हिस्सी परेकी हिसिला

हिस्सी परेकी हिसिला

 काठमाडौं : नेवार समुदायमा हरेक प्रेमी आफ्नी प्रेमिकालाई राजमती सम्झन्छन्।ओठको तल दुईवटा कोठी भएकी घुम्रेको कालो कपाल, गोरो अनुहार र ठूलाठूला गाजलु आँखा सबैको मनमा तस्बिरजस्तै बसेको छ।तिनै राजमती जसलाई आफ्नो बनाउने सपना हरेकको हुन्छ।

‘राजमती कुमती जिके वा सा पिरती’ नेवार समुदायमा निकै प्रचलित गीत हो।यही गीतबाट सन् १९९५ मा नेवारी भाषामा ‘राजमती’ चलचित्र बन्यो।राजमतीको भूमिकामा थिइन् हिसिला महर्जन।राजमती गीत जति जीवन्त छ, त्यति नै जीवन्त पात्र हुन् राजमती अर्थात् हिसिला।

सबैले हिसिलालाई आज पनि राजमती भनेर चिन्छन्।राजमती बन्न पाउनु ठूलो सौभाग्य भएको बताउँछिन् उनी।भन्छिन्, ‘राजमती कति सशक्त पात्र थिइन् भने म पनि उनकै नामबाट चिनिएँ।’ २४ वर्ष अगाडिको राजमती चलचित्रमा उनी जस्ती थिइन्, अहिले पनि उस्तै छिन्।त्यही घुम्रेको कपाल अनि उही मीठो मुस्कान।

१६ वर्षको उमेरमा हिसिलाले राजमती चलचित्रमा अभिनय गरेकी थिइन्।नेवार समुदायमा निकै चिनिएकी हिसिलालाई सानैदेखि नाटक र गीतसंगीतमा रुचि थियो।तर फिल्म खेल्ने कहिल्यै सोचिनन्।राजमती चलचित्रले उनलाई रातारात हिट बनायो।थुप्रै चलचित्रबाट अफर आए तर उनले खेलिनन्।एउटै चलचित्र किन नहोस्, आफूले निर्वाह गरेको चरित्र जीवन्त बन्नुपर्ने उनी ठान्छिन्।भन्छिन्, ‘मलाई कथा मन नपरेसम्म फिल्म खेल्ने जाँगर चल्दैन।’

राजमती चलचित्र लोकसाहित्यमा आधारित कथा हो भने नेवार समुदायको लोक सौन्दर्यलाई अमर बनाउने गीत राजमती हो।राजमती एक पारम्परिक नेवारी गीत मात्र होइन, यो नेवार समुदायको सबैभन्दा प्रसिद्ध धुन पनि हो।

राजमती धुन कति चर्चित थियो भने १९५० मा जंगबहादुर राणा बेलायत जाँदा उनलाई ‘गार्ड अफ अनर’ दिँदाको समय राजमती गीतको धुनलाई नै राष्ट्रिय गानका रूपमा बजाइएको थियो।

हिसिला भन्छिन्, ‘यति धेरै महत्त्व बोकेको राजमतीको जीवन बाँच्न पाउनु ठूलो उपलब्धि हो।‘अभिनय ठिकठिकै गर्थें’, उनी भन्छिन्, ‘अफर आउनेबित्तिकै चलचित्र गरिहाल्ने पक्षमा म थिइनँ।’ चलचित्र क्षेत्र बदनाम छ जस्तो उनलाई लाग्थ्यो।भन्छिन्, ‘अभिनय गर्न मन लाग्थ्यो तर पत्रपत्रिकाको गसिपबाट बच्न चाहन्थेँ।’

उनकी आमाले चलचित्रमा जान सुझाएपछि उनले राजमती चलचित्र खेलिन्।पहिलो पटक अभिनय गर्दा उनी निकै डराएकी थिइन्।तर फिल्मका निर्देशक नीर शाह निकै फरासिला थिए।

पछि उनले बीचमा नेपाल भाषामै चाण्डालिका, त्याग र अन्य सर्ट मुभी गरिन्।नेवारी म्युजिक भिडियोमा सक्रिय हिसिलाका पति मणिराज लवट यसै फिल्डमा भएकाले पनि उनलाई सहज छ।अहिले यो दम्पतीकी ११ वर्षीया छोरी छिन्।भन्छिन्, ‘जीवन राम्रैसँग चलिरहेछ।घरमा सासूआमा मैले नाचेको अभिनय गरेको खुब मन पराउनुहुन्छ।’

लामो अन्तरालपछि राजमती उर्फ हिसिला फेरि उदाएकी छन्।पहिलो पटक उनले नेपाली भाषाको चलचित्र ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’मा अभिनय गरेकी छन्।असार १३ मा रिलिज हुने यो फिल्म हारको कथा हो।‘इतिहासले जितेकाहरूको मात्र कथा लेख्छ।तर हारेकाहरूको कथा किन लेख्दैन ? उनीहरूको पीडा किन लुकाइन्छ ? ’ हिसिला प्रश्न गर्छिन्।अब त्यही हारको कथा चलचित्रबाट दर्शकसामु आउँदै छ।‘पक्कै पनि यसले इतिहासको अर्को पाटो खोल्ने छ’, उनी विश्वास जताउँछिन्।

कीर्तिलक्ष्मी १८औं शताब्दीमा कीर्तिपुरकी रानी थिइन्।तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेपछि त्यहाँका थुप्रै सेनाले वीरगति प्राप्त गरे।राजा ज्ञानप्रताप (कीर्तिलक्ष्मीका श्रीमान्)को पनि लडाइँमा मृत्यु भयो।

त्यसपछि कीर्तिलक्ष्मी आफैं केटाको भेषमा युद्ध मैदानमा उत्रिइन्।हिसिला सानैदेखि कीर्तिलक्ष्मीको वीरगाथा सुनेर हुर्किएकी हुन्।कीर्तिलक्ष्मीजस्तै बहादुर बन्ने रहर थियो उनको।अहिले कीर्तिलक्ष्मीकै कथामा चलचित्र खेल्न पाउँदा हिसिला निकै खुसी छिन्।

हिसिलाको घर पनि कीर्तिपुरमा छ।कीर्तिलक्ष्मीको जीवनसँग अझै लगाव छ उनलाई।हिसिलाको परिवार सुरवीर खलकका हुन्।घरमा अझै पनि युद्ध मैदानमा लडाइँका बखत प्रयोग गरिने खुँडा, तरबार छन्।भन्छिन्, ‘अझै पनि हामी दसैंमा तिनको पूजा गर्छौं।’ परिवारको पृष्ठभूमि योद्धा भएकाले पनि उनमा कीर्तिलक्ष्मी बन्ने चाह उत्पन्न भएको हो।

कीर्तिपुरलाई हराउन त्यति सजिलो थिएन।‘पृथ्वीनारायण शाह तीन पटकको प्रयासपछि कीर्तिपुर जित्न सफल भएका थिए।ऐतिहासिक पृष्ठभूमिको यो चलचित्र यसै पनि रोचक छ।त्यसमाथि चलचित्र नारीप्रधान भएकाले हिसिला यो फिल्म खेल्न उत्साहित भएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.