नयाँ राजनीतिक प्रणालीप्रति प्रश्नैप्रश्न

नयाँ राजनीतिक प्रणालीप्रति प्रश्नैप्रश्न

हिजोआज सत्तासीनहरू भन्छन्, ‘यतिका काम गर्‍यौं समर्थन पाइँदैन, राम्रो कामलाई नकारात्मक किसिमले हेरिन्छ। सकारात्मक सोच राखिँदैन। जेमा पनि विरोध मात्र गरिन्छ’ इत्यादि। यस प्रकारको सरकारी निरीहतामा निकै टिठ लाग्यो। समीक्षा गर्नैपर्छ भन्ने उत्सुकता जाग्यो तर समर्थनमा लेख्नैपर्ने विषय मगजमा घुसेन। अहा ! भन्ने के त्यस्तो काम भयो ? जति घोत्लिए पनि प्रशंसाका शब्द फुर्न सकेनन्। राज्य सञ्चालकहरूबाट समर्थनमा बोल्न र लेख्नयोग्य काम नभएसम्म प्रशंसामा कलम चल्न असम्भव हुन्छ भन्ने तत्वबोध भयो।

ठेकेदारले ठेक्का ओगट्छ काम हुँदैन। कर्मचारीले कामभन्दा बढी राजनीति गर्छन्। इमानदारको कदर हुँदैन। भ्रष्टाचार यति मौलायो कि सरकार देखेर पनि नदेखे झैं गर्छ। वायु सेवा निगम सिध्याइयो। पछिल्लो समयमा वाइडबडी गुपचुप पारियो। उच्च ओहोदा ओगट्नेहरू नै भ्रष्टाचारमा निर्लिप्त भएको खबर छापामा पढ्न पाइन्छ। फुटाएको बाटोघाटो समयमा निर्माण हुँदैन। धुवाँ, धुलोले मानिस दीर्घरोगी भए। दिनदिनै मरिरहेका छन्। आइसकेको मेलम्ची कमिसनको चक्करमा कामै रोकियो। अब तत्कालै मेलम्चीले सञ्जीवनी पाउने सम्भावना छैन। धर्म–संस्कृतिमा नैतिकताको ठूलो शक्ति आर्जन हुन्थ्यो। त्यसलाई समाप्त पार्न देशीविदेशी लागिरहेका छन्। राम्रो काम गर्नेलाई राजनीतिको खोल ओडेका पात्रबाट प्रहार हुन्छ।

दुईतिहाइको सरकार छ। तर जनहितका प्रश्नमा उदास देखिन्छ। राष्ट्रिय विभूतिको खुलेआम अपमान हुन्छ। महँगी अनियन्त्रित छ। गुन्डागर्दी नियन्त्रण गरिनुपर्नेमा समाजमा तिनकै बोलवाला छ। यस्तो देख्दा पनि सत्तामा बस्नेहरू ‘धेरै काम गर्‍यौं’ भन्न छोड्दैनन्। अबका नागरिकले सरकारले कति काम गर्‍यो स्वयं लेखाजोखा गरेका हुन्छन्। कुल बजेटको १५ प्रतिशत पनि खर्च नगर्नेले यति र उति काम गर्‍यौं भनी फूर्ति लगाउनु पर्दैन। तथ्यले नै तिनलाई नंग्याइसकेको छ।

इमान–जमानले मानिसमा आत्मविश्वास बढाउँछ। यहाँको लोकतन्त्रमा न इमान देखियो न वाचा पूरा गर्ने जमात नै भेटियो। जनतालाई भ्रमपूर्ण सन्देश प्रवाह गर्दै भुल्याउने काम भने तीव्र रूपमा गरियो, गरिँदै छ। रानीपोखरी धरहराजस्ता ऐतिहासिक धरोहरको पुनर्निर्माणमा समेत राजनीति हुन्छ। बाटोघाटो बनाई सुन्दर र हराभरा सहर निर्माण होला भन्ने नागरिक अपेक्षा थियो। भानुभक्तको कान्तिपुरी नगरी अहिले कुरूप भएको छ। राजनीतिमा माफिया भित्र्याइयो। जसले गर्दा नीति निर्माण तहमा समेत खरिदबिक्रीबाट प्रतिनिधित्व गराइयो। खरिदार, सुब्बा समाएँ भन्दै अख्तियार प्रफुल्ल हुन्छ।

नाकाबन्दीको समयमा दुःखकष्ट सहेर पनि नेपालीले सरकारको समर्थन गरे। प्रशंसाका आवाज यत्रतत्र गुन्जिए। लेख रचनाले पत्रपत्रिका भरिए। अहिले पात्र उही भए पनि परिवेश फरक भयो। राष्ट्रको अस्तित्वमा खेलबाड गर्ने प्रवृत्ति रोकिएन। यस्तोमा केही चाटुकारबाहेक स्वाभिमानी नागरिकको कलमले आँखा चिम्लिएर समर्थनमा लेख्न सक्दैन। तसर्थ अहिले ठूलो उपलब्धि भनी प्रचार गरिएको संघीय लोकतन्त्र जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भएको छ। यो कटुसत्य हो। आज नेपालीले महसुस गरेको धरातलीय यथार्थ पनि यही हो। लोकतन्त्रमा विधि र प्रक्रियाबाट राज्यका निकायले काम गर्छन्। त्यहाँ व्यक्तिको हठले महत्त्व पाउँदैन। त्यसैले यसमा शक्ति पृथकीकरणको सिद्धान्तलाई अवलम्बन गरिन्छ। नामभन्दा पनि व्यवहार र आचरण लोकतान्त्रिक हुनु प्रणालीको सफलता मानिन्छ। जसमा जनहितमा काम गर्दा नागरिकले फेरि पनि फूलमालासहित शासन सत्तामा पुर्‍याउँछन्। यसको नवीन दृष्टान्त भारतमा हालै भएको निर्वाचन परिणामले पुष्टि गर्छ। जनभावनाविपरीत जाँदा भारतीय कांग्रेस र कम्युनिस्टको दुर्गति पनि नेपाली राजनीतिक नेतृत्वले बुझ्न आवश्यक छ। यहाँ जनपक्ष काम मुखले हुन्छ, कामले हुँदैन। सिन्डिकेट अन्त्य भनियो।

अझ विकृत रूपमा सिन्डिकेट देखा पर्‍यो। जनताका आधारभूत आवश्यकता छोडेर चिनियाँ रेल भित्र्याउने भनियो, चिनियाँ राजदूतले नै पत्रकार सम्मेलन गरी त्यसको खिल्ली उडाइन्। आज आत्मनिर्भर हुने बाटो मेटिएको छ। परनिर्भर हुन राजनीतिले नै सिकायो। हरेक क्षेत्रमा परनिर्भर हुनुपरेको छ। भारतसँग मात्र ८० प्रतिशत व्यापार घाटा छ। यस्तोमा कसरी समर्थनमा लेख्ने ?  एक दशकअगाडि चप्पल लाउन नपाउनेहरू आज करोडौंको मालिक भए। धनी हुनु राम्रो हो तर जनतालाई गरिब बनाएर लुट्नसम्म लुट्नु लोकतन्त्रका लागि घातक सिद्ध हुन्छ। अब त भ्रष्टलाई कारबाही हुन्छ भन्ने विश्वाससमेत हराइसक्यो। त्यसैले बोल्दा सत्य बोलिनुपर्छ, लेख्दा तथ्य मात्र लेखिनुपर्छ।

राजनीतिका अधिकांश पात्रहरूमा अहिलेको प्रणालीप्रति नै द्विविधा देखिन्छ। मुखले बोल्न मात्र नसकेका हुन्।

२०४६ को परिवर्तनपछि अभिजात्यहरू प्रजातन्त्रका ठेकेदारका रूपमा उदाए। ठेकापट्टा नियुक्ति, बढुवा–सरुवा आदिमा उनीहरूको जगजगी रह्यो। सरकारी जग्गादेखि कलकारखानासम्म माफियाकै कब्जामा गयो। विदेशीलाई स्वदेशी बनाउन त्यतिबेलै जग हालियो। प्रजातन्त्र माग्नेलाई थुन्ने, कुट्ने र मार्नेहरू राज्यका माथिल्लो तहमा पुगे। नागरिकले परिवर्तनको अनुभूति गर्न पाएनन्। त्यसैको फाइदा लिँदै माओवादीले सशस्त्र संघर्ष सुरु गर्‍यो। पुनः देशमा परिवर्तन भयो। जनताले ठूलै आशा गरे। अबचाहिँ केही हुन्छ भन्ने ठानियो। २०६३ को परिवर्तनले पनि व्यक्ति मोटाउने र नवसामन्ती जन्माउनेबाहेक केही परिणाम दिएन। परिवर्तनपछि झन् विकृति निम्तियो। अघिल्लो रात सबै नेपाली थिए भोलिपल्ट ब्युझिँदा जातजात र क्षेत्रक्षेत्रमा विभक्त भए। अहिले सत्तासीनहरू थामिनसक्ने गरी पुनः हौसिएका छन्। लोकतन्त्र भनेको अमूक दल वा दलका झुन्डहरूको स्वार्थ पूरा गर्ने थलो मात्र भयो। आजका जनतालाई गफ र कुराले नभएर काम र व्यवहारले परिणाम दिन सक्नुपर्छ।

सही सिद्धान्त र विचारले राजनीतिमा गन्तव्य निर्धारित हुन्छ। सिद्धान्त छाडेर खराब विचार अँगाल्दा परिणाम दूषित एवम् कष्टकर हुन्छ। आज त्यसको फल भोग्न मुलुकवासी बाध्य छन्। हिजो यिनै पात्रहरूमा त्याग र निष्ठा थियो। सही विचार उजागर गर्थे। जब सत्ताको आसनमा बस्न पुगे तब यिनमा सोचविचार फेरियो। लोभ, लालच र दम्भमा मस्तिष्क खियाउन थाले। फलस्वरूप लोकतन्त्रको खोलमा संसारमा कहीं नभएको जात्रा यहीं देखियो। मुलुकले थेग्नै नसक्ने संघीय प्रणाली भित्र्याइयो।

एकातिर मुलुक टुक्र्याउँछु भन्नेलाई कुम थपथपाइयो, अर्कोतर्फ समाजवादउन्मुख लोकतन्त्र भन्दै राष्ट्रको अर्थतन्त्र माफियाको जिम्मा लगाइयो। यस्तो विरोधाभासले मुलुक कहाँ पुग्छ ?  विष र अमृत छुट्ट्याउन नसक्नेहरूको वर्चश्व रहेसम्म यस्तै बेथितिले प्रश्रय पाइरहन्छ।

राजनीति सफल हुन खराब र असलको पहिचान हुनुपर्छ। अझै पनि सुधारका सम्भावना नभएको होइन। त्यसका लागि निष्ठा र आत्मविश्वास चाहिन्छ। व्यक्तिले आफू हिँड्ने बाटो ठीक छ या छैन, ठम्याउन सक्नुपर्छ। यसै प्रसंगमा अगस्टिनको एउटा वाक्य सान्दर्भिक ठहर्छ। उनले भनेका छन्, ‘कुनै पनि चिज नियन्त्रण गर्न सकिएन भने शीघ्र आफ्नो बानी र बाटो फेर्न सक्नुपर्छ।’ जब मानिस पूर्ण विश्वस्त हुँदैन, तब उसले कुनै काम गर्न सक्दैन। यहाँ त्यही भएको छ।

राजनीतिका अधिकांश पात्रहरूमा अहिलेको प्रणालीप्रति नै द्विविधा देखिन्छ। मुखले बोल्न मात्र नसकेका हुन्। रूख चढ्दा चिप्लिन्छु भन्ने सोच्यो भने फल टिप्न सकिँदैन। एकपटक चिप्लिए पनि मेहनत गर्न छोड्नु हुँदैन। रूख नै मक्किएको भए अर्को रूख चढ्ने सामथ्र्य देखाउनुपर्छ। मक्किएकोमा जबर्जस्ती चढ्दा भाँचिन्छ। यथास्थितिमा मुलुकले समृद्धि भेटाउने सम्भावना न्यून छ। अगस्टिनले भनेजस्तै सम्हाल्न खोज्दाखोज्दै परिस्थिति काबुमा नआए आनिबानी र मार्ग नै परिवर्तन गर्नुपर्छ। यसले राष्ट्रको उन्नति र नागरिकको भलो हुने वातावरण तयार पार्छ। कुशल राजनीतिका पात्रहरूको सफलताको कसी पनि यही हो। सत्य जहिले पनि तीतो हुन्छ। यही तीतो यथार्थलाई प्रस्तुत गर्दा विरोध वा समर्थन हुन्छ। दृष्टिकोणमा भरपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.