विश्वकपमा गेल र सामुएल्सको कीर्तिमानी साझेदारी
विश्वकप क्रिकेटको इतिहासमा दुई ब्याट्सम्यानबीच हालसम्मको सबैभन्दा ठूलो साझेदारी वेस्ट इन्डिजका क्रिस गेल र मार्लोन सामुएल्सको नाममा छ। सन् २०१५ को विश्वकपमा गेल र सामुएल्सले तीन सय ७२ रनको साझेदारी गरेका थिए। उनीहरूले जिम्बाबेविरुद्घको खेलमा दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए।
वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ड्वेन स्मिथ टोलीको खाता खुल्नुअघि नै पेभेलियन फर्किएपछि अर्का ओपनर गेल र तेस्रो नम्बरका ब्याट्सम्यान सामुएल्सले पूरै ओभर खेलेर तीन सय ७२ रन बनाएका थिए। उक्त खेलमा गेलले एक सय ४७ बलको सामना गरी १६ छक्का र १० चौकाको मद्दतले दुई सय १५ तथा सामुएल्सले एक सय ५६ बलको सामना गरी तीन छक्का र ११ चौकाको मद्दतले अविजित एक सय ३३ रन बनाएका थिए।
उक्त खेलमा वेस्ट इन्डिज विजयी भएको थियो। त्यसअघि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान भारतका सौरभ गांगुली र राहुल द्रभिडको नाममा थियो। गांगुली (१८३ रन) र द्रभिड (१४५ रन) ले सन् १९९९ को विश्वकपमा श्रीलंकाविरुद्घ दोस्रो विकेटका लागि तीन सय १८ रनको साझेदारी गरेका थिए।