न्यायिक समितिबाटै निराश
अछाम : साँफेबगर नगरपालिका– १२ खप्तडकी शोभा कडायतको बिहे भएको ९ वर्ष पुग्यो। उनका ३ छोरी र एक छोरा छन्। वैवाहिक जीवन राम्रोसँग चलिरहेको थियो। गत वर्ष पुषमा उनले नसोचेको भयो।
श्रीमान खगेन्द्रले दोस्रो श्रीमती ल्याए। त्यसपछि उनी माथी हिंसा हुन थाल्यो। उनले न्यायका लागि न्यायिक समितिमा उजुरी गरिन्। तर सुनुवाइ भएन। उल्टै न्यायिक समितिले श्रीमानसँग मिलेर बस्नु भनेर पठायो। जेठी छोरीलाई श्रीमानले काम गराउन भनेर काठमाण्डौ पठाएका छन्।
मंगलसेन नगरपालिका– १२ बान्नातोलीकी बसन्ती परियारले १६ वर्षकै उमेरमा प्रेम विवाह गरिन्। उनकी ५ वर्षकी छोरी छ। तर उनले पनि शोभाको जस्तै यातना भोग्नु परेको छ। श्रीमान जोगी र सासु ससुराले दुःख दिन थालेपछि माईती घरमा बस्दै आएकी छिन्। परिवारका सदस्यले अहिलेसम्म उनको नागरिकता नै बनाइदिएका छैनन्। न्यायका लागि उनी पनि न्यायिक समितिमा पुगिन। तर त्यहाँबाट कुनै सुनुवाइ भएन।
स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएका छन्। तर ती समितिको प्रभावकारी काम नहुँदा पीडितले भने न्याय पाउन सकेका छैनन्। साँफेबगर नगरपालिकामा ६, मंगलसेनमा १०, मेल्लेख गाउँपालिमा ५ र पञ्चदेवल विनायक नगरपालिकामा १४ मुद्धा दर्ता छन्। तर न्यायिक समितिले ती मुद्धाको फैसला गर्न सकेको छैन। प्रहरी कार्यालय मुद्धाको चाप धेरै छ। चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय अछाममा यसवर्ष १ सय ८३ वटा मुद्धा दर्ता भएका छन्। श्रीमान– श्रीमतीबीचको झै–झगडाका बढि मुद्धा छन्।