विभागका महानिर्देशक र जिसस प्रमुखको घर जोगाउन सडक मापदण्ड घटाइयो !

विभागका महानिर्देशक र जिसस प्रमुखको घर जोगाउन सडक मापदण्ड घटाइयो !

भक्तपुर : चाँगुनारायण नगरपालिकाले वडा नम्बर ३ झौखेलका दुईजना वरिष्ठ व्यक्तिको घर जोगाउन सडकको मापदण्ड घटाएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इञ्जिनियर मणिराम गेलाल र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको घर जोगाउन नपाले सडकको मापदण्ड एक मिटर घटाएको हो।

भक्तपुरको सल्लाघारी दुवाकोट-गेलाल गाउँ-नारायणटार-चाँगुनारायण साङदह सडकको मापदण्ड केन्द्रबाट दायाँबायाँ ७/७ मिटरको छ। तर चाँगुनारायण नपाको दोस्रो नगरसभाले उक्त सडकमध्ये वडा नम्बर ३ झौखेल खण्डमात्रै ६/६ मिटर कायम गरेको हो।

संयोगले उक्त मापदण्ड सिफारिस गर्ने पनि वडा नं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल रहेका छन्। उनी चाँगुनारायण नपाको भौतिक विकास समितिका संयोजकसमेत हुन्।

उक्त समितिमा उक्त सडकको मापदण्ड घटाउन प्रस्ताव गर्दा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्षहरुले विरोध गरेका थिए। तर वडा अध्यक्ष धिमालले गेलाल गाउँ ऐतिहासिक एवं पुरातात्विक क्षेत्र भएकाले सडक मापदण्ड घटाइएको जिकिर गरेको वडा नं २ का अध्यक्ष शिवहरि केसीले जानकारी दिए।

उनले एउटै सडकको केही खण्डमा मात्रै मापदण्ड घटाउँदा बाँकी खण्डका सर्वसाधारणलाई मर्का पर्ने भन्दाभन्दै बहुमतको बलमा उक्त मापदण्ड घटाइएको सुनाए।

‘मापदण्ड घटाउने भए सिंगो सडकको घटाउनुपर्छ। एउटा खण्डको मात्रै घटाउँदा राम्रो हुँदैन भनेर विरोध गर्दा गर्दै बहुमतले पेलेर निर्णय गरियो’, वडा अध्यक्ष केसीले भने, ‘यो गलत भयो। आफ्ना केही मान्छेको घर जोगाएर बाँकी नगरवासीलाई मार्न भएन।’

उक्त सडक साविक चार गाविस दुवाकोट, झौखेल, चाँगुनारायण र छालिङ गाभेर चाँगुनारायण नगरपालिका बनाउँदा नगरको मुख्य सडक थियो। त्यस्तै यो भक्तपुर चक्रपथको सडकखण्डसमेत हो।

यस्तो महत्वपूर्ण सडकमा नपाले वडापिच्छे मापदण्ड फरक बनाइएपछि अहिले चाँगुनारायण नगरवासी आक्रोशित भएका छन्। उनीहरुले आफ्ना नेताको घर बचाउन एउटामात्रै वडामा मापदण्ड घटाउनु दुर्भाग्य भएको बताएका छन्।

एकमिटर मापदण्ड घटाउन सुरु गरिएको चाँगुनारायण नपा ३ र १ को सिमाना न्यौपाने गाउँ चापाको बोट । तस्बिर : ईश्वरकाजी खाइजू

केन्द्रबाट दायाँबायाँ ७÷७ मिटर मापदण्ड रहेको सडकको झौखेल न्यौपाने गाउँबाट गेलाल गाउँ हुँदै खहरे खण्ड ६/६ मिटरमा झारिएको छ। जुन सडक खण्डको गेलाल गाउँमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इञ्जिनियर मणिराम गेलाल र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको घर रहेका छन्। 

मापदण्ड नघटाइए सडक विस्तार गर्दा महानिर्देशक गेलाल र जिसस प्रमुख गेलालको घर प्रभावित हुन्छ। सडक मापदण्डअनुसार जिसस प्रमुख गेलालको आँगन नै सडकमा पर्न आउँछ भने महानिर्देशक गेलालको घर।
हाल काठमाडौं उपत्यका विकास प्राधिकरणले उक्त सडक फराकिलो तथा विस्तार गर्ने कार्य गरिरहेको छ। जसअनुसार जिसस प्रमुख गेलालको आँगन जोगाएर ६ मिटरमा ग्याविन पर्खाल बनाइरहेको छ।

यसरी सडक विस्तार गर्ने क्रममा सडकको केन्द्रबाट ६ मिटरमात्रै छाडेर ग्याबिन पर्खाल उठाएपछि मात्रै स्थानीयले मापदण्ड घटाइएको सुइको पाएका हुन्।

‘आफ्ना मान्छेको घर जोगाउन जनप्रतिनिधिले सडकको एक खण्डको मात्रै मापदण्ड घटाए’, एक स्थानीयले भने, ‘जो अगुवा उहीं बाटोमा हगुवा भनेको यहीं हो।’ उनले एउटै सडकको एउटा वडामा मात्रै ६ मिटर र अरु वडामा ७ मिटर कसरी हुन्छ भनी प्रश्न गरे।

उक्त सडकको वडा नम्बर १ र २ दुवाकोट तथा ४ चाँगुनारायणका धेरै ठाउँमा ७/७ मिटर मापदण्ड राखेर दायाँबायाँ ग्याविन पर्खाल यसअघि नै बनाइसकेको छ। त्यस्तै धरै ठाउँमा मापदण्डमा परेको भनी सर्वसाधारणले पुराना घर भत्काइसकेको वडा नम्बर २ का सदस्य उद्धव खड्काले जानकारी दिए।

‘नयाँ घर बनाउनेले समेत ७÷७ मिटरको मापदण्ड छाडेका छन्’, उनले भने, ‘तर वडा नं. ३ मा भने ६÷६ मिटरमात्रै मापदण्ड हुँदा अन्य वडावासीलाई अन्याय भएन र ?’

स्थानीयले उक्त सडकको मापदण्ड घटाइएको विषयमा नगर प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख वीणा बास्तोलालाई ध्यानाकर्षण गराइसकेका छन्।

चाँगुनारायण नपाको दोस्रो नगरसभाले उक्त सडकको न्यौपाने गाउँस्थित चापाको बोटदेखि गेलाल गाउँ हुँदै खहरेसम्मको मापदण्डलाई सडकको केन्द्रबाट दायाँबायाँ ६÷६ मिटरको मापदण्ड कायम गर्ने निर्णय गरेको थियो। उक्त सडक चाँगुनारायण नपाको वडा २ बाट सुरु भई १, ३ र ४ साङदहमा टुंगिन्छ। तर नगरसभाले वडा ३ मा पर्ने सडकको मात्रै मापदण्ड घटाइएपछि अन्य वडाका नगरवासी आक्रोशित भएका हुन्।

 एक मिटर मापदण्ड घटाएर जिसस भक्तपुरका प्रमुख नवराज गेलालको घरअघि ग्याविन पर्खाल लगाइँदै । तस्बिर : ईश्वरकाजी खाइजू

नपाकै नियमानुसार पर्खाल : गेलाल
यता जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलाले चाँगुनारायण नपाको निर्णयानुसार नै आफ्नो घर अगाडिको सडकको ६÷६ मिटर मापदण्डमा ग्याविन पर्खाल लगाएको सुनाए।

उनले आफूहरुको राजनीतिक चरित्र हत्या गर्ने तथा अप्ठ्यारो बनाउनेहरुले मात्रै अनर्गल प्रचार गरेको जिकिर गरे। ‘नगरसभाले पारित गरेको निर्णयभन्दा बाहिर हामी गएको छैन’, प्रमुख गेलालले भने, ‘त्यहीं निर्णयलाई हामीले कार्यान्वयन गरेका हौं।’

उनले सातै मिटर मापदण्ड भए पनि आफ्नो घर भने भत्काउन नपर्ने सुनाए। तर उनीसँगै घर भएका महानिर्देशक गेलालको भने घर भत्काउनुपर्ने र भत्काउन आफू तयार भएको बताइसकेको प्रमुख गेलालले जानकारी दिए।

उनले गेलाल गाउँ पुग्ने अरु सडक कुनै चार मिटर, कुनै पाँच मिटर र कुनै ६ मिटर हुँदा हुने अनि न्यौपाने गाउँबाट आउने चै किन सात मिटर चाहिएको भनी प्रश्न गरे। प्रमुख गेलालले आफूहरुको बस्ती ऐतिहासिक भएको दाबी गरे। 

प्रिन्ट मिस्टेक भयो : नगर प्रमुख
चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रले भने उक्त सडकको मापदण्ड नघटाइएको स्पष्टीकरण दिएका छन्। उनले निर्णय पुस्तिकामा प्रिन्ट मिस्टेक भएकोसमेत दाबी गरे।

‘नगरपालिकाले मापदण्ड घटाएको छैन। निर्णय प्रकाशित हुँदा प्रिन्ट मिस्टेक भएको हो’, नगर प्रमुख मिश्रले भने, ‘हामीकहाँ नक्सापास गर्न आउँदा नियमानुसार मापदण्ड छोडाउँछौं।’

उनले सडकको ६/६ मिटर मापदण्डमा काठमाडौं उपत्यका विकास प्राधिाकरणले ग्याविन पर्खाल उठाए पनि मापदण्ड भने ७÷७ मिटर नै रहेको दोहोर्‍याए। ‘भविष्यमा बाटो विस्तार गर्दा कसैको घर तथा भवन भत्काउन नपरोस् भनेर मापदण्ड निर्धारण गरिएको हो’, प्रमुख मिश्रले थपे, ‘सोही मापदण्डअनुसार नगरपालिका दायाँबायाँ हुँदैन।’उनले कसैलाई जोगाउन नपाले सडकको मापदण्ड नघाउनेसमेत जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.