अख्तियारले ‘भेटेन’ जोशीको फाइल

अख्तियारले ‘भेटेन’ जोशीको फाइल

काठमाडौं : अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ।

अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। प्रस्टीकरणमा फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको उल्लेख छ। सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले असहयोग गरेको भन्दै अख्तियारका जिम्मेवार पदाधिकारीलाई सजाय र कारबाहीको चेतावनी दिएको थियो।

जोशीविरुद्ध अख्तियारले गरेको पुनरावेदनमा भएको आदेशअनुरूप चौथो पटकसम्म पनि निर्णय फाइल नआएपछि सर्वोच्चले यस्तो चेतावनी दिएको हो। जोशीविरुद्धको उजुरीमा छानबिनका लागि अनुसन्धान अधिकृत तोक्ने गरी भएको निर्णय फाइल पठाउन सुरुमा २०७१ असोज २९ गते आदेश भएको थियो। त्यसयता तेस्रोपल्टसम्म यस्तो आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अख्तियारले विभिन्न समयमा पठाएका जवाफ जिम्मेवारीपूर्ण नभएको भन्दै आपत्तिसमेत जनाएको थियो।

अख्तियारका कारण न्याय निरूपणमा ढिलाइ भएको, न्यायिक प्रक्रियामा अवरोध पैदा भएको र मुद्दाका पक्षलाई अनावश्यक हैरानी भएको भन्दै अवहेलनामा कारबाही चलाउने चेतावनीसहित सचिवलाई उपस्थित हुन भनिएको थियो। १५ दिने म्यादभित्रै उपस्थित भई अख्तियारका सचिव न्यौपानेले तीन पृष्ठ लामो प्रस्टीकरण बुझाएका हुन्। सर्वोच्च स्रोतका अनुसार जेठ ४ गतेको मितिमा प्रस्टीकरण दर्ता भएको छ। सचिव न्यौपानेले आयोगबाट निर्णय खोजी जारी रहेको र आफू अख्तियारमा आएपछि अझै तीव्रतापूर्वक खोजी अघि बढाइएको प्रतिरक्षा सर्वोच्चसमक्ष गरेका छन्। उनी २०७४ चैत २६ गतेदेखि अख्तियारमा छन्।

आयोगका महाशाखा प्रमुखसमेत समावेश गरी मिसिल खोजतलास गर्न समिति गठन गरेको, त्यति बेला अख्तियारमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई आयोगमै उपस्थित गराई सोधपुछ गर्दा पनि फाइल फेला नपरेको जनाउ सर्वोच्चलाई दिइएको छ। उक्त फाइल खोजीका क्रममा व्यक्तिगत रूपमा पनि तत्कालीन जिम्मेवार पदाधिकारीसँग तत्कालीन अवस्थामा अनुसन्धान अधिकृत तोक्ने विधि, प्रक्रिया एवं त्यससम्बन्धी निर्णयको अभिलेख व्यवस्थापनबारे टेलिफोन गरी जानकारीसमेत लिएको सचिवले दर्शाएका छन्। निर्णय टिप्पणीमार्फत अनुसन्धान अधिकृत तोक्ने आयोगको त्यति बेलाको प्रचलन रहेको जानकारी पनि सर्वोच्चलाई गराइएको छ। तर, अनुसन्धान अधिकृत नियुक्तिको पत्र फेला परे पनि निर्णय टिप्पणी भने नभेटिएको उल्लेख छ। अनुसन्धान अधिकृतबाट अनुसन्धान तहकिकात भई विशेष अदालतमा मुद्दा दायर गरिएको सचिव न्यौपानेको भनाइ छ।

जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गर्ने गरी २०६० पुस १८ मा निर्णय भएको, अनुसन्धान अधिकृतका लागि तत्कालीन सहन्यायाधिवक्ता प्रेमराज कार्कीलाई तोकिएको, अनुसन्धान अधिकृतको म्याद थप भएको जनाइएको छ। यस्तै, जोशीसहित ४० जनाको सम्पत्ति अनुसन्धान गर्न आयोगबाट २०६० वैशाख २५ गते निर्णय भएको, जोशीसहित आठ जनाको सम्पत्ति अनुसन्धान गर्न कार्कीलाई तोकिएको, आरोपित व्यक्तिको अनुसन्धान गर्न तीन महिनाका लागि अदालतबाट म्याद थप गरिएको, त्यसपछि पनि पुनः तीन महिना म्याद थपिएको तथ्य जवाफमा उल्लेख छ।

अख्तियारबाट तिथिमितिसहितका थप चार थान कागजातसमेत सर्वोच्चमा पेस गरिएका छन्। न्यायिक प्रक्रियामा अवरोध गर्ने उद्देश्य आयोग, आफू र कर्मचारीको नभएको भन्दै न्यौपानेले अख्तियारको प्रतिरक्षा गरेका छन्। जोशीको अनुसन्धान गर्दाको मितियता आयोगको कार्यालय बबरमहलबाट टंगाल सरी १५ जना सचिव फेरिएको प्रस्टीकरणसमेत दिइएको छ। ‘म मिति २०७४ चैत २६ देखि आयोग सचिव पदमा कार्यरत रहेको भए पनि मेरो संस्थागत दायित्व र सम्मानित अदालतको सम्मान गरी गम्भीरताका साथ खोज्दा खोजतलास गर्दासमेत उल्लेखित निर्णय फाइल भेट्न नसकेको व्यहोरा अनुरोध गर्दछु’, सचिवले भनेका छन्। सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले सरकारी निर्णय फाइल फेला नपरेको अवस्थामा पक्ष विपक्षसँग भएको फाइल र उपलब्ध कागजातका आधारमा विगतमा सुनुवाइ अघि बढाइएको जानकारी दिए।

‘पक्ष÷विपक्षको फाइल र कागजातका आधारमा पनि इजलासले सुनुवाइ अघि बढाएको मलाई सम्झना छ’, केसीले भने, ‘फाइल नआएर न्यायमा ढिलासुस्ती र पक्षलाई हैरानी भयो। हाइप्रोफाइल व्यक्तिको अभिलेख कार्यालययमा ठीक ठाउँमा रहनुपथ्र्यो। यो अभिलेख सिस्टमको कमजोरी हो।’ केसीले लोकमानसिंह कार्कीको फाइल पनि कारबाही गर्ने भनेपछि मात्र भेटिएको स्मरण गराए। ‘अब अख्तियारले दोधारे जवाफ दिएर हुँदैन। क्लियर कट भन्न सक्नुपर्छ कि फाइल हरायो’, उनले भने, ‘सर्वोच्चले पनि अभिलेख चुस्तदुरुस्त राख्ने विषयमा ल्यान्डमार्क निर्णय दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.