रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका १७ मजदुरको उद्धार
त्रिशूली : नेपाल–चीन सीमा रसुवागढीनजिकै निर्माणाधीन रसुवागढी जलविद्युत आयोजना सुरुङको प्रवेशमार्गमा पहिरो गएको छ । पहिरोका कारण सुरुङमा थुनिएका १७ जना कामदारको उद्धार गरिएको छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा निमाणाधीन रसुवागढी जलविद्युत् आयोजनामा बिहीबार राति पौने ९ बजे सुख्खा पहिरो गएको थियो । पहिरोले सुरुङमार्ग थुनेपछि ६ चिनियाँ र ११ नेपाली कामदार खुरुङमा थुनिएका थिए। थुनिएका १७ जनै कामदारलाई शुक्रबार बिहान सकुशल उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । थुनिएको १० घण्टापछि उनीहरुको उद्धार भएको हो।
शुक्रबार बिहानैदेखि आयोजनाका कामदार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली थुनिएकाकोे उद्धारका लागि खटेका थिए । सबैको प्रयासमा सकुशल उद्धार गर्न सकिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । प्रहरीका अनुसार थुनिएकामध्ये एक जना सामानय घाइते भएका छन् । पहिरो खस्दा उनीहरु सुरुङको १०० मिटर भित्र काम गरिरहेका थिए । उनीहरु १० घण्टासम्म भोकभोकै सुरुङभित्र थुनिएका हुन्।
१११ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको नियमित काम गर्ने क्रममा मजदुर सुरुमा प्रवेश गरेका थिए । सदरमुकाम धुन्चेबाट २५ किलोमिटर उत्तर भोटेकोशी नदीको पश्चिमी किनारामा रहेको घटनास्थलमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा दुई घण्टासम्म उद्धार कार्य गरिएको थियो ।