ग्लोबल टीट्वेन्टीमा नेपालका दुई क्रिकेटर : सन्दीपलाई ६० र सोमपाललाई तीन हजार डलर

ग्लोबल टीट्वेन्टीमा नेपालका दुई क्रिकेटर : सन्दीपलाई ६० र सोमपाललाई तीन हजार डलर

काठमाडौं : ग्लोबल टीट्वेन्टी क्यानडा क्रिकेटको दोस्रो संस्करणमा दुईजना नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन्।

विश्वका थुप्रै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलिसकेका चर्चित लेगस्पिनर सन्दीप लामिछानेसँगै अर्का नेपाली खेलाडी सोमपाल कामीले पनि उक्त प्रतियोगितामा भाग लिनेछन्। प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्त ११ तारिखसम्म चल्नेछ।

सन्दीपले उक्त प्रतियोगिताको पहिलो संस्करणमा पनि सहभागिता जनाएका थिए। यसपटक सन्दीपले टोरन्टो नेसनल्सबाट खेल्नेछन्। टोरन्टो नेसनल्सले १८ वर्षीय सन्दीपलाई ६० हजार अमेरिकी डलर (६६ लाख ५० हजारभन्दा बढी नेपाली रुपैयाँ) मा आबद्ध गरेको हो। 

सन्दीपले अघिल्लो वर्ष मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। त्यतिबेला मोन्ट्रियल टाइगर्सले सन्दीपलाई ४० हजार अमेरिकी डलरमा आबद्ध गरेको थियो। सन्दीपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, अस्ट्रेलियन बिग बास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायतका फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।

आफुसँगै सोमपालले पनि ग्लोबल टीट्वेन्टी खेल्ने अवसर पाएकोमा निकै खुसी लागेको बताए। ‘मसँगै अरु नेपाली खेलाडीले पनि अवसर पाउनु पर्छ भन्ने मेरो चाहना थियो, मेरो त्यो चाहना पुरा भएको छ। आगामी दिनमा अझ धेरै नेपाली खेलाडीले यस्तो अवसर पाउनु पर्छ’, सन्दीप भन्छन्।

यसैगरी सोमपालले विनिपेग हक्स क्लबबाट खेल्नेछन्। उक्त क्लबले सोमपाललाई तीन हजार अमेरिकी डलर (तीन लाख ३३ हजार नेपाली रुपैयाँ) मा आबद्ध गरेको हो। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपालले कुनै पनि विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो। २३ वर्षीय सोमपाल दायाँहाते मध्यमतेज गतिका बलर हुन्।

सन्दीपको टोली टोरन्टो नेसनल्सबाट न्युजिल्यान्डका ट्रेन्ट बल्ट र ब्रेन्डन म्याककलम, वेस्ट इन्डिजका काइरन पोलार्ड, भारतका युवराज सिंहजस्ता चर्चित खेलाडीले पनि खेल्दैछन्। सोमपालको टोली विनिपेग हक्समा पनि पाकिस्तानका उमर अकमल, वेस्ट इन्डिजका ड्वेन ब्राभो र ड्वेन स्मिथ, दक्षिण अफ्रिकाका जेपी डुमनी, अस्ट्रेलियाका क्रिस लिनजस्ता चर्चित खेलाडी सहभागी छन्।

सोमपालले ग्लोबल टीट्वेन्टी खेल्ने अवसर पाउँदा निकै खुसी लागेको बताए। उनले प्रतियोगिताका क्रममा आफू अन्तिम ११ टोलीमा पर्ने विश्वास पनि व्यक्त गरे। ‘मैले अन्तर्राष्ट्रिय लिग खेल्ने अवसर पाउँदा सबै खुसी हुनुहुन्छ। मेरो लागि पनि यो निकै ठूलो उपलब्धि हो। मलाई विश्वास छ कुनै दिन आईपीएल खेल्ने अवसर पनि पाउने छु’, सोमपाल भन्छन्।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ६० हजार र सोमपालले तीन हजार अमेरिकी डलर तोकेका थिए। प्रतियोगितामा सहभागी हुन १२ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। 

अन्य १० खेलाडीले भने कुनै पनि क्लबमा आबद्ध हुने अवसर पाएनन्। प्रतियोगितामा ६ वटा टोली सहभागी छन्। प्रतियोगितामा सहभागी हुन ४० देशका एक हजारभन्दा बढी खेलाडीले आवेदन दर्ता गराएका थिए।

ग्लोबल टीट्वेन्टी जुलाई २५ तारिखमा सुरु हुने भए पनि सन्दीप र सोमपाल भने केही समयपछि मात्र क्यानडा पुग्नेछन्। सन्दीप र सोमपाल नेपाली राष्ट्रिय टोलीका सदस्य हुन्। नेपालले आगामी जुलाई २८ तारिखसम्म आईसीसी टीट्वेन्टी विश्वकपको एसियाली क्षेत्रको अन्तिम चरणको प्रतियोगिता खेल्ने भएकाले सन्दीप र सोमपाल पनि केही समय त्यसमा ब्यस्त हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.