भक्तपुरमा सत्यमोहनलाई नागरिक अभिनन्दन

भक्तपुरमा सत्यमोहनलाई नागरिक अभिनन्दन

भक्तपुर : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरका नागरिक अभिनन्दन गरिएको छ। यहाँका ५० भन्दा बढी सामाजिक संघसंस्थाले भक्तपुर र मध्यपुर थिमी नगर परिक्रमासहित नागरिक अभिनन्दन गरेका हुन्।

सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति भक्तपुरको संयोजनमा भएको अभिनन्दनअन्तर्गत नगर परिक्रमा गराइँदा भक्तपुर र मध्यपुर थिमीका नगरवासीले जोशीलाई नेवारी परम्पराअनुसार सगुन दिएका थिए। कसैले फूलमाला र रातो टीका लगाइदिए भने कसैले खादा ओढाएर सम्मान व्यक्त गरेका थिए।

त्यस्तै स्थानीय बाजा खलःहरु आआफ्नो मौलिक एवं परम्परागत बाजागाजासहित र्‍यालीमा सहभागी भएका थिए। स्कुलका शिक्षक, विद्यार्थी तथा विभिन्न टीम, क्लव, संघसंस्थासमेत आआफ्नो ब्यानरसहित र्‍यालीमा सहभागी भएका थिए।

मध्यपुर थिमीको बहाखाबजार र भक्तपुरको दत्तात्रय क्षेत्रबाट छुट्टाछुट्टै सांस्कृतिक झाँकीसहितको सम्मान र्‍याली गरिएको हो। दुवै नगरमा गरिएको शोभायात्रामा उल्लेख जनसहभागिता रहेको थियो। भक्तपुरको दत्तात्रयबाट सुरु गरिएको र्‍याली गोल्मढी, सुकुलढोका, दरबार क्षेत्र, टौमढी क्षेत्र, गःहिटी, नासमना, वंशगोपाल हुँदै बाराहीस्थानमा नागरिक अभिनन्दन गरिएको थियो। भक्तपुरका संघीय सांसदहरु र प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति तथा चार वटा नगरपालिकाका प्रमुखहरुले पुरातत्वविद् जोशीलाई नागरिक अभिनन्दन गरेका हुन्।

करिब पाँच फिट अग्लो कलात्मक काष्ठकलाको फ्रेमयुक्त अभिनन्दनपत्र प्रदान गरिएको थियो। त्यस्तै भक्तपुर वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगले नेवारी परम्पराअनुसार जोशीको शीरमा बेताली बाँधिदिएका थिए। वरिष्ठ भाषाविद् रमापतिराज शर्माले दोसल्ला ओढाउनुका साथै वरिष्ठ साहित्यकार पूर्ण वैद्यलगायतले फूलमाला लगाइदिएर जोशीको नागरिक अभिनन्दन गरेका थिए।

जिल्ला समन्वय समिति भक्तपुरले छुट्टै सम्मानपत्र प्रदान गरेको थियो। जोशीले भक्तपुरमा समेत आफू सम्मानित हुँदा गौरवान्वित महसुस भएको सुनाए। उनले आफू नजानिँदो ढंगले कला, संस्कृति र पुरातत्वमा मोडिएको स्मरण सुनाउँदै नेपालमा संरक्षण गर्नुपर्ने धेरै अमूल्य निधि रहेको बताए।

त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दा क्याम्पससँगै रहेको वीर पुस्तकालयमा रहेका नेपालमा ऐतिहासिक एवं पुरातात्विक महत्वका पौभाचित्र, मूर्तिलगायत संरक्षणको अभावमा कुनामा थन्क्याइएको उनले सुनाए।

कार्यक्रममा संघीय संसद महेश बस्नेत, वरिष्ठ पत्रकार भैरव रिसाल, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले शताब्दी पुरुष नेपाली इतिहासका जिउँदो प्रमाण भएको धारणा राखे।

जोशी नेपाली राजनीतिमा राणाशासन, सक्रिय राजतन्त्र, पञ्चायत, प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रका जिउँदोजाग्दो प्रमाण भएको उनीहरुको भनाइ थियो। नागरिक अभिनन्दन समारोहका संयोजक नरेन्द्रभक्त हाडाले नेपाली भाषाको उद्गमस्थल कर्णाली सभ्यता, अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गराउन र नेपाली कला–संस्कृतिको महत्व बढाउने कार्यमा जोशीले पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरुप नागरिक अभिनन्दन गरिएको जानकारी दिए।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.