नाचघरमा गुञ्जिए शुभबहादुर

नाचघरमा गुञ्जिए शुभबहादुर

काठमाडौं : वरिष्ठ संगीतकार शुभबहादुर सुनामले सोमबार बेलुका काठमाडौंमा स्याक्सोफोनमार्फत दर्शकलाई डेढ घन्टा मन्त्रमुग्ध तुल्याए। स्याक्सोफोनवादन सम्बन्धी आफ्नो एकल सांगीतिक साँझ ‘स्याक्समाडौं’ मा प्रस्तुत भएका सुनामले दर्जनभन्दा बढी गीतका धुन स्याक्सोफोनमार्फत प्रस्तुत गरे।

कार्यक्रमको शुभारम्भमै स्वागत धुनअन्तर्गत शुभबहादुरले विभिन्न धुन प्रस्तुत गरेर दर्शकको ताली र वाहवाही पाए।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि अग्रज गायक प्रेमध्वज प्रधान, गीतकार यादव खरेलदेखि संगीत क्षेत्रका अधिकांश कलाकार सुनामको स्याक्सोफोन धुनमा रमे।

प्रस्तुतिको पहिलो चरणमा संगीतकार सुनामले नेपाली र अंग्रेजी गरेर आठ गीतको धुन प्रस्तुत गरे। उनले मलाई नसोध कहाँ दुख्छ घाउ..., राजमती वामती..., माया रे..., आँखा छोपी नरोऊ भनी..., हुँ यात्री एउटा..., उकाली ओरालीहरूमा...जस्ता गीत प्रस्तुत गरे। उनलाई सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वाद्यवादकले वाद्यवादनमा निरन्तर साथ दिए। पहिलो चरणमै संगीतकार सुनामले टाइटानिक फिल्मको माई हार्ट विल गो अन..., गोइङ होम...जस्ता गीत पनि स्याक्सोफोनमार्फत प्रस्तुत गरे।

संगीतकार सुनामले प्रस्तुत गरेको पिंक प्यान्थर..., समर टाइम...जस्ता धुन पनि त्यत्तिकै आकर्षक थिए। उनले गोरेटो यो गाउँको...लाई स्याक्सोफोनमा प्रस्तुत गर्दा यो गीतका गायक प्रेमध्वज प्रधानले निरन्तर तालीले साथ दिए। यस्तै बाबा र जाउ..., रेलिमाई...जस्ता गीतलाई पनि सुनामले स्याक्सोफोनमा प्रस्तुत गरे।

विगत ५२ वर्षदेखि स्याक्सोफोन बजाउँदै आएका सुनामले सात सयभन्दा बढी गीतमा संगीत गरिसकेका छन्। नेपालका अधिकांश गीतमा स्याक्सोफोन बजाउने कलाकार पनि उनी नै हुन्।

उनलाई यो एकल कार्यक्रममा स्याक्सोफोनमा अरूले पनि साथ दिए। अमूल कार्की ढलीको टिमले सङबर्ड, स्टिल अन माई माइन्ड र डिस प्यासिटियो जस्ता धुन स्याक्सोफोनमा प्रस्तुत गर्‍यो।

शुभबहादुरकै संगीत र स्याक्सोफोन धुनमा उनका नाति रोमिल सेनामले दुई ओटा गीत लभ विल...र स्ट्यान्ड बाई मी...प्रत्यक्ष गाए। यस्तै गायिका सृष्टि केसीले पनि स्याक्सोफोनको धुनमा अंग्रेजी गीत बोनिता...गाइन्।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले वाद्यवादन कलाको प्रवद्र्धन गर्न सांस्कृतिक संस्थान र शुभबहादुरसँगको संयुक्त आयोजनामा स्याक्सामाडौं आयोजना गरिएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.