अस्ट्रेलियाविरुद्ध ‘बंगाल टाइगर’को हुँकार

अस्ट्रेलियाविरुद्ध ‘बंगाल टाइगर’को हुँकार

बर्मिङ्घम : विश्वकप क्रिकेटको बिहीबार हुने खेलमा अस्ट्रेलियाले बंगलादेशको सामना गर्दैछ। उक्त खेल नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। साबिक विजेतासमेत रहेको अस्ट्रेलिया पाँच पटकको उपाधिधारी टोली हो। बंगलादेश भने हालसम्म विश्वकपको क्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेको छैन।

अस्ट्रेलिया पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएको छ भने बंगलादेशको यो केवल छैटौं सहभागिता हो। बंगलादेश सन् २००७ मा सुपर एट चरण र सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको अस्ट्रेलियाले त्यसपछि सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा पनि उपाधि चुमेको थियो।

जारी विश्वकपमा भने अस्ट्रेलिया र बंगलादेश दुवैले छैटौं खेल खेल्न लागेका हुन्। आफूले खेलेका अघिल्ला पाँचमध्ये अस्ट्रेलिया एक खेलमा मात्र पराजित भएको छ। अस्ट्रेलियालाई भारतले हराएको थियो। अन्य खेलमा अस्ट्रेलियाले अफगानिस्तान, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो। अस्ट्रेलियाले पाँच खेलबाट आठ अंक बटुलेको छ।

बंगलादेशले भने अघिल्ला पाँचमध्ये दुई खेलमा जित हात पारेको छ। दुई खेलमा पराजय भोगेको बंगलादेशको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो। बंगलादेशले दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई हराएको थियो भने न्युजिल्यान्ड र आयोजक इङ्ल्यान्डसँग हार भोगेको थियो। बंगलादेश र   श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

यी दुई टोलीबीच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजालाई हेर्दा भने अस्ट्रेलिया निकै बलियो देखिन्छ। यी दुई टोलीबीच २० वटा एकदिवसीय खेल भएका छन्। १८ खेलमा अस्ट्रेलियाले जित हात पारेको छ भने एक खेलमा मात्र बंगलादेश विजयी भएको छ। सन् २००५ मा कार्डिफमा भएको खेल बंगलादेशले पाँच विकेटले जितेको थियो। यी दुईबीचको एक खेल भने अनिर्णित रूपमा सकिएको छ।

यसैगरी यसअघिका विश्वकपको नतिजालाई हेर्दा पनि अस्ट्रेलिया नै बलियो देखिन्छ। हालसम्म विश्वकपमा यी दुई टोलीबीच तीनवटा खेल भएको छ। दुई खेलमा अस्ट्रेलिया विजयी भएको छ भने एक खेल अनिर्णित रूपमा सकिएको छ। सन् १९९९ को विश्वकपमा अस्ट्रेलिया सात विकेटले विजयी भएको थियो भने सन् २००७ मा पनि अस्ट्रेलियाले बंगलादेशलाई १० विकेटले हराएको थियो।

जारी विश्वकपमा यी दुबै टोली लयमा देखिएका छन्। आफ्नो पछिल्लो खेलमा वेस्ट इन्डिजले दिएको तीन सय २२ रनको विशाल लक्ष्य भेट्टाएर बंगलादेशले आफ्नो वास्तविक क्षमताको परिचय दिइसकेको छ। दक्षिण अफ्रिकाविरुद्घको खेलमा पनि तीन सय ३० रन बनाएर बंगलादेशले आफ्नो ब्याटिङ कमजोर नभएको सन्देश दिएको छ। अन्य खेलमा पनि बंगलादेशले उत्कृष्ट ब्याटिङ गरेको छ। यसका अतिरिक्त बंगलादेशको बलिङ पनि स्तरीय छ।

यसैगरी बंगलादेशका अलराउन्डर सकिब अल हसन जारी विश्वकपमा लगातार दुई शतक प्रहार गरेर लयमा छन्। बंगलादेशकै मध्यक्रमका ब्याट्सम्यान लिटन दासले समेत वेस्ट इन्डिजविरुद्घको खेलमा अविजित ९४ रन बनाएर आफू कुनै पनि बेला टोलीका लागि उपयोगी सिद्ध हुने संकेत दिएका छन्।

अर्कोतिर अस्ट्रेलिया पनि लयमा छ। अस्ट्रेलियन टोलीमा प्रतिभाशाली र अनुभवी खेलाडीको कमी छैन। अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष उत्कृष्ट छ। घाइते भएका कारण अघिल्लो खेलमा अनुपस्थित रहेका अस्ट्रेलियाका भरपर्दा अलराउन्डर मार्कुस स्टोइनिस पनि बिहीबार मैदानमा फर्कने सक्ने सम्भावना छ। त्यसैले पनि बिहीबार खेलिने यी दुई टोलीबीचको भिडन्तले विश्वभरका क्रिकेट पारखीलाई गतिलो मनोरञ्जन दिने पक्का छ। आजको खेल

अस्ट्रेलियाविरुद्ध बंगलादेश

ट्रेन्ट ब्रिज (दिउँसो ३:१५ बजे) नटिङ्घम

एकदिवसीयमा दुई टोली

कुल : २० खेल

अस्ट्रेलिया विजयी : १८ खेल

बंगलादेश विजयी : १ खेल

अनिर्णित : १ खेल

विश्वकपमा दुई टोली

कुल : ३ खेल

अस्ट्रेलिया विजयी : २ खेल

बंगलादेश विजयी : ० खेल

अनिर्णित : १ खेल
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.