कर्णाली दुर्घटना अपडेट : भेटिएन जीप, गोताखोर टोली फर्कियो
सिमकोट : गत असार ३ गते कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक जीप खोजीमा सक्रिय गोताखोर टोली आज शुक्रबार फर्किएको छ ।
नदीमा कसैको पनि शव नभेटिएपछि चितवनको कुरिनटारबाट आएको टोली फिर्ता भएको हो । खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा कैल्याबालुमा दुर्घटना भइ कर्णाली नदीमा बेपत्ता भएको जीपको खोजी कार्य स्थानीयबाट सम्भव नभएपछि गृह मन्त्रालयको पहलमा व्यवसायीक टोली नै बोलाइएको थियो ।
जीपमा सवार ११ जनामध्ये ९ जनाको भने पुत्ला बनाएर हिजो बिहीबार अन्तिम दाहसंस्कार गरियो । सशस्त्र प्रहरी वल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रहरी निरीक्षक लक्ष्मण बहादुर बस्नेत नेतृत्वको १० जनाको गोताखोर टोलीले असार ४ गतेदेखि कर्णाली नदीमा निरन्तर खोजी गर्दा पनि शव भेट्टाउन नसकेको हो ।
कर्णाली नदीमा पानीको बहाव उच्च भएका कारण गोताखोर टोलीलाई शव खोज्न समस्या भएको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए ।