जीप दुर्घटनाको शोकमा गाउँपालिकाद्वारा असार १५ सम्म सार्वजनिक बिदा
सिमकोट : कर्णाली नदीमा खसेर जीप दुर्घटना भएर खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ११ जना बेपत्ता भएपछि शोकमा गाउँपालिकाले असार १५ सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
दुर्घटनामा बेपत्ता भएको यात्रु र जीपको कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको आकस्मिक बैठकले उक्त निर्णय विज्ञप्तिमा उल्लेख गरिएको छ। कार्यपालिकाको बैठकले असार १५ सम्म पालिकाले कुनैपनि औपचारिक कार्यक्रम नगर्ने गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए । उनले भने, 'जीप दुर्घटनामा परी बेपत्ता भएका उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका १० जनाकै घर परिवारलाई क्रिया खर्चको लागि गाउँपालिकाले १० हजार रुपैयाँ दिने निर्णय गरेका छौं ।'
खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको १० मिनेटमै खोजी गरिएपनि केहि पत्ता नलागेको उनले बताए । रावलका अनुसार असार १५ गतेसम्म पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको छ ।