भक्तपुर अस्पतालमा औषधि अभाव
भक्तपुर : भक्तपुर अस्पतालमा औषधि अभाव चुलिएको छ। स्वास्थ्य बीमाअन्तर्गत पाइने औषधि अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन्। भक्तपुरको एकमात्र सरकारी अस्पताल भएकाले अधिकांश भक्तपुरवासीले यही अस्पतालमार्फत स्वास्थ्य सेवा पाउने गरी बीमा गराएका छन्।
सबैभन्दा बढी आवश्यक पर्ने औषधि नै अभाव भएको पीडितले बताएका छन्। उनीहरुका अनुसार एक महिनादेखि औषधि पाउन सकिएको छैन। अस्पतालमा औषधि नपाइएपछि स्वास्थ्य बीमा गर्दागर्दै पनि पैसा तिरेर बाहिरी फार्मेसीबाट औषधि किन्नुपर्ने बाध्यता भएको सुनाए।
भक्तपुर अस्पतालको फार्मेसीले भने टेन्डर गरिएको सम्पूर्ण औषधि प्राप्त नहुँदा अभाव झेल्नु परेको बताएको छ । भक्तपुर अस्पतालले गएको चैतमा मात्रै ४८ लाख रुपैयाँ बराबरको औषधिको टेन्डर गरेको थियो।जसमा ४४ लाख रुपैयाँमा भक्तपुरकै देवकोटा मेडिकलले उक्त टेन्डर हात पारेको थियो।
तर ४४ लाख रुपैयाँको टेन्डर हात पारेको देवकोटा मेडिकलले २३ लाख रुपैयाँको मात्रै औषधि उपलब्ध गराउँदा औषधि अभाव भएको फार्मेसी इन्चार्ज रेशु कार्कीले जानकारी दिइन्। फार्मेसीमा भएको सबै औषधि वितरण भइसकेको उनको भनाइ थियो।
'टेन्डरअनुसार ४४ लाख रुपैयाँको औषधि नआउँदा अभाव भएको हो', उनले भनिन्, 'सुरुमा १६ लाखको मात्रै औषधि पठाएको ठेकेदारले महिना दिन हुँदा पनि थप औषधि पठाएन।'
पाँच महिनाको औषधि पन्ध्र दिनमै सिद्धियो !
उनका अनुसार अस्पतालले पाँच महिनाका लागि औषधि टेन्डर गरेको थियो। तर टेन्डर पाउनेले पठाएको औषधि १५ दिन पनि पुगेन।'टेन्डर पाउनेले चल्ने औषधि कम तर नचल्ने भने बढी पठाए', इन्चार्ज कार्कीले थपिन्, 'अस्पतालमा चल्नेमात्रै औषधि छान्दा २५ लाखभन्दा बढीको औषधि आउँदैन।त्यसैले पुनः टेन्डर नगरी हुँदैन।'उनले टेन्डरअनुसार सबै औषधि नआइकन नयाँ टेन्डर गर्नसमेत समस्या भएको सुनाए।
पीडित पुगे जिल्ला प्रशासनसम्म
तर स्वास्थ्य बीमा गरेकाले औषधि नपाएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको समेत ढोका ढकढक्याएका छन्। उनीहरुले महिना दिन हुँदा पनि भक्तपुर अस्पतालबाट स्वास्थ्य बीमा औषधि नपाएको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको ध्यानाकर्षण गरेका थिए।
त्यस्तै प्रजिअ भट्टले पनि भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटालाई तत्काल स्वास्थ्य बीमाको औषधिको व्यवस्था गर्न निर्देशन दिए। उक्त निर्देशनपछि टेन्डरवाला मेडिकलबाटै बाँकी औषधि नझिकाइकनै थप पाँच लाख रुपैयाँको औषधि खरिद गरिएको अस्पतालका डा. रविभूषण सुवालले जानकारी दिए।
फार्मेसीका लागि औषधि खरिद समितिका सदस्य सचिवसमेत रहेका डा. सुवालले उक्त रकम बराबरको औषधिसमेत नपुगेर थप एक लाख ७० हजा रुपैयाँको औषधि खरिद गरिसकिएको बताए। 'मेडिकल सुपरिटेन्डेन्टले आफ्नो अधिकार प्रयोग गरेर थप औषधि किन्नुभयो', उनले भने, 'तर टेन्डर पाएकाबाटै सबै औषधि नमगाइकनै किन बाहिरी प्रक्रियाबाट औषधि खरिद गरियो मलाई समेत जानकारी दिइएन।'
पूरा औषधि आपूर्ति नगर्दै भुक्तानी
उनले टेन्डर पाएकाले सबै टेन्डर रकमअनुसार ४४ लाख रुपैयाँकै औषधि आपूर्ति नगर्दै भुक्तानी दिइएको समेत बताए। उनका अनुसार ४४ लाखको टेन्डर पार्ने देवकोटा मेडिकललाई २३ लाख रुपैयाँ भुक्तानी दिइएको हो।
'हामीलाई फार्मेसीले १६-१७ लाखको औषधिमात्रै आएको जानकारी दिएको थियो', डा. सुवालले भने, 'तर भुक्तानी भने २३ लाख दिइएछ। औषधि पूरा आपूर्ति नगरिकनै किन भुक्तानी दिइयो ? शंका गर्ने ठाउँ छ।' अस्पताल स्रोतका अनुसार बजार भाउभन्दा महंगोमा टेन्डरमार्फत औषधि झिकाइएको थियो। जसले गर्दा कम औषधि आयो ।
महंगोमा औषधि टेन्डर !
फार्मेसी सञ्चालकका अनुसार औषधिमा कम्तीमा १६ प्रतिशतसम्म छुट पाइन्छ। उक्त छुटमा बिरामीको मागअनुसार १३ प्रतिशतसम्म छुट दिएर मेडिकलले तीन प्रतिशत फाइदा खाने गर्छ। तर भक्तपुर अस्पतालले टेन्डर गरेको ४४ लाख रुपैयाँको औषधि सस्तो हुनुपर्नेमा झन् महंगो भएको स्रोतको दावी थियो। मेडिकल सञ्चालकका अनुसार नचल्ने औषधिमा अत्यधिक मूल्य चल्ने औषधिमा मूल्य बढाएर टेन्डर हालिएको हो।
स्रोतले औषधि टेन्डर गर्नुअघि टेन्डर स्वीकृत हुने मेडिकललाई अस्पतालस्थित स्टोरको विवरण चुहाइएको थियो। सोही विवरणअनुसार बढी चल्ने औषधि कम तर नचल्ने औषधि बढी पार्ने गरी टेन्डर हालिएको थियो।
त्यस्तै अरुले टेन्डर पार्न नसकोस् भनी बोलपत्र लिँदा देवकोटा मेडिकलबाहेक अरुलाई मागिएको औषधिको सूची नै घटाएर दिइएको स्रोतको दावी छ। 'पहिल्यै सेटिङ गरेर देवकोटा मेडिकललाई स्टोरको विवरणसँगै बोलपत्रको पूर्ण विवरण दिइयो तर अरु बोलपत्र लिएकालाई दिइएन', स्रोतले भन्यो, 'टेन्डर बुझाउने अन्तिम दिनमात्रै फोन गरेर बाँकी बोलपत्र भर्नेलाई तपाईंलाई दिइएको औषधि सूची अपूरो भएको भनी जानकारी दिइयो। जसले गर्दा उनीहरुले टेन्डरको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकेनन।'
फार्मेसी इन्चार्ज कार्कीले पनि टेन्डरको सूचीअनुसार आएको औषधिमा नचल्ने औषधि आधाभन्दा बढी भएको स्वीकार गरिन् ।'आवश्यकै नभएको औषधिको सूची काट्दा ४४ लाखको टेन्डर भनिए पनि १६-१७ लाखभन्दा बढीको औषधि आउँदैन', उनले भनिन् ।