शोधनान्तर घाटा चुलिँदै
काठमाडौं : मुलुकमा भित्रिएको रकमको तुलनामा भुक्तानी (खर्च) असामान्य ढंगले बढ्दै गएर यस आर्थिक वर्ष ०७५÷७६ को पहिलो १० महिनामा भुक्तानी सन्तुलन ६८ अर्ब २० करोड रुपैयाँ ऋणात्मक (घाटा) भएको छ। मुलुक भित्रने र बाहिरिने रकमको अन्तर शोधनान्तर हो।
बढ्दो आयात, न्यून प्रत्यक्ष वैदेशिक लगानी र समयमा शोधभर्ना प्राप्ति नहुँदा शोधनान्तर घाटा चुलिएको हो। वर्षात्को समयमा आपूर्ति सहज नहुने र बजेटसँगै करका दर बढ्ने भएकाले व्यापारीले अत्यावश्यक वस्तुको भण्डारण बढाउने गर्छन्। यसरी वृद्घि हुने व्यापार तथा सेवा खरिदको भुक्तानी फस्र्योट गर्दा चालु आवमा शोधनान्तर घाटा अझै बढ्न सक्ने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन्।
चालु आवको पहिलो १० महिना (साउन–वैशाख)मा ११ खर्ब ७८ अर्बको आयात र ७८ अर्ब ५३ करोड रुपैयाँ निर्यात भएको छ। आयात विस्तारको तुलनामा निर्यात सुस्त हुँदा समीक्षा अवधिमा झण्डै ११ खर्ब रुपैयाँ व्यापार घाटा भएको छ। समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातमात्रै गत वर्षको तुलनामा झण्डै ३१ प्रतिशतले वृद्घि भई एक खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। चामल मात्र मात्र २७ अर्ब ९० करोड रुपैयाँँको आयात भएको छ। प्रत्यक्ष वैदेशिक लगानी र पुँजीगत ट्रान्सफर न्यून छ। पर्यटकीय आम्दानीको तुलनामा नेपाली आप्रवासी कामदार, विद्यार्थी र विदेश घुम्ने नेपालीले गर्ने खर्च उच्च छ।
समीक्षा अवधिमा मुलुकमा ९ अर्ब ४७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। पर्यटकबाट नेपालले ६३ अर्ब २८ करोड आम्दानी गरेको छ भने ७३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरेको छ।
मुलुकले वैदेशिक मुद्रा प्राप्त गर्ने निर्यात, प्रत्यक्ष वैदेशिक लगानी र शोधभर्ना प्राप्ति घटेको छ। विप्रेषण (रेमिट्यान्स)को वृद्घिदर घट्दो क्रममा छ। यसले गर्दा मुलुकको वैदेशिक मुद्रा सञ्चिति घटेको छ। चालु आर्थिक वर्षमा साउनदेखि वैशाखसम्म विदेशी मुद्रा सञ्चिति ६.६ प्रतिशतले घटेर ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ। उपलब्ध विदेशी मुद्रा सञ्चितिले ८ महिनाको मात्र वस्तु र सेवाको आपूर्ति धान्न सक्छ।
विश्लेषकले घट्दो विदेशी मुद्रा सञ्चिति र बढ्दो भुक्तानी सन्तुलन घाटा खतराको घण्टी भएको बताएका छन्। बैंक तथा वित्तीय संस्थाको कर्जा २१.५ प्रतिशतले बढेको छ। कर्जा वृद्घिले आयातलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सघाइरहेको हुन्छ। ‘निजी क्षेत्रमा जाने कर्जा वृद्घि नगरी अपेक्षित आर्थिक वृद्घिदर हासिल गर्न कठिन छ’, अर्थशास्त्री चन्द्रमणि अधिकारीले भने, ‘कर्जा धेरै बढाउँदा पनि शोधनान्तर घाटा र घट्दो विनिमय सञ्चितिले सतर्क गराइरहेकै छ।’
रेमिट्यान्सको आप्रवाह अमेरिकी डलरमा घटेको छ। अघिल्लो वर्ष १० महिनामा १०.३ प्रतिशतले बढेको थियो भने समीक्षा अवधिमा ९.३ प्रतिशतले बढेको छ। चालु आवको पहिलो १० महिनामा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फिति ५.३ प्रतिशत छ। अघिल्लो वर्ष मुद्रास्फिति ४.१ प्रतिशत थियो।