शम्भु राईलाई प्रकाश सपुतको खुलापत्र : कसम खाएर भनौँ सर, देउसी भैलो गीत मैले सुनेकै थिइनँ

शम्भु राईलाई प्रकाश सपुतको खुलापत्र : कसम खाएर भनौँ सर, देउसी भैलो गीत मैले सुनेकै थिइनँ

आदरणिय शम्भु राई सर नमस्कार ।

आराम छु आराम चाहान्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठाको बेडरुममा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दै छु । तपाईलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु – चिठी तिमीलाई लेखु भन्छु…! बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मन बाट जे आउछ त्यही लेख्दैछु सर । करिब ३६ डिग्री गर्मलाई उछिन्ने जोशमा फुल स्पिडमा उसा ब्राण्डको फ्यान घुमिरहेको छ । अलिअलि शितल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शितल हुन चाहन्छु ।यद्यपि हुन्छु कि नाई । थाहा छैन । भर्खरै एउटा सांगीतिक प्रस्तुति दिएर फर्केको । यहि नजिकै महोत्सव लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिएँ । करिब आधा जति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुन प्रस्तुति दिन आग्रह गर्नु भएको छ । कारण गल्बन्दी क्रेज़ ।

मैले सोचेकै थिइन सर लोक गीत गाएर यतिविधि चर्चित भइन्छ भनेर । बुढापाकाले मात्रै त्यो पनि पश्चिम पश्चिम भेग तिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छ जस्तो लाग्थेन । त्यसैले गति नै त छाडिएन तर अनेक तिक्डम चै लगाएकै हो । एकबारको जुनीमा गाउने ईलम गरिसकेपछि २/४ जनाले चिनेनन भने के गाउनु गाठे भन्ने आत्मबोध भैरहन्थ्यो । त्यसैले गीतै गाएर पेट र परिवार पालेको भएपनि म कहिल्यै खुसी भैन ।

सपना ज्यु को त्यु छ । भोक ज्युको त्यु छ भनेर निकै निरासामा गुज्रिरहेको थिए । कसो कसो दोहोरी व्याटलले अलिअलि भोंक मेटायो । त्यहि चिनिने भोक क्या सर । पछि बोल माया गर्दा मैले चिनिने भन्दा सम्झिने तिर अल्ली बढी ढल्केर काम गरे र आफूलाई अलि धेरै अंक बटुले दर्शकस्रोताबाट । ब्याटल टु ले मेरो परिचयमा थोरै प्रश्न उठायो । त को होस ? क़ताको मुन्छे होस् ? भनेर अलिअलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो । कहिलेकाही उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन नेपाली विषयमा । हो संगीत पनि नेपाली विषय जस्तै लाग्छ सर । गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मिठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने । १०० मा ३२ ।

गल्बन्दीसम्म आउँदा मेरो अंक सयमा सय आएको थियो सर । कपि जाच्ने शिक्षकजस्तै गीत जाच्ने दर्शक स्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठिकै लागेको थियो । त्यसैले रिज़ल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छ र ? तर स्कुलनै टपिसके पछि सबैको चासो हुनु स्वभाविक हो । त्यसैले गल्बन्दीलाई तपाईले पनि जाच्नु भयो सर । तपाईलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरैबाट प्रभावित छ कि के हो ?

सर्वप्रथम त तपाईले गल्बन्दी सुनिसकेपछि तपाईको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटी र हल्ला भैसकेपछि आएका नकरात्मक टिका टिप्पणिबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दु:ख व्यक्त गर्दछु । एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतमाथि आएका प्रश्नहरुप्रति म लज्जा बोध गर्दछु । यद्यपि तपाईले कुरा उप्काइसकेपछि मेरो नियतमाथि, मेरो व्यक्तित्वमाथि, मेरो सिर्जनामाथि लागेका आरोपले मेरो आत्मसम्मानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ त्यतातिर सोचेर हजुर दु:खी नहुनु होला है । म ठिकठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयी अवसर छ – भाइरल । छिनमै उचालिएरमाथि पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चित हुने र रातारात गाली खाँदै लखेटिने प्रवृत्ति । जुन भोक थियो नि सर चिनिने/ चर्चित हुने । भयो, अघाइयो । भुडी फुट्ने गरी अघाइयो ।

अं साच्चि भाका मिलेको प्रसंग । गाउँमै हुँदा सुनेको भनेर तपाईलाई मख्ख पार्दिन सर । काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थालेपछि हजुरका धेरै गीतहरु सहकर्मीको आवाजमा सुनियो । आफूलाई रहर लागेर खोजी खोजी ओरिजिनल गीत सुनेर डायरिमा गीत टिपेर पनि गाएयो । चिठी तिम्लाई र तिमीले सम्झेनी लाखै छ भन्ने अक्सर अफर आउथ्यो दोहोरीमा सहकर्मीले गाउँथे म अभिनय जस्तो गर्थे ।हल्का रक्सीले मातेको बेला यस्तो गीतले अझै छुने रैछ कि मान्छेलाई कुन्नि ? पैसा पनि राम्रै झर्थ्यो । म चाहिँ रहरले चलेछ बतास सुस्तरी गाउने प्रयास गर्थे । त्यसको पुरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै । तर कुन क़सम खाएर भनौ सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपी गरेको हुँदै होइन । पहिलेनै रेकर्ड भैसकेको कुनै गीत पुन रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर । बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सहि गलत -त्यता नजाउ मैले यहाँ जोड्न खोजेको चाहिँ पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि रेकर्ड गरेर चलाइदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो रिश्क तपाईले त्यति खेरै लिनुभयो । अब मैले किन लिन्थेर ! अहिले त झन् ख़र्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने बिजनेस वे छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर । अहिलेको अवसर र चुनौती भनेको मैल माथि जोडिसके तेई ‘भाइरल ‘ हो । त्यो पनि फिरिको ।

कुन क़सम खाएर भनौ सर यो देउसी भैलो गीत मैले सुनेको थिएन । त्यसैले मैले कपी गरेको हुदै होइन । पहिलेनै रेकर्ड भैसकेको कुनै गीत पुन रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर ।

सर भाका मिलेकै छैन ? का मिलेको छ ? भनेर तपाईको बिचारलाई तपाईको फिलिङ्सलाई तपाईको प्रत्यक तर्कलाई म खण्डन गर्न चाहन्न । तपाईले आफैले भन्नु भएको थियो म तपाईको छोरा भन्दा पनि धेरै कान्छो उमेरको छु । तपाई मेरो बुबा भन्दा पनि बढी उमेरको हुनुहुन्छ । यसकारण तपाईको भोगाइ, तपाईको अध्ययन अनुभव, तपाईको योगदान तपाईको सफलताको अगाडि म धेरै बच्चाछु । उमेर अनुभव र समयले पनि म केटकेटी नै हो । एउटा स्रोता भएर सुन्दा गलबन्दी र आउ नाचौं १/२ ठाउँ उस्तै उस्तै सुनिन्छ जस्तो मलाई पनि लाग्छ । ओइ सुन्त मिलेको छ यार भनेर यी दुई गीत ( अलिकति स्पीड बढाएर) फोर्सफुल्ली एकै चोटि सुनाउने हो भने जो कोहीको मनमा पनि आउँछ होला – य होत यार मिलेकै रैछ । तर अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाहि छैन कि सर । कपि हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने हैन र । सेम टु सेम भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिदैन । हेर्नुस् त दर्शकहरु बाडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडिया/मिडिया नखेलौ सर ।

मैले यहाँनिर धेरै लोक भाका मिल्छन् । उस्तै उस्तै हुन्छन् । यो हाम्रो नेपालको सम्पति हो । पब्लिक डोमेन हो । यस्तो उस्तो भने भनेपनि तपाईलाई तर्कले जित्न खोजे जस्तो होला । यधपि अन्य संगीतहरु अलिकति गणितीय शुत्रमा बाध्न सकिन्छ । लोकभाकाहरु अलिबढी स्वतन्त्र हुन्छन् । खोलाहरु जस्तै, हावा पानी वनजंगल जस्तै प्राकृतिक । मेरो सिर्जनाहरु धेरै कुराहरुबाट प्रभावित छन् सर । उसैपनि जति गीत चलेका छन् ति सबै शब्द र संगीतले मात्रै होइन भिडियोमा अनेक तिग्डम गरेको छु सर । यो प्रविधिले र ज़मानाले बनाएको हो । म्युजिक उठेर गीत भनेर म्युजिक मै सकिदा पनि पूर्ण गीत हुन्थ्यो चिठी तिम्लाई… ताका । अहिले चिठीको चलन हराएर भिडियो च्याटको जमाना भएर होकि सर गीतको अगाडि पछाडि यस्सो नाटक नजोडि त गीत नै पूर्ण नहुने जस्तो पो भैसक्यो । ख़ैर, म फेरी जोड्न चाहन्छु मैले ठ्याक्कै गीत सुनेर कपी गरेको हुँदै होइन सर । डिट्टो कपी पनि छैन गीत । मैले नेपाली सांगीतिक इतिहासको बारेमा त्यति अध्ययन गरेको त छैन तर तपाई भन्दा अझै अग्रज, तपाई र मसम्म आउँदा नेपाली संगीत र विशेषत: लोक गीत सिर्जना गर्ने ति तमामा अग्रजबाट प्रभावित हुँदै नै हामीले गीत सिर्जना गर्ने हो ।

तपाईहरुले बडो दु:ख गरी खनेको बाटोमा हामी सजिलरी हिँड्न पाएका छौं । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने ज़िम्मेवारी बोध पनि गरेका छौ । तपाईहरुकै बाटोमा हिँड्दै गर्दा तपाईजस्तै जस्तै देखिनु स्वभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ सर । गीतसंगीतमा भीड़भाड़ छ । किनकी बाटो सजिलो भएको छ । जो कोही जा कहिबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुचि फेरी डेन्जर- डेन्जर छ सर । यस्तो अवस्थामा गल्बन्दीजस्तो मौलिक लोक गीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर । आफ्नो व्यवसायीक नाफा घाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै विधि पुर्‍याएर  ३२/३५ मिनेटको तिहार गीत बनाउन तपाईलाई जरुरी थियो र सर ? तिमीले सम्झेनी लाखै छ जस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटिबाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेनर ? म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईको तर तपाईलाई कलाकारिता गर्दा केबल नाफा घाटा मात्रै भन्दा पनि नेपाली लोक संगीतको ! नेपाली मौलिक कला संस्कृतिको बिछट्टै माया रैछ सर । त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिस्योन । हजारौ प्रकाश सपुत आए पनि तपाईको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम कसैले अझै मिठो गरी चिठी तिम्लाई दुरुस्त निकालेछ भनेपछि तपाई मेटिनुहुन्न सर । तपाईको अस्तित्व आउँछ आउँछ ।

लेख्दा लेख्दै मोबाइलको व्याट्री २ प्रसेन्ट भएछ । समय बिहानको ४:३४ ! र अन्त्यमा, तपाईले बोलाएका फोरममा म उपस्थित हुन तयार छु सर, छलफल का लागि बहसका लागि, संगीतको शुद्दिकरणका लागि, कपराइटको कानुन कार्यान्वयनका लागि र अग्रजहरुको सम्मानका लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशिल हुनसक्ने र सोहि अनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाइस्यो न सर । म पनि केबल नाफा घाटा मात्रै भन्दा पनि केहि फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । गल्बन्दीको लागि पनि मैले धेरै नै मेहेनत गरेको छु सर । जहाँ सम्म नाम राख्ने कुरा छ । यो धेरै लोक भाकाबाट प्रभावित छ सर । यता पश्चिमतिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ । अब कसकसको नाम राखौ सर । नाम में क्या चिज हे ? अब यसै पनि आजको मितीसम्म सबैभन्दा छोटो समयमा करोड़ क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउछ – गल्बन्दी । तर उत्तर यति मै सकिदैन । ' ए त्यो शम्भु राईसँग मिलेको गीत ' भनेर आउने भैक्यो । विश्वास विचित्रको चिज हो सर । यो निकै ज़रा गाडेर बसेको हुन्छ मानिसमा । अब तपाईले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन मिलेकै छैन भनेर चिच्याय पनि गीत उस्तै उस्तै सुन्नेको कान फेर्न सक्दिन । त्यसैले एउटा सिर्जनामाथि दर्शक स्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यहि स्वतन्त्र छोड़ौ न सर । म तपाईलाई असाध्यै सम्मान गर्छु । तपाई मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाको लागि सचेत बनाउनु भएकोमा धन्यबाद सर । तर म र म जस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनु होला । जो गीतसंगीतमा केहि गरौ भन्ने हुटहुटीले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौं । धन्यबाद सर ।

टेक केयर सि यु सर 

प्रकाश सपुतको अनुमतिमा  prakashsaput.comबाट जस्ताकाे तस्तै साभार । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.