गोताखोरले पनि भेटेन कर्णालीमा बेपत्ता जीप
सिमकोट : खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपलाई कुरिनटारबाट आएको गोताखोरको टोलीले पनि भेट्न सकेन। मंगलबार दुर्घटना भएको जिप र बेपत्ता यात्रु खोज्न गोताखोरको टोली घटनास्थलमा पुगेको थियो।
विपत व्यवस्थापन शिक्षालय कुरिनटारका प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वको टोलीले बुधबर दिनभर खोजी गर्दा पनि जीप र यात्रु नभेटिएको हो।
कुरिनटारबाट काठमाडौं हुँदै सुर्खेतबाट सेनाको हेलिकप्टरमा गोताखोर टोली घटनास्थलमा आइपुगेको हो। घटनास्थल वरपर खोजीकार्यमा संलग्न जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरेको अपेक्षा अनुसार गोताखोर टोलीले सफलता प्राप्त गर्न नसकेको हो।
जीपमा चढेका यात्रुको संख्या अझैसम्म यकिन भएको छैन। गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत ११ जनाको भने पहिचान खुलेको छ। लामो समयसम्म केही प्रमाण फेला नपर्दा निरासा छाएको खार्पुनाथ ५ का वडाध्यक्ष भीमराज शाहीको भनाइ छ।
नदीमा पानीको बहाब बढ्दै जाँदा खोजीकार्य सफल हुन नसकेको निष्कर्ष गोताखोर टोलीको छ।