मनका धनी : धनीराम
सम्भवतः जीवन जिउन अप्ठ्यारो परेपछि बुवाआमाले उनको नाम धनीराम राखे। धार्मिक आस्थामा विश्वास थियो। जात र नामले काम गर्छ। अर्थात् ‘ब्रह्मजनात्य ब्रह्मानस्यभन्दा पनि जन्मजनात्य ब्रह्मानस्य’ सोचबाट अभिपे्ररित र दीक्षित समाजले छोरा ठूलो भएपछि धन कमाउला र सुखीपूर्वक जीवन बाँचौंला भन्ने अभिलाषा बुवाआमामा हुनु स्वाभाविक थियो। तर बुवाआमाको यो धोको धोकोमै सीमित रह्यो। सार्वजनिक बसमा आफ्नो गन्तव्य खोजेपछि एकातिर बौद्धिक तप्कामा धनीरामको महत्ताले आकाश छोयो भने अर्कोतिर एकपटक मन्त्री भएपछि जीवनभरका लागि जोहो गर्न पल्केका हाम्रो समाज धनीरामको यो बानी–व्यवहारले धेरैजसो माडीवासी (चितवनको दक्षिणी भेकमा अवस्थित एउटा नगर जहाँ धनीराम पौडेल जन्मेका थिए) भने सन्तुष्ट हुन सकेनन्। स्वभावले नै अन्तर्मुखी भएकाले धैरैजसो कुरा उनको अन्तर्मनमा नै गुम्सिएर बस्यो। नामले धनीराम भए पनि कामले उनी डीआर कहलाए।
गत जेठ ३१ गते बिहान अप्रत्यासित रूपमा र अकल्पनीय ढंगबाट अस्ताएका धनीराम पौडेलसँंगको मित्रताको बखान गर्दा समय, काल र परिस्थितिलाई समायोजन गर्न गाह्रो पर्छ। मन्त्री भएपछि को हुन् यी धनीराम पौडेल (? ) भन्ने आफ्नै पार्टीबीचमा जसरी कूतुहलता छायो, ठीक त्यसरी नै अहिले धनीराम भौतिक रूपमा बिते पनि पत्याउन गाह्रो परिरहेको छ। मिडियाले जतिसुकै भूपू मन्त्री धनीराम पौडेल भनेर उनको अवसानको खबर सम्प्रेषण गरे पनि डीआर पौडेल नै अद्यावधि सबैको मनमस्तिष्कमा जीवित छन्। ऐतिहासिक दस्ताबेजमा सुरक्षित छन्। जनएकता साप्ताहिकका पानाहरू, जहाँ उनले आफ्नो जीवनको पर्याप्त ऊर्जा खर्चेका थिए, पल्टाइयो भने डीआर पौडेलका जीवन्त लिपिबद्ध तस्बिरहरू प्रस्ट रूपमा दृष्टिगोचर हुन्छन्। उनी मार्क्सवादका मझौला खालका ज्ञाता थिए र थिए असल कम्युनिस्ट जो अहिले खोज्दा पनि बडो मुस्किलले भेटिन्छ। यही अवधारणाले हामीबीच मित्रताको पुल बाँधेको थियो सन् नब्बेको दशकतिर। त्यसैले सैद्धान्तिक तथा वैचारिक सम्बन्धलाई एकताका खुबै निर्वाहन गरियो। एउटै टेबुलमा बसेर वर्षौंवर्षसम्म काम गरियो। एउटै प्लेटमा खाइयो र एकै ओछ्यानमा सुतियो। सुखदुःखमा सहभागी भइयो। म बिरामी परेका बेला महिनौंसम्म उनी र उनको परिवारले लगाएको गुन जीवनमा सायदै बिर्सन सकिएला।
गाउँघरमा बूढापाकाको उमेर पुगेपछि आफ्नो मृत्युको घोषणा स्वयं गरेको तथ्यसँग म पनि परिचित छु। तर डीआरजस्तो उच्च सोचको बौद्धिक नेताले यो कालजयी रोगको आभाससम्म नपाउनु पक्कै पनि कहींकतै लापरबाहीको संकेत हो। यस प्रकारको अकर्मण्य सोच बौद्धिक व्यक्तिहरूमा पनि पाइन्छ भन्ने कुराको अर्को उदाहरण हुन्। पेसाले प्राविधिक भए पनि दर्शनका ज्ञाता तथा प्राध्यापक साथी पदम खड्का। चिकित्सकीय सल्लाहलाई निरन्तरता दिएको भए सायद खड्का सरको ज्यान जोगिन सक्थ्यो। त्यस्तै अलिकति निजत्वप्रति सचेत भइदिएको भए डीआरजस्तो बहुमूल्य रत्न यति चाँडो हामीबाट बिदा हुने थिएन। जुन अभिभारा बोक्न उनी जन्मेका थिए ती जिम्मेवारी फत्ते पारी बिराम लिने थिए होला। म यसरी आलोचनात्मक चेत पस्किरहँदा धेरैलाई नराम्रो लाग्न सक्छ। तर गाँठी कुरा के हो भने वास्तविकतासँग पौंठेजोरी खेल्नु हुँदैन भन्ने हेक्का सबैलाई होस् भन्ने सोचको सम्प्रेषण नै डीआरप्रति साँचो अर्थमा श्रद्धाञ्जली हुन्छ।
धनीराम आफ्ना लागिसमेत बाँचेनन्। यसको पुष्टि उनको असामयिक हृदयविदारक दुःखद अवसानले गर्छ।
डीआर पौडेल कसिलो अन्तर्मुखी स्वभावका थिए। मुस्किलले मुख खोल्थे। मन्दगतिको हाँसो उनको सुन्दरता थियो। त्यही हाँसोमा प्रश्नका जबाफ हुन्थे। अन्तर्मुखी स्वभावका व्यक्ति गम्भीर प्रकृतिका हुन्छन् भन्ने कुराको जिताजागता प्रमाण थिए उनी। बहिर्मुखीभन्दा नितान्त भिन्न प्रकारको स्वभाव र चालचलन। ती दुवै चरित्रमा पाउने गुणअवगुण डीआरमा पनि थियो। त्यसैले यहाँ भन्नैपर्ने हुन्छ– अन्तरर्मुखी स्वभावमा रहेका कतिपय अवगुणका कारण उनले वास्तविकता लुकाए वा ठम्याउनै सकेनन्, जो अन्ततोगत्वा उनको देहावसानको कारण बन्यो। स्वयं पनि आफ्नो रोगको आकलन गर्न सकेनन्।
म महेन्द्र मोरङ क्याम्पसमा प्राध्यापन गर्दाको समयमा उनी अखिल छैटौंको अध्यक्ष थिए। प्राध्यापन गर्दागर्दै मैले सिकेको अर्को विधा हो– पत्रकारिता। कहिल्यै नपढेको भाषामा बोल्नुपर्दा, लेख्नुपर्दा र पढाउनुपर्दा जुन कठिनाइको अनुभूति हुन्छ, त्यो म आज चार दशकदेखि भोग्दै आएको छु। सुखद पक्ष के थियो भने बहुदलीय व्यवस्थाको पुनर्स्थापना भइसकेको थियो। मसम्बद्ध कम्युनिस्ट पार्टीले जनएकता साप्ताहिक प्रकाशन गर्न निधो गर्यो, जसमा मेरो भूमिकालाई पार्टीले अहम् ठानियो। सायद त्यतिबेलासम्म म पठनपाठनसँगसँगै पोख्त पत्रकार भइसकेकाले नै होला, यो जिम्मेवारी बहन गर्न पार्टीले मलाई जिम्मा दियो। त्यही जनएकता साप्ताहिकले हाम्रो मित्रतालाई प्रगाढ बनायो, जसको सेतुको रूपमा थिए, अहिलेका शिक्षामन्त्री मित्र गिरिराजमणि पोखरेल। उनी सम्पादक थिए।
सम्भवतः मार्क्सवादी दृष्टिकोणका आधारमा बृहत् व्याख्या तथा विश्लेषण गरी आलेख लेख्ने अभ्यासको सुरुवात डीआरले त्यहींबाट गरेका थिए। समकालीन दौंतरीहरूमा डीआर थोरैमध्ये एउटा मात्र यस्तो पात्र थिए, जो मार्क्सवादी सोचअनुसार परिस्थितिलाई लिपिबद्ध गर्ने हैसियत राख्थे। त्यसैले पछि उनी जनएकता साप्ताहिकको कार्यकारी सम्पादक पनि भए र पार्टीको विशेष विश्वास पात्रका रूपमा आफूलाई वैचारिक नेताका रूपमा स्थापित गरे। नेकपा चौथो महाधिवेशनबाट प्रारम्भ भएको उनको राजनीतिक यात्रा नेकपा (एकता केन्द्र), एकता केन्द्र मशाल हुँदै एकीकृत माओवादीमा पुग्दासम्म कुनै न कुनै रूपमा म पनि सँगसँंगै थिएँ। त्यसैले उनका बारेमा केही कुरा कोट्याउन आज सजिलो भएको छ।
उनीसँगको थुप्रै संस्मरण छन्। सबैलाई यहाँ समेट्न सम्भव छैन। तर सबैभन्दा उच्चकोटीको स्मरणयोग्य संस्मरण एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकमा डीआरले व्यक्त गरेका आफ्ना अवधारणा सम्झिरहेको छु। भनिन्छ– कम्युनिस्ट पार्टी अन्तरविरोधको पोका हो। झैझगडा उसको सनातनी धर्म हो भने विभाजन मौलिक अधिकार हो। त्यसैले ऊ धेरै चलायमान हुन्छ। किनकि, सही अन्तरविरोध नै समस्याको ठोस समाधानको एक मात्र उपाय हो। पोकैपोकाको अन्तरविरोधले भरिएको कम्युनिस्ट पार्टीमा डीआरजस्ता गम्भीर प्रकृतिका युवाले व्यक्त गरेको विचारलाई जसरी नेता प्रचण्ड आफ्नो सम्भाषणमा समेत उधृत गर्थे, त्यसबाट म औधि प्रभावित थिएँ। किनकि, त्यसले उनको वैचारिक उच्चता प्रदान गथ्र्यो। डीआरले सधैं सबैप्रति उच्च व्यवहार गरेकाले उनीप्रति स्वस्फूर्त रूपमा सम्मान भाव स्वाभाविक थियो।
मार्क्सवादको पहिलो पुस्तकदेखि के सिकाइन्छ भने कम्युनिस्टहरू आफ्ना लागि बाँच्दैन रे ! ऊ जे हो त्यो सबै पार्टीको हो। देशको हो। समाजको हो। हो पनि, उसको धनसम्पत्ति कहाँसम्म भने शरीरसमेत पार्टीको भएकाले आफ्ना लागि बाँच्ने कुरै भएन। कम्युनिस्टहरूको यो कुरालाई हिन्दीको एउटा भनाइले पनि पुष्टि गर्छ, ‘अपने लिए तो कुता भी जी लेता हैं। जिना हैं तो दुसरे के लिए जियो !’ यो भनाइ डीआरमा हुबहु लागू हुन्छ। उनी आफ्ना लागिसमेत बाँचेनन्। शरीरको ख्याल गर्नु त धेरै परको कुरा हो। यसको पुष्टि उनको असामयिक हृदयविदारक दुःखद अवसानले गर्दछ। त्यसैले कम्युनिस्टिक सोचअनुसार निजत्वमाथि लागेको प्रश्नले कहीं न कहीं उनको देहावसानसँग अन्तरनिहित त छैनन् भन्ने प्रश्न पनि उब्जेको छ। यस सम्बन्धमा छलफल हुन आवश्यक छ।