वालिङ्मा मनाइयो योग दिवस
स्याङ्जा : विश्व योग दिवसका अवसर पारेर पतञ्जली योग समिति वालिङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। समितिले प्रभातफेरी गर्नुका साथै विशेष योग साधना शिविर गरेको हो। 'योग सिकौ, अरुलाई पनि सिकाऊ, योग गरौं निरोगी बनौं, अल्छी जीवन, रोगी जिवन' जस्ता नारा लेखिएको प्लेकार्डसहित सन्देशमुलक नारा लगाएर सर्वसाधारणले वालिङ बजारका मुख्यभागको परिक्रमा गरेका थिए।
पतञ्जली योगपीठ नेपालका गण्डकी प्रदेश प्रमुख दीपक सिग्देलले योगको आवश्यकता र विधिका बारेमा जानकारी गराए। पछिल्लो समय योगाप्रति आकर्षण बढेको छ। घरघरमा योग साधना भएका छन्। विभिन्न स्वस्थ्य जीवनशैली अपनाउन योगा अभ्यास निक्कै फलदायी हुने प्रमुख सिग्देलको भनाई छ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले तनाव र रोगबाटबाट मुक्त रहन नियमित योग साधना गर्ने गरेको बताए । उनले भने, 'दिनभरको तनाव र व्यस्त जीवनलाई योगले सामान्य बनाउँछ।'
आचार्य बालकृष्णको गृह जिल्लामा योगपीठ भवन समेत वालिङमा निर्माण गरिएको छ। सुविधा सम्पन्न भवनमा दिनहुँ बिहान २ घण्टा योग, साधना हुने गर्दछ।