अत्याधिक गर्मीले अस्पतालमा ह्वात्तै बढे बिरामी, तर डाक्टर बिदामा !
वीरगन्ज : नारायणी अस्पतालमा बिहीबार बिहान ११ बजे पुग्दा चर्म तथा यौन रोग विभागको ढोका अगाडि एक दर्जनको संख्यामा बिरामी डाक्टरलाई कुरेर बस्दै थिए ।
ढोका अगाडि झुण्डयाइएको नेम प्लेटमा चर्म तथा यौनरोग विशेषज्ञ डा. अतुलेश चौरसिया ‘भित्र’ लेखिएको थियो । तर डा. चौरसिया बस्ने कुर्सी र मेच भने खाली ।
‘बिहान नौ बजेदेखि नै डा’साबलाई कुरेर बसेको छु, कतिबेला आउने हुन् खै, केही ठेगान छैन,’ चर्म तथा यौन रोग विभाग अगाडि मेचमा बसेकी वीरगन्ज बगहीकी ५३ वर्षिया सोनावती यादवले भनिन् ।
ढोका अगाडि झुण्डयाइएको नेम प्लेटमा डा. चौरसिया भित्र रहेको लेखिएको भए पनि उनी १० दिनको विदा लिएर घर बसेका रहेछन् । तर यस्तो सूचना अस्पताल प्रशासनले नगर्दा सोनावती जस्तै अन्य दर्जन बढी बिरामीहरु डाक्टरको पर्खाइमा बसिरहेका थिए ।
अस्तालका निमित्त मेसु डा. एनामुल हकका अनुसार डा. चौरसिया बुधबारदेखि नै १० दिनको विदामा छन् । चौरसिया मात्रै हैन, चर्म तथा यौन रोग विभागमा कार्यरत अर्की डा. अन्नु अग्रवालले पनि स्वेच्छिक अवकाशका लागि केही दिनको विदा लिएर घरमै बसेकी छन् ।
चर्म तथा यौन रोग विभागमा कार्यरत दुवै डाक्टर विदामा बसेका कारण उक्त विभाग नै ठप्प जस्तै छ । चर्म तथा यौन रोग विभागमा दुई मात्रै डाक्टर छन् । ती दुवैजना विदामा बस्दा बिरामी अन्योलमा परेका हुन् ।
अस्पतालका निमित्त मेसु हक भन्छन्, ‘गर्मी बढेसँगै चर्म रोगका बिरामीको चाप बढेको छ । तर डाक्टर नभेटिएपछि निराश भएर फर्किन्छन् । यो विभागमा अहिले तत्काल वैकल्पिक व्यवस्था गर्न असमर्थ छौँ ।’
दुई सातायता तापक्रम उच्च भइ गर्मी अत्याधिक बढेपछि नारायणी अस्पतालमा गर्मीका कारण हुने खटिरा, छाला चिलाउने, दादुरा, ठेउला जस्ता चर्म रोगका बिरामीहरुको चाप बढेको छ ।
बिरामीहरु भने डाक्टर नभेटिएपछि निजी क्लिनिकमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन् । चर्म तथा यौन रोग विभागक छेउकै बालरोग विभागमा कार्यरत एक स्वास्थ्यकर्मीले नाम नबताउने शर्तमा भने, ‘गर्मी बढेपछि उपचार गरराउन दिनहुँ चर्म रोगका सय भन्दा बढी बिरामी आइरहेका छन् । तर दुवै डाक्टर विदा बस्दा बिरामी निराश भएर फर्किन बाध्य छन् ।’
गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप बढ्यो
सीमरा विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार जेठ २५ यता पर्सा , बारा र आसपासको क्षेत्रमा तापक्रम ४० देखि ४२ डिग्रि सेल्सियस रहँदैआएको छ ।
तापक्रममा उच्च भएदेखि यस क्षेत्रमा वर्षा पनि नभएका कारण उखरमाउलो गर्मीका कारण अस्पतालमा बिरामीहरुको चाप बढेको हो । नारायणी अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा मात्रै हरेक दिन एक हजारको हाराहारीमा बिरामी आइरहेको अस्पतालका निमित्त मेसु हकले जानकारी दिए । यस्तै मेडिकल र प्याडेक्ट्रिक वार्डका शैया पनि खचाखच भरिएको उनले बताए ।
गर्मी अत्याधिक बढेपछि अस्पतालमा झाडा पाखाला, उच्च ज्वरो, दम, जण्डिस, घाउ खटिरा जस्ता रोगका बिरामीको चाप अस्पतालमा बढेको उनले जानकारी दिए ।
बालरोग विशेषज्ञ डा. शैलेश ठाकुरले गर्मी बढे यता अस्पतालको बालरोग विभागको ओपिडीमा मात्रै दैनिक एक सयदेखि एक सय २० जना बालबालिका आउने गरेको बताए । अस्पतालको तथ्याङक अनुसार अन्य समयको तुलनामा गर्मी अत्याधिक बढेका बेला अस्पतालमा बिरामाहरुको चाप ५० प्रतिशतले बढेको हो ।