डाेनाल्ड ट्रम्पको चुनावी प्रचार सुरु, ‘डेमोक्र्याट नेताले देश नष्ट गर्छन् !’
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० मा हुने चुनावको लागि आफ्नो प्रचार सुरु गरिसकेका छन् । फ्लोरिडामा २० हजार जतिको सभालाई सम्बोधन गर्दै चुनावी प्रचार सुरु गरेका हुन् ।
यस क्रममा उनले अमेरिकालाई पहिले भन्दा राम्रो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै दोस्रो कार्यकालमा ट्रम्पले एड्सलगायत अन्य घातक रोग उन्मुलन गर्ने पनि बताए ।
भाषणको क्रममा ट्रम्प डेमोक्र्याट्सविरुद्ध पनि आक्रामक बनेका थिए । उनले भनेका छन्, ‘डेमोक्र्याट नेताहरु पूर्वाग्रहबाट ग्रसित छन् । उनीहरु जनता र हाम्रो देशलाई नै नष्ट गर्न चाहन्छन् ।’ तर आफूहरु यस्तो हुन नदिने उनको जिकिर थियो ।
चुनावी प्रचारमा ट्रम्पको साथमा उनकी श्रीमती मेलानिया सहित परिवारका सबै सदस्य सहभागी थिए । ट्रम्पले शनिबार चेतावनीपूर्ण भाषामा आफूलाई भोट नदिए अमेरिकी अर्थव्यवस्था कमजोर हुने बताएका थिए । उनले अमेरिका र समाजवादलाई बलियो बनाउन पनि आफूलाई भोट दिनुपर्ने भन्दै नारा बनाएका छन् ।
ट्रम्पले अमेरिकालाई फेरि बलियो र महान बनाउने बाचा गरेका छन् । ट्रम्पका जेठो छोराले भने गत मंगलबार जो बिडेनको क्यान्सर उन्मुलन गर्ने नारालाई हासोमा उडाएका थिए ।
फक्स न्युजले गत साता चुनावबारे गरेको सर्भेको नतिजाले भने डोनाल्ड ट्रम्पले चुनाव हार्ने जनाएको छ । पूर्व उपराष्ट्रपति जो बिडेनले ५३ प्रतिशत मत पाउने नतिजा छ । तर ट्रम्पसँग भारी मतान्तर पर्ने सर्भेको नतिजा छ ।