वैकल्पिक हवाई मैदानको प्रस्ताव
नुवाकोट : काठमाडौसँगै जोडिएको नुवाकोटमा वैकल्पिक हवाई मैदान निर्माणको प्रस्ताव गरिएको छ।नुवाकोटलाई काठमाडौंको विस्तारित रूपमा हेरिएका कारण यहाँ हवाई मैदान आवश्यक रहेको सरोकारवालाले बताएका छन्।पहाडी संरचना रहेको नुवाकोटमा हवाई मैदान निर्माण गरिँदा नुवाकोट, रसुवा तथा धादिङका उत्तरी भेगका सर्वसाधारणलाई सुविधा पुग्ने निष्कर्ष निकालिएको छ।नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले सरकारले बनाउने भनेको वैकल्पिक हवाई मैदान नुवाकोटमा बनाउन प्रस्ताव गरेका छन् ।
उनको यो प्रस्तावलाई नुवाकोटका सबै पक्षले सकारात्मक रूपमा लिएका छन्।प्रतिनिधिसभाको विनियोजन विधेयकमाथि धारणा राख्दै खतिवडाले टोखा–छहरे सुरुङमार्ग बनेपछि नुवाकोट काठमाडौंबाट निकै नजिक हुने भएकाले नुवाकोटमा हवाई मैदान बनाउन सरकारको ध्यानाकर्षण गरेका हुन् ।
सांसद खतिवडाले नुवाकोटमा जनजाती संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।यसअघि पनि सांसद खतिवडाले राष्ट्रिय गौरवका आयोजना गल्छी–त्रिशूली–रसुवागढी सडकभित्र पर्ने महेशखोला, कोल्पुखोला, तादी खोलाका पक्की पुलको निर्माण कार्य रोकिएको र गल्छी–रसुवागढी ८२ किमिभित्र पर्ने सडकमा अन्य प्रभावितलाई मुआव्जा दिए पनि पिपलटारदेखि ढुंगेसम्मका स्थानीयलाई मुआव्जा नदिएको जनाउँदै ध्यानाकर्षण गराएका छन् ।