गलत

गलत

म एक उमेर पुगेको पुरुष हुँ। हुन त थाहा छैन कति उमेर पुगेपछि एउटा पुरुषको उमेर पुग्छ। तपाईंलाई थाहा छ ? सोच्नुभएको छ ? होस्, पछि कुरा गरौंला। तपाईं मलाई आफ्नो सबैभन्दा मिल्ने साथी मान्नुहुन्छ। याद राख्नुहोस्, सबैभन्दा मिल्ने साथी। बौद्धिक देख्नुहुन्छ, नैतिक सोच्नुहुन्छ। खुब इज्जत गर्नुहुन्छ। सबैभन्दा मिल्ने साथी हुन्, अरू कस्ता कस्ता साथीभन्दा माथि हुनुपर्छ तपाईंलाई थाहै छ। तपाईं मेरा सारा सुख, दु :ख, गल्ती, उपलब्धि सुन्नुहुन्छ। आफू रुँदा अँगाल्नुहुन्छ। मेरो मोबाइल खोल्ने गोप्य प्याटर्न पनि थाहा छ। हामी त्यति नजिक छौं।

एक दिन चिया गफमा मैले एक्कासि तपाईंलाई अँगालेर भनेँ, ‘म १३ वर्ष हुँदा एक छिमेकी बैनीसँग गलत गरेको छु, छुन नमिल्ने गरी छोएँ, छुन सकिने भन्दा बढी छोएँ।’

झस्किनुभयो ? तपाईंको सर्टको काँध भिजेछ। अब त्यही अँगालोको शरीर फेरि छुन सक्नुहुन्छ ? मैले किन गरेछु, के के चाहिँ गरेछु, अब के सोच्छु, मलाई तपाईं कति बेर सुन्न सक्नुहुन्छ ? नसुनी उठ्नुभयो ? अबदेखि मलाई कसरी हेर्नुहुन्छ ? म अब तपाईंको साथी रहन्छु कि रहन्न ?

सोच्दै गर्नुहोस्।

म हुनचाहिँ उमेर पुगेकी महिला हुँ। एकछिन मेरो उमेर नपुग्दैको कथा सुनाउँछु है त ?

लगभग २० वर्षकी हुँदासम्म मलाई कुनै पुरुष शरीर नजिक हुनुले खास तानेन। प्रेम गर्नेहरू नै नजिक आउँदा पनि शरीरले खास मीठो प्रतिक्रिया दिँदैनथ्यो।

म अँध्यारो कोठाभित्रकी एउटी सानी केटी देखेर खुब आत्तिन्थेँ। आफ्ना दुवै हातले दुवै खुट्टा चपक्क समातेर डल्लो भकुन्डो बनेकी केटी। उसलाई आफू किन डराएको भन्नेसम्म थाहा थिएन। यति थाहा थियो, कतै टाढा भाग्न पाए खुब शान्ति भेटिन्थ्यो। डराएको बेला जसलाई पनि दौडेर भाग्न मन लाग्दो रहेछ। अचम्म, डराएकै बेलाचाहिँ एक पाइला नसारी आफैंलाई बेस्सरी पक्डेर बस्छ मान्छे।

नेपाली बोल्नसमेत राम्ररी सिकिनसकेको उमेरमा हेरेको हिन्दी फिल्म अहिले सम्झिँदा कस्तो देखिन्छ ? त्यही फिल्मजस्तै धमिलो सम्झिन्छु। ३ क्लासको अन्तिम जाँच सकिएर बिदा थियो। ७ कक्षाको जाँच सकेका छेउको घरका गिरी दाइ पनि बिदामा हुनुहुन्थ्यो। मलाई दाइ खुब मन पथ्र्यो। हाम्रा आमाजस्तै हामी पनि खुब मिल्थिम्। दाइ हाम्रोमा आइराख्नुहुन्थ्यो। उमेर नमिले पनि मसँग खेल्नुहुन्थ्यो। आफ्नै बहिनीजस्तै माया गर्नुहुन्थ्यो।

त्यो दिन पनि दाइ घर आउनुभयो। म तिमीलाई चेस खेल्न सिकाउँछु नानी भनेर। चेसमा रस पसेन।

हामी टीभी हेर्दै बस्यौं। मध्य चैतको बेला, तराईको गर्मी उचाइमै थियो। म एउटा फ्रक मात्रै लगाएर बसेकी थिएँ। निदाउनै लागेकी थिएँ। एक्कासि दाइलाई खै के लाग्यो, दाइले मेरो हात तानेर आफूतिर सार्नुभयो। म यसै अर्धनिद्रामा, के कसो केही भनिनँ। त्यसपछि दाइका हात र ओठ कताकता गए, कहाँ कहाँ कसरी छोए, राम्ररी याद पनि छैन।

सायद मेरो शरीरले अझै सम्झिने हिम्मत गर्न सकेको छैन। खुब असजिलो भएको थियो, यत्ति याद छ। ठ्याक्कै तीन दिन अगाडिको सपनाजस्तो। केही त भयो, अलिअलि याद पनि छ, के भयो भनेर। तर कहाँबाट सुरु भएर कहाँ सकियो, दिमागको रिल जति घुमाए पनि प्रस्ट नहुने।

खासमा त्यही दिन त मलाई डर पनि लागेको थिएन। कस्तो महसुस गर्दा ठीक हुन्छ पनि थाहा भएन। त्यहाँ न मसँग जबर्जस्ती थियो न मेरो सहमति थियो। उमेर न प्रतिकार गर्न सक्ने थियो, न त सहमति बुझ्न सक्ने। अप्ठ्यारोचाहिँ विचित्रै अप्ठ्यारो लाग्यो।

संयोग, त्यो दिनको तीन दिनपछि अंकलको धनकुटा सरुवा भएछ। जाने दिन पूरै परिवार बिदाइको लागि आयो। त्यसपछि मैले दाइलाई फेरि कहिल्यै भेटिनँ। अनि कति वर्ष, त्यो दिन किन अप्ठ्यारो भएछ, केही मेसो नपाई बित्यो।

किशोरी भएर भर्खर बाल शब्दले छोडेपछि थाहा पाएँ- म यौन बुझ्दै नबुझ्ने उमेरमा यौन हिंसाको सिकार भएछु।

एकाएक एक्लै हुँदा खुब डराउन थालेँ। त्यही दिन त्यति डराएकी थिइनँ, जति पछि डराउन थालेँ। उमेरले प्रेम अलिअलि बुझ्न त थाल्यो। प्रेममा परेँ पनि। तर माया लाग्ने मान्छेले नै मायाले छुँदा पनि ठ्याक्कै छातीमा यसरी पोल्थ्यो, मानौं ६ वर्षपहिले लागेको चोटले भर्खर घाउ बनाउँदै छ।

जसरी सुन्ने कान भेटेपछि मलाई गलत सुनाउने हिम्मत आयो, त्यसरी बुझ्ने मन भेटेपछि कसैलाई गल्ती सुनाउने हिम्मत पनि आउँछ कि ?

दाइसँग खुब रिस उठ्थ्यो। मेरो फाइदा उठाए। दाइ त ठूला थिए। मेरो उमेरको माया गरेनन्। म उनलाई घृणाले मात्रै सम्झिन्थेँ। दिनचर्या सामान्य थियो, मन सामान्य हुन सकेन। म आफैंले केही गल्ती गरेँ कि, कसरी आफूलाई त्यस्तो हुन दिएँ ! आफंैलाई सोध्दा जवाफ नपाएर कहिलेकाहीँ सास फेर्न खुब गाह्रो हुन्थ्यो। चिच्याउन मन लाग्थ्यो। तर बोल्नेसम्म हिम्मत थिएन।

लाग्थ्यो, सुनाउने ठाउँ कहीँ छैन। कति वर्ष भ्रममा बाँचिसकेपछि थाहा भयो, सुनाउन कति धेरै ठाउँ रहेछन्। अनुहार नदेखिने कति धेरै कान रहेछन्।

सामाजिक सञ्जालका कन्फेसन पेजमा आफ्ना लाग्ने कथा भेट्न थालेँ। आफ्नो डर अरूका शब्दमा पढ्न थालेँ। एक्कासि मानौं मनबाट ठूलो ढुंगा खस्यो। ती कथाका सारा शब्द र सान्त्वना, मानौं मेरै लागि थिए।

चेतनाको एउटा स्तरले नछुँदासम्म, आफ्नोजस्तै घाउ अन्त कतै पनि छ भन्ने थाहा मात्रै हुनुले पनि कति शीतल गराउने रैछ। आफू एक्लो लाग्न छोडेर होला।

अब म केही वर्ष लुकाएको घाउसहित आफ्नो बालापन सुनाउन सक्थेँ। सुनाउन थालेँ। आफ्नो उल्झन, डर, छटपटी, पत्ता लागेको समस्या अनि म आफंैले खोजेका हल। लाग्थ्यो, अब बस् सबै बच्चीलाई आफूभन्दा ठूलाले मायाले ओठ चुम्नु र ओठ चुस्नुसम्मको फरक बुझाउँछु। सबै आमालाई यस्तो हुन्छ है भन्नेसम्म थाहा दिन्छु। त्यति गरे त कसैले पनि म जसरी समयअगावै जवान हुनुपर्ने थिएन। अनि समय आएपछि जवानीलाई बिर्सनुपर्ने थिएन। म हरतिर पीडित सुन्न हिँडिरहेँ।

एक दिन एकजना पुरानो साथीसँग कुरा हुँदै थियो। मेरो यात्राबारे सबै बुझेकी उसले खै के प्रसंगमा सोधी, ‘कोही मान्छे कसरी त्यति गिर्न सक्छ होला है ? बहिनी भन्ने मान्छेलाई यार...। अहिले त्यो केटा के सोच्छ होला ? पछुताउँछ होला कि नाइँ ? ’

मैले भनेँ, ‘खै, सोचेकै छैन।’

तर बेलुका सोचेको सोच्यै भएछु। साँच्चि ती दाइ अहिले के सोच्छन् होला ! त्यो बेला के सोचे होलान् ! पछुतो छ होला कि नाइँ ? मैले यी प्रश्नको जवाफ आफूलाई त के, त्यही दाइको सबैभन्दा मिल्ने साथीलाई सोधे पनि पाउँदिन थिएँ। त्यही जवाफ छैन भन्ने सत्य बोकेर आएको प्रश्नले मलाई थुप्रो जवाफ दिएर गयो।

साँच्चै, मेरा लागि त्यति जरुरी प्रश्नको जवाफ दाइकै सबैभन्दा मिल्ने साथीबाट पनि म पाउँदिनँ। किनकि के गरेँ, दाइले कसैलाई सुनाउन मिल्दैन। मन पोखिसकेपछि ‘कठै ! बिचरी...!’ सुन्न पाइन्छ भन्ने थाहा हुँदा त मेरो कथा ओठसम्म आइपुग्न कति वर्ष हिच्किचायो।

दाइलाई त थाहा थियो, उनलाई नथुकी सुनिदिने कोही छैन। थाहा छैन दाइ पछुताउँछन् कि नाइँ, तर हजार घाउ कोट्याइसकेर हजार नै पात्र चिनिसकेपछि मलाई यत्ति त थाहा थियो- दाइजस्ता हजारौं छन्। हजारमा कम्तीमा केही सयलाई त पछुतो छ होला। पछुतोले निसासिन्छन् होला। अनि पश्चात्ताप गर्ने मन पनि होला।

एक पटक कलेज ग्रुपमा केटाकेटी हुर्किंदाका अलग अलग अप्ठ्याराबारे कुरा हुँदै थियो। एकजना साथीले भन्यो, ‘केटीहरूलाई सजिलो छ नि यार। केटीहरू जति खुलेर आमासँग कुरा गर्छन्, बाउसँग कुरा गर्ने हामीलाई त्यस्तो वातावरण नै हुँदैन। महिनावारीदेखि परिवार नियोजनको साधनसम्म, जसरी आमा–छोरीको कुरा हुन्छ, त्यसरी बाउ–छोराको कहिल्यै हुन पाउँदैन। हाम्रो शरीरमा भइरहेको चेन्जलाई कसरी लिने, हामी बुझ्नै सक्दैनौं। कति पटक शरीरले के चाहेको हो, के गरेको हो, थाहै हुँदैन। सोध्न मिल्ने ठाउँ पनि भेटिँदैन।’

उसले भनेजस्तो सबै केटीलाई सजिलो त छैन तर केटाहरूलाई गाह्रोचाहिँ छ। सोचौं न, दाइ पनि १३÷१४ वर्षका त थिए। के भएर त्यस्तो गरे होलान् ? भर्खर भर्खरै अनौठा चाहना देखाउन थालेको शरीरबारे दाइले कोहीसँग कुरा गर्न पाए होलान् कि नाइँ ? के चाहना देखाएको बुझे होलान् कि नाइँ ?

हाम्रा हरेक बेथिति निराकरणमा मुख्य समस्या कहाँनेर भयो भने हामी सधैं पीडित, कसरी पीडित भयो, उसलाई के लाग्थ्यो, के लाग्छ मात्रै सोचिरह्यौं। कति वर्ष मैले पनि त्यही गरेँ।

मलाई अरूलाई आफू बन्न नदिने उपाय त थाहा भयो, कसैलाई कसरी दाइ बन्न नदिने ध्याउन्न भएन। ध्याउन्न हुन्थ्यो भने पनि मलाई उपाय थाहा थिएन। किनकि म दाइ हैन। म कहिल्यै दाइ भइनँ। मैले कोही दाइलाई कहिल्यै सोधिनँ। कहिल्यै सुनिनँ।

जानेर, बुझेर, आपराधिक मानसिकताले कुनै लक्का जवानले कसैलाई जबरजस्ती गर्छ, उसको लागि जति कडा सजाय माग गर्न पनि जायज होला। तर कुनै १३ वर्षको बच्चाले कोसँग, कसरी, कस्तो व्यवहार गरूँ भन्नेसम्म जान्दैन भने त्यहाँ सायद वयस्क, समझदार भनिनेहरू पो चुके कि ? १३ वर्षमा आफ्नो शरीरले सजिलोसँग बुझ्न पनि नसक्ने बदलावले गराएको गल्तीको कारण जिन्दगीभर निसास्सिएर बाँच्न कति असजिलो हुन्छ होला ! पश्चात्तापले खुब पोल्ने मन सुनाउन कान नभेटेरै कति नदेखिने घाउ बाँच्छन् होला।

हुन त हामीले बाल यौन हिंसा हुन्छ भन्ने पनि धेरै ढिला स्वीकार गर्‍यौं। ढिलै भए पनि स्वीकारचाहिँ गर्‍यौं। विरोध गर्दै अभियान पनि चलायौं। तर यो सबको कारण केलाएनौं। के भयो, थाहा भयो। किन भयो, वास्ता भएन।

हाम्रा वरपर न गल्ती सुनिदिने कान छन्, न त सुध्रिने मौका दिने मन। यसो हुँदा समस्याको रूखको हाँगा त काटिए, जरा जहाँको त्यहीँ छ। गल्ती सुनेर बुझिदिने सहन क्षमता हामीले कहिल्यै बनाउन सकेनौं। त्यसैले घाउका लागि मलम त बने, यो समस्याले आफ्नो रोग प्रतिरोधात्मक खोप बनाउन सकेन।

अब सुनौं, सबथोक सुनौं। गलत गरिएकाहरूको कथा सुनेर उनीहरूप्रति पूर्वाग्रही नबनौं। खुला विचार बोकेर गलत गर्नेलाई पनि एक आँखर सुनौं। आफंैमा सहीभन्दा त्यो सही सुन्दर हुन्छ, जो गलत सुध्रिएर बनेको हुन्छ। सही र गलतको बीचमा पिल्सिएर हामी कति मान्छे बन्नै बिर्सन्छौं। जसरी सुन्ने कान भेटेपछि मलाई गलत सुनाउने हिम्मत आयो, त्यसरी बुझ्ने मन भेटेपछि कसैलाई गल्ती सुनाउने हिम्मत पनि आउँछ कि ?

दाइ ! जहाँ छौ, यो कथा पढेर दाइको ठाउँमा आफूलाई पाउने जो हौ, म बुझ्छु। कति वर्ष आत्तिएर, डराएर बसेको मेरो मनले तिमीलाई माफ गर्न गाह्रो पर्ला। बुझ्ने कोसिसचाहिँ गर्नेछ। सायद अब तिमीलाई थाहा छ- जे गरेँ, किन गरेँ !

तिमीलाई त्यो जरा जन्मिने कारण थाहा छ होला। त्यो रोग प्रतिरोधात्मक खोपको फर्मुला पनि थाहा छ होला। तर अपराधी भनेर थुकिने, अलग्याइने डरले कसैलाई भन्न सकेनौ होला। अब मलाई भन। मलाई भन्ने आँट छैन, सुन्नेलाई भनिदेऊ। अनि तिमी, अरू कसैको सुन्ने बनिदेऊ। मलाई थाहा छ- तिमीलाई न तिम्रो छोरालाई आफूजस्तो पछुताउने जीवन दिन मन छ, न छोरीलाई मेरोजस्तो डराउने जीवन।

मलाई अब अरू घृणा बोकेर बाँच्नु छैन। तिमी मलाई आजसम्म दुख्ने घाउको कारण भनिदिएर औषधि बनाउन सघाउने मान्छे हौ। थाहा हँदाहुँदै तिमीलाई जिन्दगीभर सजाय होस्, निसास्सिनु परोस्, त्यस्तो कामना गर्दिनँ। तिमीलाई अनुरोध- छोरा बचाइदेऊ ! आफू बन्न नदेऊ। समाजलाई अनुरोध- सुनिदेऊ, बिनाआलोचना। दाइलाई मान्छे रहन देऊ। घृणा नगर। नमार।

किनकि, अपराधी मर्दा अपराध मर्दैन। अपराधको प्रश्न मर्छ, कारण मर्छ, त्यो पनि जवाफ आफैंसँग लिएर।

(लेखक बीए एलएलबी अध्ययनरत छन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.