अपराजित र जितविहीन टोलीको भिडन्त

अपराजित र जितविहीन टोलीको भिडन्त

रोज बल : विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदै छन् । पहिलो खेलमा बलियो भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । उक्त खेल साउथह्याम्पटनको रोज बल रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ । दोस्रो खेल दुई पुराना प्रतिद्वन्द्वी न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच खेलिनेछ । उक्त खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा साँझ ६ :१५ बजे सुरु हुनेछ ।

विश्वकपमा भारत दुई पटकको उपाधि विजेता टोली हो । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको भारतले सन् १९८३ र सन् २०११ मा उपाधि चुमेको थियो । अफगानिस्तानको भने विश्वकपमा यो केवल दोस्रो सहभागिता हो । अफगानिस्तानले यसअघि सन् २०१५ को विश्वकप मात्र खेलेको थियो ।

जारी विश्वकपमा हालसम्म अपराजित दुई टोलीमध्ये भारत पनि एक हो । आफूले खेलेका चारमध्ये तीनवटा खेलमा भारत विजयी भएको छ । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । यसको ठीक विपरीत अफगानिस्तानले भने हालसम्म एक खेल पनि जित्न सकेको छैन । आफूले खेलेका पाँचवटै खेलमा अफगानिस्तानले हार भोगेको छ ।

अघिल्ला खेलमा भारतले दक्षिण अफ्रिका, बलियो अस्ट्रेलिया र चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएको थियो । भारत र न्युजिल्यान्डबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो । पाँच खेल खेलेको न्युजिल्यान्ड पनि हालसम्म अपराजित छ । अफगानिस्तान भने अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र इङ्ल्यान्डसँग पराजित भइसकेको छ ।

अफगानिस्तान र भारत विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भने यसअघि यी दुई टोलीबीच दुई पटक आपसमा भिडन्त भएको छ । सन् २०१४ को एसिया कपमा भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको थियो । सन् २०१८ को एसिया कपमा भने यी दुई टोलीबीचको खेल बराबरीमा सकिएको थियो । त्यति बेला दुवै टोलीले समान दुई सय ५२ रन बनाएका थिए।

जारी विश्वकपमा भारतलाई उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ । यति बेला भारतको ब्याटिङ र बलिङ दुवै लयमा छ । भारतीय ब्याट्सम्यान रोहित शर्माले अघिल्ला तीन खेलमा दुई शतक र एउटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध अविजित १२२ र पाकिस्तानविरुद्ध १४० रन बनाएका थिए । अस्ट्रेलियाविरुद्धको खेलमा पनि उनले ५७ रन बनाएका थिए ।

यसैगरी भारतीय कप्तान विराट कोहलीले पनि दुई खेलमा अर्धशतक बनाएका छन् । उनले अस्ट्रेलियाविरुद्ध ८२ र पाकिस्तानविरुद्ध ७७ रन बनाएका थिए । कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गर्नबाट केवल १०४ रनले पछाडि छन् । यसअघि भारतका सचिन तेन्दुल्कर र राहुल द्रभिडले मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाउन सकेका छन् । पाकिस्तानविरुद्ध केएल राहुलले पनि ५७ रन बनाएका थिए । अस्ट्रेलियाविरुद्धको खेलमा एक सय १७ रन बनाउने शिखर धवन औंलाको चोटका कारण विश्वकपबाट बाहिरिँदा भने भारतलाई ठुलै धक्का लागेको छ ।

भारतसँग उत्कृष्ट बलरहरूको पनि कमी छैन । हालसम्म युजभेन्द्र चाहलले ६, जसप्रीत बुमराहले पाँच र भुवनेश्वर कुमारले पाँच विकेट लिइसकेका छन् । चाहलले दक्षिण अफ्रिकाविरुद्ध चार र अस्ट्रेलियाविरुद्ध दुई विकेट लिएका थिए । बुमराहले अस्ट्रेलियाको तीन र दक्षिण अफ्रिकाको दुई विकेट हात पारेका थिए । यसका अतिरिक्त कुलदीप यादव, विजय शंकर र हार्दिक पाण्डेया पनि लयमा छन् ।

अर्कोतिर अफगानिस्तानले हालसम्म गतिलो ब्याटिङ गर्न सकिरहेको छैन । अफगानिस्तानले इङ्ल्यान्ड र अस्ट्रेलियाविरुद्ध मुस्किलले दुई सय रन कटाएको थियो । बाँकी तीन खेलमा त अफगानिस्तान दुई सयभन्दा कम योगफलमै समेटिएको थियो । यो विश्वकपमा अफगानिस्तानको बलिङ पनि खासै जम्न सकेको छैन ।

शनिबार साँझको खेलमा अर्को अपराजित टोली न्युजिल्यान्डले वेस्ट इन्डिजको सामना गर्दै छ । पाँच खेल खेलेको वेस्ट इन्डिजले भने एक खेल मात्र जित्न सकेको छ । तीन खेलमा पराजित भएको वेस्ट इन्डिजको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो । वेस्ट इन्डिज पहिलो र दोस्रो विश्वकपको उपाधि विजेता हो भने न्युजिल्यान्ड साविक उपविजेता टोली हो ।

आजको खेल

अफगानिस्तानविरुद्ध भारत

रोज बल (दिउँसो ३ :१५ बजे)

० न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिज

ओल्ड ट्राफोर्ड (साँझ ६ :१५ बजे)

एकदिवसीयमा दुई टोली (भारत र अफगानिस्तान)

कुल  : २ खेल

भारत विजयी  : १ खेल

अफगानिस्तान विजयी  : ० खेल

बराबरी  : १ खेल

एकदिवसीयमा दुई टोली (न्युजिल्यान्ड र वेस्ट इन्डिज)

कुल  : ६४ खेल

न्युजिल्यान्ड विजयी  : २७ खेल

वेस्ट इन्डिज विजयी  : ३० खेल

अनिर्णित  : ७ खेल

विश्वकपमा दुई टोली (न्युजिल्यान्ड र वेस्ट इन्डिज)

कुल  : ७ खेल

न्युजिल्यान्ड विजयी  : ४ खेल

वेस्ट इन्डिज विजयी  : ३ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.