डाेल्पामा टाइफाइडका बिरामी ह्वात्तै बढे, रोकथामका लागि आपतकालिन बैठक
डोल्पा : चर्को गर्मीसँगै डोल्पा जिल्ला अस्पतालमा टाइफाइडका बिरामी ह्वात्तै बढेका छन् ।
पछिल्लो दुई हप्तामा १६ जना टाइफाइडका बिरामी अस्पतालमा भर्ना भएपछि जिल्ला अस्पतालका बेड नै खचाखच छन् । यससँगै अस्पतालकै कर्मचारी पनि बिरामी पर्न थालेको बताइएको छ । पानी तथा फोहोर खानेकुराबाट सर्ने यो रोगबाट पछिल्लो समय दुनै बजारका बासिन्दा त्रसित छन् ।
निमित्ति जिल्ला अस्पताल प्रमुख ड. सिजन रावलले स्थानीयलाई सचेत हुन आग्रह गरेका छन् । रावलका अनुसार डोल्पामा यति ठुलो संख्यामा एकैचोटी टाइफाइडका बिरामी भेटिएको यो पहिलो घटना हो ।
हरेक दिन टाइफाइडका बिरामी अस्पताल आउन थालेपछि चिकित्सकहरु समेत रोकथामका लागि उपाय खोज्न थालेका छन् । टाइफाइडका बिरामी बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीले आपत्कालिन बैठक राखेर रोकथामका लागि लाग्न सबैलाई निर्देशन दिएका छन् ।
होटेल सफा गर्न, खानेपानीका मुहान सफाइ तथा वधशालाहरु व्यवस्थापन र सचेतनामुलक कार्यक्रम गर्न निर्णय सहित निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए । यति ठूलो संख्यामा टाइफाइडका बिरामी देखिनु सामान्य नभएको भन्दै सबै क्षेत्रलाई सजग रहन अस्पतालले पनि आग्रह गरेको डा. मेलिना हमालले बताइन् ।