भुटान फर्कने आश
पुनर्बासले शिविर खाली छ। ‘पाँच वर्ष भयो, आम्दानी हुने केही काम गर्न पाएको छैन’, उनी भन्छन्, ‘अब गर्न पनि सक्दिनँ। शिविरमा मान्छे पनि छैनन्, कसले किन्छ र !’
हाताको सहाराबिना हलचलसमेत गर्न नसक्ने लिम्बू जसोतजो गरेर भए पनि आफ्नो दैनिकी चलाइरहेका छन्। चार पाउ टेकेर आफ्ना लागि खाना आफैं बनाउँछन्। उनी बसेरै भए पनि घर चिटिक्कै पार्ने गर्छन्। लिम्बू फोहोर घरमा बस्नै सक्दैनन्। बैंस छैन्जेल त उनी अरूको घर फोहोर छ भने पनि बढारिदिन्थे।
बुढेसकालको सहारा कोही छैन उनको। भुटानबाट दुइटी श्रीमतीका साथ उनी नेपाल आएका थिए। छोरा छैनन्। तीनवटी छोरी छन्। तर २७ वर्षअघि भुटानी शासकले दमन गर्दा उनको परिवार चिल्लबिल्ल भयो। छोरीहरू भुटानमै छोडिए। सँगै नेपाल आएकी दुई श्रीमती पनि अर्काकै देशमा बिते। शिविरमा केही आफन्त थिए। पुनर्बासका क्रममा अमेरिका पुगिसके।
सबैले छाडेपछि आफ्ना लागि आफैं नगरेर के गरून् त लिम्बू ? ‘दुई मुठी श्वास भइन्जेल त बाँच्नै पर्यो’, उनी भन्छन्, ‘बाँच्नकै लागि भए पनि सकिनसकी आफ्ना लागि आफैं खाना बनाउँछु।’ उनी बिहानको खाना ८ बजेसम्म खाइसक्छन्। साँझचाहिँ रोटी खान्छन्। त्यो पनि अपराह्न ४ बजेसम्म खाइसक्ने सेड्युल छ पूर्णबहादुरको।
साँझ र बिहानबाहेक अन्य समयमा पनि भोक त लाग्छ उनलाई तर खाने ल्याकत छैन। दातृ निकायले अशक्तलाई तीन महिनाका लागि सात हजार रुपैयाँ दिन्छ। यसले बिहान र बेलुकालाई नै पुग्न धौ–धौ छ। ‘हिँड्न पनि राम्ररी सक्दिनँ। काम पनि गर्न सक्दिनँ। त्यही संस्थाले दिएको पैसाले खानु परेको छ’, पूर्णबहादुर भन्छन्, ‘बिहान बेलुका पनि फारो गरेर खाएन भने पुग्दैन।’ कहिलेकाहीँ त राति बेस्मारी भोग लाग्छ रे उनलाई। ‘भोक लागे पनि थाम्नै परेको छ’, उनी भन्छन्।
बेलाबेला त उनी एक्लै डाँको छाडेर रुने गरेका छन्। ‘कहिलेकाहीँ राति सोच्दासोच्दै धेरै सोचिँदो रहेछ’, उनी भन्छन्, ‘रुन मन लाग्छ। डाँको छोडेर रुन्छु। अलिकति भए पनि मन शान्त हुन्छ।’
छाप्रोदेखि बाहिर निक्लनसमेत नसकेका कारण होला, २७ वर्षदेखि समस्यासँग पौंठेजोरी खेलेको शिविर बिरानो लाग्न थालेको छ आजकाल, उनलाई। ‘बिहानदेखि साँझसम्म शिविर गुम्ने र दाजुभाइसँग गफ गर्ने गथ्र्यौं ! अहिले त सबै दाजुभाइ विदेशतिर लागिहाले’, उनी भछन्, ‘म पनि अहिले त घरदेखि बाहिर निक्लनसमेत सक्दिनँ। त्यहीँ दमक नपुगेको त कति भो कति। कहिलेकाहीँ सिटी रिक्सामा अस्पतालसम्म जान्छु तर कहीँ नगई फर्किहाल्छु।’
उनलाई अचेल त शिविर सुनसान र विरक्तै लाग्न थालेको छ। ‘अहिले त घरदेखि बाहिर जाँदा गफगाफ गर्ने मान्छे पनि छैनन्’, उनले भने, ‘पहिला त शिविर रमाइलै थियो। सबै अमेरिका गए। कोही छैनन्। अहिले त शिविरमा विरक्तै लाग्छ।’
उनले पनि अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुकमा जाने अवसर नपाएका भने हैनन्। पुनर्बास प्रक्रियाबाट उनले पनि तेस्रो मुलुक जाने अवसर पाएका थिए। अमेरिकामा रहेका आफन्तले पनि उनलाई ‘यतै आइज’ त भनेकै हुन्।
तर उनलाई तेस्रो मुलुक जाने मोह छैन। ‘अब यो उमेरमा उतै मर्न किन जानु र ! त्यहाँ गएर पनि के नै गर्न सक्छु र म बूढोले’, उनी भन्छन्, ‘पाए भुटान जाने हो। नपाए यहीँ बस्ने।’
एकैछिन उनको गला अवरुद्ध हुन्छ। आँखाभरि आँसु टिलपिल देखिन्छ। त्यसपछि सम्हालिँदै उनी कुराकानी गर्नतर्फ लाग्छन्। ‘भुटान जानलाई कतिपटक हामीले आन्दोलन गर्यौं। मेची पुलमा भएको आन्दोलनमा त साथीहरू पनि मरे’, निराशाको भावमा उनी भन्छन्, ‘त्यत्रो आन्दोलन गर्दा त भएन, अब के होला र !’
तर एकै छिनमा उनको अनुहारमा केही आशाको भाव झल्किन्छ। स्वदेश फर्कने सानो आशाको त्यान्त्रो जीवितै छ उनीभित्र। पुनर्बास प्रक्रिया बन्द भएपछि शिविरमा रहेका उनीसँगै भुटान फर्कन चाहनेले अब स्वदेश फर्कन पाइन्छ कि भन्ने झिनो आशा बोकेर बसेका छन्। भन्छन्, ‘अब त विदेश जान पनि रोकियो। हामीलाई भुटान लान्छ कि त !’
२७ वर्षअघिको भुटानको दिनचर्या अहिले पनि ताजै छ उनीसँग। भुटानको थिम्पुमा उनीसँग अथाह सम्पत्ति थियो। पशु चौपाया त्यस्तै थिए। त्यहाँको लोभले अहिले पनि उनलाई तान्छ। ‘जग्गा त कति थियो कति’, उनी भन्छन्, ‘त्यहीँको उब्जनीले खान पनि पुग्थ्यो।’
उनी अब अस्ताउन लागेको घामजस्तै भएका छन्। उमेरले डाँडा काट्दै गयो। अर्काको शरणमा शिविरमा बसेको पनि २७ वर्षभन्दा बढी भइसक्यो। दातृ निकायले क्रमश : साथ छाड्दै छन्। दातृ निकायले जस्तै निर्दयी स्वास्थ्यले पनि क्रमश : साथ छाड्दै छ। ‘स्वास्थ्यले साथ नछाडेको भए त संस्थाले छाडेर त केही हुने थिएन। आफैं गरिखान सकिन्थ्यो’, उनी भन्छन्, ‘तर हात घुँडा चल्न छाडेपछि कसैको केही नलाग्ने रहेछ।’
जीवनको अन्तिममा एक पटक भए पनि आफ्नो जन्मथलो हेर्ने रहर छ रे उनलाई। आफ्नो भन्नु भुटानमा तीनजना छोरी छन्। अहिले सम्पर्क हुन पनि हम्मेहम्मे पर्छ।
छोरीबाहेक कोही नभएका उनलाई जन्मथलोमा छोरीहरूकै सहारामा बस्ने रहर छ रे ! ‘भुटानमा तीनवटी छोरी छन्। कहिलेकाहीँ कुरा हुन्छ’, उनी भन्छन्, ‘उनीहरूसँग कुरा गर्दा घरको याद आउँछ। जन्मेको ठाउँमै अन्तिम श्वास फेर्ने मन छ।’
शिविरमा पट्यारलाग्दो एक्लो दैनिकीदेखि दिक्दार छन् उनी। ‘कहिलेकाहीँ त रहेको एक मुठी श्वास पनि फ्याट्ट गए हुन्थ्योजस्तो लाग्छ’, उनी भन्छन्। २५ वर्षदेखि छाप्रोमै बितिरहेको छ जिन्दगी। दातृ निकायले बनाइदिएको छाप्रो पनि भत्कनै लागेको छ। बर्खामा पानी चुहिएर बसिसक्नु हुँदैनथ्यो। तर यसपटक भने सहयोग गरेरै भए पनि छानो टालटुल गरेका छन्, पूर्णबहादुरले।
शरीरको अवस्था निकै नाजुक छ। एउटा आँखा पटकै देख्दैनन्। अर्को पनि चस्मा लगाएर मात्रै। उनको घुँडा बेस्मारी दुख्छ। तर उपचार गर्न पैसै छैन, उनीसँग। ‘धेरै बिरामी छु। उपचार गर्न समस्या छ’, भन्छन्, ‘पैसा मागौं भने आफ्नो भन्नु कोही छैन। अरूका’पो छोराछोरी अमेरिका छन्।’ पहिला त शिविर बाक्लो हुँदा पहाडबाट जडीबुटी ल्याएर शिविरमा बेच्थे उनी। आम्दानीको स्रोत थियो त्यही व्यापार। तर अहिले पुनर्बासले शिविर खाली छ। ‘पाँच वर्ष भयो, आम्दानी हुने केही काम गर्न पाएको छैन’, उनी भन्छन्, ‘अब गर्न पनि सक्दिनँ। शिविरमा मान्छे पनि छैनन्, कसले किन्छ र !’