फसी देगः पुनर्निर्माण : समय १० दिन, काम बाँकी ४० प्रतिशत

फसी देगः पुनर्निर्माण : समय १० दिन, काम बाँकी ४० प्रतिशत

भक्तपुर :  म्याद थप गरिएअनुसार यहीं आउँदो असार १५ गते भक्तपुर दरबार क्षेत्रस्थित फसी देगः (सिलु महादेव मन्दिर) पुनर्निर्माण भइसक्नु पर्छ। तर पुनर्निर्माणको काम जेठभित्र ६० प्रतिशतमात्रै सकिएको छ। जसअनुसार बाँकी ४० प्रतिशत काम सकाउन १० दिनमात्रै बाँकी छ।

मन्दिरको जगको सम्पूर्ण काम सकिएको छ तर मन्दिरको माथिल्लो भाग उठेको छैन। मन्दिर उठाउन चार कुनामा काठका दुईदुई थाम उठाइएका छन्। मन्दिरको शिव लिङ्ग छ्याङ्गै छ।

मन्दिर पुनर्निर्माणको ठेक्का भक्तपुरस्थित प्राकृतिक-जेभी-सानु सुवाल कन्स्ट्रक्सनले पाएको थियो। पुरातत्व विभागमार्फत तिनीहरुले भ्याटबाहेक तीन करोड ७४ लाख २७ हजार ४५ रुपैयाँमा उक्त ठेक्का पाएका हुन्। 

ठेक्का सम्झौतानअनुसार गत वर्षको असार मसान्तभित्रै मन्दिरको पुनर्निर्माण सक्नुपर्ने विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मोहनसिंह लामाले जानकारी दिए।

उक्त समयमा नसकिएपछि ठेक्काको म्याद २०७६ असार १५ गतेसम्म थप गरिएको उनी बताउँछन्। उनले बाँकी १० दिनमा फसी देग पुनर्निर्माण नसकिने सुनाए। ‘अबको १० दिनमा फसी देगः पुनर्निर्माण सकिँदैन’, प्रमुख लामाले भने, ‘त्यसैले ठेकेदारले म्याद थपको लागि निवेदन दिएका छन्।’

उनका अनुसार खरिद ऐनअनुसार अब एक वर्ष म्याद थप गर्न सकिन्छ। तर ठेकेदारहरुले भने तीन महिनाभित्र मन्दिर पुनर्निर्माण सकाउने बताएको छ। ‘म्याद थप भए तीन महिनाभित्र फसी देग पुनर्निर्माण सकाउँछौं’, ठेकेदार परशुराम वैद्यले भने, ‘मन्दिर पुनर्निर्माण सुरु गरेदेखि धेरैपटक डिजाइन परिवर्तन हुँदा काम गर्न ढिलाइ भयो।’ उनका अनुसार सुरुमा काठको स्ट्रक्चरल डिजाइन थिएन। उक्त डिजाइन थपिएपछि काठ र ढुंगा खोज्न नै एक वर्ष समय बितेको उनले सुनाए।
अहिले काठ र ढुंगामा बुट्टा कुँद्ने काम भइरहेको उनको भनाइ थियो।

‘काठको आधा काम सकिएको छ’, ठेकेदार वैद्यले भने, ‘ढुंगाकै काम बढी बाँकी छ।’

मन्दिरको आधार तयार भइसकेको र काठ तथा ढुंगाका बुट्टेदार थामहरु तयार भएपछि मन्दिर उठ्न धेरै समय नलाग्ने उनको जिकिर थियो। ग्रन्थकुट शैलीअन्तर्गत मन्दिरका चार दिशामा निस्कने भागको बाहिर दुईदुई वटा बुट्टेदार ढुंगे थाम र भित्र पनि दुईदुई वटा ढुंगे थामकै बुट्टा भएका काठका थाम रहने उनले जानकारी दिए।

१८९० र १९९० सालको भूकम्पमा समेत उक्त मन्दिर भत्किएको थियो। सुरुमा उक्त मन्दिर भारतको उत्तराखण्डस्थित केदारनाथको मन्दिर जस्तै ग्रन्थकुट शैलीमा निर्माण गरिएको थियो। तर १९९० सालको भूकम्पपछि पुनर्निर्माण गरिँदा ग्रन्थकुट शैलीलाई छाडेर शिखर शैलीमा पुनर्निर्माण गरिएको प्रमुख लामाले जानकारी दिए।

उक्त मन्दिर २०७२ सालमा पुनः भत्किएपछि अहिले काठको स्ट्रक्चरसँगै ग्रन्थकुट शैलीमै पुनर्निर्माण गर्न लागिएको उनको भनाइ थियो। काठ र ढुंगाको अभावले मन्दिर पुनर्निर्माण रोकिएकाले म्याद थप हुने प्रमुख लामा बताउँछन्।

उनका अनुसार पुनर्निर्माणको डिजाइन र काम दुवै बढेकाले लगत इस्टिमेट रकम पनि बढेको छ। मन्दिर पुनर्निर्माण भइसक्दा करिब चार करोड पुग्ने उनले अनुमान गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.