एक वर्षदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिने धादिङका चिकित्सकको चेतावनी
धादिङवेशी : जिल्ला अस्पताल धादिङमा कार्यरत करारका चिकित्सकले काम गरको १ वर्ष भइसक्दा पनि तलब भत्ता नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्। चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पनि मासिकरुपमा पाउनुपर्ने तलबभत्ता नपाएको भन्दै आगामी असार ८ गते आइतबारदेखि आकस्मिक बाहेकका अरु सबै सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्।
जिल्ला अस्पताल धादिङका प्रमुखलाई तत्काल तलब भत्ता निकासा गरिदिन माग गर्दै करारमा कार्यरत ११ चिकित्सकले हस्ताक्षर गर्दै सामूहिक निवेदन बुझाएका छन्। आगामी ७ गते शनिवारसम्ममा गएको साउन महिनादेखिको तलब भत्ता एकमुष्ट रुपमा नपाए ८ गतेदेखि आकस्मिक बाहेक अन्य सेवा संचालनमा सहभागी नहुने कुरा निवेदनमै उल्लेख गरेका छन्।
तलबभत्ता नपाएको १ वर्ष हुँदा खर्च व्यवस्थापनलगायत अन्य कुरामा समस्या उत्पन्न भएकाले आन्दोलित हुनुपरेको करारका चिकित्सकले बताएका छन्। अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले पनि करारका चिकित्सकको तलब निकासा नहुँदा समस्या उत्पन्न भएको उनले बताए। धमलाले भने, 'सबू चिकित्सकको एघारै महिनाको बाँकी होइन, केहीको ५ महिना, केहीको ४ महिना केहीको ११ महिनाको तलब भत्ता पाएका छैनन्।'
सरकारी छात्रवृत्तिमा पढेर सरकारी अस्पतालमै २ वर्ष सेवा गर्नुपर्ने अनिवार्य सर्तअनुसार धादिङ जिल्ला अस्पतालमा काम गरिरहेका चिकित्सकले सेवा सुविधा नपाएको धमलाले बताएका छन्। सेवा सुविधा नपाउनेमा ३ जना डेन्टल चिकित्सक, १ जना नर्सिङ अधिकृतसहित ११ जना स्वास्थ्यकर्मी छन्।
तलब भत्ता निकासा गराउनका लागि पटक-पटक मन्त्रालय, विभाग धाउँदा पनि एकले अर्कालाई दोष देखाएर निकासा नगरेको धमलाले बताए। 'स्वास्थ्य सेवा विभाग गयो मन्त्रालय जा भन्छ, मन्त्रालय गयो नगरपालिकालको चिठी ल्याउ भन्छ ।' धमलाले भने, 'हामी फुटबलजस्तै भइसक्यौँ, कहिले यता दोष दिने कहिले उता दोष दिने समाधान गराउनेतर्फ कसैले चासो दिँदैनन्।'
आफूले पटक-पटक सेवा सुविधा बापतको रकम निकासा गरिदिनका लागि मन्त्रालय र विभाग धाइरहेकाले चिकित्सकले माग गरेको समयभित्र नै निकासा आइसक्ने धमलाले दावी गरे। हाल धादिङ जिल्ला अस्पतालमा दरबन्दीमा रहेका चिकित्सक २ जना मात्रै छन् । मेडिकल सुपरिटेण्डेन्ट समेत निमित्तको भरमा चलेको २ वर्ष भइसक्दा समेत विभाग र मन्त्रालयले मेसु पठाउन सकेको छैन।
दैनिक बिरामी चेकजाँच गर्नुपर्ने चिकित्सकले प्रशासनिक काम पनि गर्नुपर्ने भएकाले थप समस्या भइरहेको छ। जिल्ला अस्पतालको नियमित सेवाबाहेक गएको जेठ २७ गतेदेखि २ नम्बर प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम पनि जिल्ला अस्पतालबाटै भइरहेको छ।
असार मसान्तसम्ममा २२ सय जना जनताको निशुल्क स्वास्थ्य परीक्षण गर्नुपर्ने भएपनि चिकित्सकको चेतावनीले त्यो समेत प्रभावित हुने देखिएको छ। चिकित्सकले अस्पताल प्रमुखलाई बुझाएको निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रमुख जिल्ला अधिकारी र नीलकण्ठ नगरपालिकालाइ पनि बोधार्थ दिएका छन्।