बेपत्ता जीप र यात्रुको खोजी गर्न गोताखोर टोली कर्णाली नदीमा
सिमकोट : हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीका लागि कुरिनटारबाट गोताखोर टोली घटनास्थलमा पुगेको छ।
मंगलबार मध्यन्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपरान्ह १ बजेदेखि खोजिकार्य जारी राखे पनि जीप र सवार यात्रुको कुनै अत्तोपत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर टोली झिकाइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार इन्सपेक्टर लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा गोताखोर टोली घटनास्थलमा पुगेको हो । विपत्त व्यवस्थापन शिक्षालय कुरिन्टारबाट बस्नेतको नेतृत्वमा गोताखोरको टोली पुगेको हो ।
जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय वासिन्दाको पहलमा वेपत्ता जीप र सवारहरुको पत्तो लाग्न नसकेपछि गोताखोर बोलाइएको थियो । गोताखोर टोलीले चार पटक नदीमा पसेर खोजी गर्दासमेत केही पत्तो लाग्न सकेको छैन।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार वेपत्ता जीपमा सवार गाउँपालिका उपाध्यक्षसहितका १० जनालाई जीवितै उद्धार गर्ने आशा नभए पनि शव र गाडी खोज्न गोताखोर बोलाइएको बताए। नेपाली सेनासँग भएको गोताखोरले कर्णाली नदीमा बेपत्ता गाडी फेला पार्न नसकेपछि गृहमन्त्रालयसँगको समन्वयमा गोताखोर झिकाइएको हो।