भैरहवा विमानस्थलको निर्माण म्याद थपिदै
भैरहवा : राष्ट्रिय गौरवको आयोजना निर्माणधिन अन्तराष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कार्यको म्याद थपिने भएको छ ।निर्माणकार्य सम्पन्न गर्नका लागि थप आवश्यक समय देखिएकाले म्याद थप गर्न लागिएको आयोजनाले जनाएको छ। विमानस्थलको निर्माणकार्य सम्पन्न गर्न यही जुन २८ सम्म म्याद छ।
विमानस्थल निर्माणको क्रममा चिनियाँ ठेकेदार र सह-ठेकेदारबीच विवाद, ठेकेदार कम्पनीको लापरवाही, मधेस आन्दोलन, नदीजन्य पदार्थको अभावलगायतका कारण आयोजनामा असर पनि परेको थियो।
विमानस्थलको निर्माणकार्य सम्पन्न गर्नका लागि थप समय आवश्यक देखिएकाले करिब ६ महिनाका लागि म्याद थप गर्न लागिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।
'आइसीपी वानअन्र्तगतका लगभग काम सकिने अवस्थामा छ तर आइसीपी टु को काम अझैं बाँकी छ, उनले भने,' जसका लागि ६ महिना म्याद थप गर्न माथिल्लो निकायमा पत्राचार गरेका छौँ।'
आइसीपी वान अन्र्तगतको काम भनेको भौतिक संरचनाहरु हुन् भने आइसीपी टु अन्र्तगत विमानस्थलमा उपकरण जडान गर्नु हो । आइसीपी वानको काम सम्पन्न नगरी आइसीपी टु को काम गर्न सक्ने अवस्थामा नरहेको हुँदा आइसीपी वानको काम सम्पन्न गरेर आइसीपी टु मा काम सुरु गरिने उनले बताए।
उनले आइसीपी टु को काम लागि आवश्यक उपकरण दसैंसम्म ल्याउने योजनामा रहेको बताए। ६ महिना म्याद थप भएपश्चात २०१९ डिसम्बेर ३० (पुस १५) भित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने हुन्छ। यो तेस्रो पटक म्याद थप हुन लागिएको हो। पछिल्लो समय विमानस्थल निर्माण कार्य तीव्र गतिमा छ।
उनले निर्माणकार्यको म्याद थप भएपनि लागत भने नबढ्ने दावी गरे। ठेकेदार कम्पनीसँग जुन रकममा सम्झौता भएको छ त्यही रकममा नै उसले काम गर्छ उनले भने। विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ।
उनका अनुसार हाल अन्तराष्ट्रिय टर्मिनल भवन आगमन कक्षमा छाना हालेर रंगरोगन भइरहेको छ भने प्रस्थान कक्षको भवनमा छाना हाल्ने काम जारी छ। टर्मिनल भवन, प्रशासनिक भवनलगायतमा आवश्यक पूर्वाधार विद्युतीय वाइरिङजस्ता भित्री कामहरु अन्तिम चरणमा रहेको आयोजना प्रमुख अधिकारीले बताए ।
त्यस्तै, कन्ट्रोल टावरको अन्तिम तल्लाको काम सुचारु भएको छ। धावनमार्ग, ट्याक्सी वे, एप्रोनको काम सकिएको छ। यसमा साना तिना मार्किङ र विद्युतियकाम गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।