लासम्मिलित अञ्चल तथा अञ्चलहरूबाट क्षेत्र र राष्ट्रिय। वडा, नगर वा ग्रामीण पञ्चायत सभापतिहरू, प्रत्यक्ष निर्वाचित सदस्यहरू जसले माथिल्ला एकाइहरू छानिँदै जाने प्रावधानले प्रजातान्त्रिक प्रणाली अख्तियार गरेजस्तो देखिने। वैदेशिक सहयोग तथा जगैदेखिको प्रजातन्त्र कहलाउन तिनका सक्षम प्रशासकलाई धेरै कठिनाइ झेल्नै परेन। पञ्चायत प्रणालीको आविष्कारपाछि पनि राजा चुप लागेर बसेनन्। यस व्यवस्थालाई पनि तिनले दिगो हुन दिएनन्।

प्रधानमन्त्री पद दिगो हुन पाएन। सबैभन्दा लामो शासन गर्ने व्यक्तिले कहिल्यै चार वर्ष पनि टिक्न पाएनन्। डा. गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टलाई बेलाबखत नियुक्ति गरे प्रधानमन्त्री पदमा। विडम्बना गिरीले राजाका नाममा आफैंले शासन गर्न खोज्दा राजनीतिक मतभेदको कारणले निस्कासित हुने गर्थे र फेरि निम्त्याइने गर्दथे। सूर्यबहादुर थापा गुटबन्दी गर्न खोजेको आरोपमा निष्कासित हुने गर्थे। विष्ट त ‘साह्रै मन परेको इमानदार राष्ट्रवादी छवि घनीभूत’ तैपनि टिकेनन्। त्यसो त गेहेन्द्र राजभण्डारी र विश्वबन्धु थापाले प्रधानमन्त्री पद प्राप्त गर्न सकेनन्। सुवर्णशमशेर राणा तथा सूर्यप्रसाद उपाध्यायले भने पाएर पनि स्वीकार गरेनन्। त्यसो त, राजा महेन्द्रको शासनकालमा प्रधानमन्त्रीको राज्य सञ्चालन शक्ति केकति हुने गथ्र्यो, त्यसको अनुमान कठिन हुँदैन।

 सिर्जनशील राजा

विद्यार्थी कालखण्डमा कवि एमबीबी शाहद्वारा रचित गीत घन्किने गर्दथ्यो रेडियो नेपालमा। राजाको छद्मभेषी नाम रहेछ त्यो। त्यही नामले गीत संग्रह प्रकाशित भयो। ‘उसैका लागि ? ’ बडो चर्चित रह्यो उक्त गीत संग्रह। त्यही कालखण्डमा बहुचर्चित समालोचक थिए ताना शर्मा। जो वास्तवमा तारानाथ शर्मा रहेछन् पद्मकन्या कलेजका अंग्रेजी भाषाका प्राध्यापक। शर्माले ‘उसैका लागि’ गीतिसंग्रहको समालोचना प्रकाशित गरेवापत ६ महिना जेल जीवन बिताए। राजा महेन्द्रले आन्तरिक थुप्रै सुधार कार्य गरे मुलुकी ऐन, भूमिसुधार, राजारजौटा उन्मूलन आदि।

यस्ता सामाजिक तथा आर्थिक सुधारका काम गरेबापत तिनको प्रशंसा गरिन्छ, मुक्तकण्ठले। त्यसो गरिँदा छुट्न जाने ‘फुट नोटहरू’ मध्ये (१) ब्याइतेपट्टिको पुत्र वीरेन्द्र तथा भित्रियापट्टिका रवीन्द्रबीच भएका विभेद हुन्। (२) भूमिसुधार कार्यक्रमको दौरान एकैपटक उक्त ‘क्रान्तिकारी कार्यक्रम’ लागू नगरी चरणबद्ध कार्यक्रम लागू गर्ने प्रावधानबाट ठूलाठूला भूमिपतिहरूले जग्गा लुकाउन पाएको छुट। तथा अझै ठूलालाई ‘कम्पनी रजिस्टर गरेर’ हदबन्दीभन्दा अत्यधिक जग्गा राख्ने छुट।

बहुचर्चित भूमिसुधार कार्यक्रमबाट हदबन्दीभन्दा बढी हुन आएको जमिन क्षेत्रफल त्यसको द्योतक हो। अर्कोतर्फ राजाको शासन कालखण्डमा हासिल भएका जनसंख्या वृद्धि दर तथा आर्थिक वृद्धि दरबीच कुन दरले कुनलाई उछिन्ने भन्ने रह्यो। राजा महेन्द्रको राज्यकालमा निसन्देह देशले विश्व राजनीतिक मानचित्रमा साथ पाएको हो। तथा यिनकै नेतृत्वमा मुलुक भारतको छत्रछायाबाट उम्कन सफल रह्यो। भलै आर्थिक रूपमा जकडिन किन नपरेको होस्। कुनै स्वदेशी वा विदेशी अनुसन्धानकर्ताले राजा महेन्द्रको मुलुक गणतान्त्रिक हुनुमा तिनले पुर्‍याएको दूरगामी प्रभावबारे विस्तारै अध्ययन गर्ने नै छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.