झापामा पुस्तकालय अभियान

झापामा पुस्तकालय अभियान

झापामा उदाएका (केही अस्ताएका समेत) पुस्तकालय अभियानको यहाँ चर्चा गरिएको छ  :

हाम्रो सुदूरपूर्वी जिल्ला झापा। शिक्षा क्षेत्रमा अग्रणी रहेको यो जिल्लाका धेरै युवा उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय आइपुग्ने तथ्यांकले प्रमाणित गर्छ। २०६८ को जनगणनाअनुसार झापा जिल्लाको साक्षरता प्रतिशत ७१.९ छ। यो प्रदेश नम्बर १ मा पर्ने जिल्लामध्ये दोस्रो बढी साक्षरता भएको जिल्ला हो। राजनीतिक रूपले पनि यो जिल्ला उर्वर मानिन्छ। २००७ सालको क्रान्तिदेखि २०६२/६३ को जनआन्दोलनसम्म झापा जहिल्यै जुर्मुरायो। साहित्यिक क्षेत्रका धेरै स्रष्टा जन्मिएको यस जिल्लामा पुस्तकालय अभियान पनि उत्तिकै सशक्त रहेको विगत पाइन्छ। यो लेखमा झापामा उदाएका (केही अस्ताएका समेत) पुस्तकालय अभियानको चर्चा गरिनेछ।

भद्रपुर पुस्तकालय  

 झापामा आज साहित्य जुन गतिमा विकास भयो, त्यसलाई मलजल गर्ने श्रेय भद्रपुर सार्वजनिक पुस्तकालयलाई दिनुपर्छ। २००७ सालमा भद्रपुर हाइस्कुलमै साहित्यकार महानन्द सापकोटा, दानबहादुर खालिङलगायत मिलेर यो पुस्तकालय खोलेका थिए। यसको व्यवस्थापन जिम्मा भने तुलसीप्रसाद आचार्यले लिएका थिए। झापाका शिवशंकर गुप्ताले २००७ सालको अन्त्यतिर भद्रपुरमै एक कट्ठा जमिन दान दिएपछि स्थानीयवासी मिलेर जनसहभागिता जुटाई भवन निर्माण गर्न थालियो। प्रजातन्त्र आएको मौकामा स्थानीय व्यक्तिहरूको व्यापक सहभागितामा साहित्यका पुस्तक जम्मा गरियो र पढ्ने माहोल निर्माण भयो। आफ्नै १० धुर जग्गामा दुईतले पक्की भवन रहेको पुस्तकालय राजनीतिक खिचातानीले धराशायी भएको छ। माथिल्लो तल्लामा पुस्तक संकलन भए पनि यसको तल्लो तलामा बिचौलियाले कब्जा जमाएर व्यापार गरिरहेको देखिन्छ। हाल पुस्तकालय बन्द अवस्थामा छ तर भद्रपुर नगरपालिकाले आफूले जिम्मा लिई पुस्तकालय सञ्चालन गर्ने बताउँदै आएको छ।

 त्रिभुवन आदर्श पुस्तकालय  

 खजुरगाछी गाविस–६ को गौरीगन्ज बजारमा अवस्थित यो पुस्तकालय २०११ सालमा कर्णेल भक्तबहादुर बस्नेतको अगुवाइमा खुलेको हो। आफ्नै घरलगायत करिब साढे ६ बिघा जग्गा रहेको कुरा डम्बर घिमिरेले नवरंगको पहिलो अंकमा उल्लेख गरेका छन्। गौरीगन्ज बजारमा दुई कट्ठा जग्गामा एकतले पक्की भवनमा पुस्तकालय सञ्चालित छ। २०१० सालमा पुस्तकालय विधान बनाएर अर्को वर्षदेखि सञ्चालन सुरु गरिएको थियो। तीन हजारभन्दा बढी संकलन भइसकेको यो पुस्तकालयले साहित्यिक गतिविधि गरिरहेको समाचार बेलाबखत सुनिन्छ। ‘प्रयास’ नामक साहित्य अंक प्रकाशकका रूपमा पनि त्रिभुवन आदर्श पुस्तकालयलाई भेटिन्छ। भारतीय सिमाना नजिकै अवस्थित यो पुस्तकालयलाई हाल गौरीगन्ज गाउँपालिकाले बजेट छुट्याएर सहयोग गर्न थालेको छ। सभापतिसमेत नौजनाको कार्यकारिणी समितिले पुस्तकालयलाई नेतृत्व दिइरहेको पाइन्छ। नेपाली भाषाको प्रचारप्रसारका लागि यसले प्रयास साहित्य अंकमा काम गरेको कुरा त्यसको सम्पादकीय पढ्दा छनक पाइन्छ। साहित्यकारसँग मिलेर काम गर्दा पुस्तकालयमा पाठकको अभाव नहुने कुराको ग्यारेन्टीका लागि पनि यसले साहित्यिक क्षेत्रसँग हातेमालो गरेको हुनसक्छ। तर पछिल्लो समय पुस्तकालयमा पाठक खासै आउँदैनन्।

 विकास पुस्तकालय  

 २००७ सालको क्रान्तिपछि झापाले राजनीतिक उद्देश्यले बसाइँ सरेर आउने केही व्यक्तिलाई आ श्रय दियो। पहाडमा शिक्षित र धनाढ्य परिवार झापामा अवसर देखेर यतै झरे। यीमध्ये कतिपयको उद्देश्य झापालाई कार्यस्थल बनाएर राजनीति गर्नु र सत्तासम्म पुग्नु थियो। यसका लागि उनीहरू सबैखाले सामाजिक कार्य गर्ने तत्परता देखाउँथे। भरतबाबु प्रसाईं, सुरेन्द्र प्रसाईं, रामबाबु आदि सामाजिक अभियन्ता मिलेर २०१५ सालमा रामबाबुलाई अध्यक्ष बनाएर उनकै घरमा विकास पुस्तकालय खोले। शान्तिनगर क्षेत्रमा विकास पुस्तकालयले व्यक्तिहरूलाई संगठित मात्र गरेन, २०१७ पुसको महेन्द्र शासन सुरु भएपछि राजनीतिक गतिविधि अगाडि बढाउन स्थान उपलब्ध गरायो। पढ्ने बहानामा विकास पुस्तकालयबाट नेपाली कांग्रेस र अन्य प्रजातान्त्रिक शक्तिले रणनीतिक उद्देश्य प्राप्तिका लागि थुप्रै काम गरे। अघिल्लो पुस्ताका व्यक्तिहरू रामबाबु, नहुस प्रसाई आदि यस संस्थालाई नेतृत्व दिन्थे भने सुरेन्द्र प्रसार्इं, तेजराज खतिवडा, केशव राजभण्डारी, जय बराल, वसन्त परियार, भीष्मराज निरौलाजस्ता युवालाई पुस्तकालय सञ्चालनको जिम्मा दिन्थे।

दिगोपनका लागि गाउँका सबै घरमा चन्दा संकलन गरिएको थियो भने साहित्यिक पुस्तकसमेत सहयोगबाटै संकलन गरिएको थियो। पुस्तकालय सञ्चालनले मात्र दिगोपन नआउने र पाठकको पाइला पुस्तकालयतर्पm डोर्‍याउन २०२० सालमा जय बराल, तेजराज खतिवडा मिलेर ‘आँखो’ नामक साहित्यिक पत्रिका सम्पादन गरी प्रकाशन गरेका थिए। ‘आँखो’को प्रकाशनगृह भएका कारण पनि कतिपयले यस पुस्तकालयमा पुग्नुपर्ने र सहयोग गर्नुपर्ने धारणा बनाउथे। शान्तिनगर क्षेत्रमा साहित्यिक जागरण ल्याउन ‘आँखो’ साहित्यिक पत्रिका र विकास पुस्तकालयले सँगसँगै उदाहरणीय काम गरे। यो पुस्तकालय र ‘आँखो’ पत्रिकाको स्वामित्व हाल शान्तिनगरको शान्ति आदर्श माविसँग पुगेको छ। राज्य पुन :संरचना भई शान्तिनगर हाल बुद्धशान्ति गाउँपालिकाअन्तर्गत परेको छ भने विकास पुस्तकालय पनि यसै गाउँपालिकाले हेर्ने क्षेत्राधिकारभित्र पर्न गएको छ।

 लेखनाथ वाचनालय तथा पुस्तकालय   

२०३७ सालमा समाजसेवी डिल्लीराम खतिवडा संयोजक रहेको तदर्थ समिति गठन गरी पुस्तकालय सुरुआत भएको हो। तत्कालीन चन्द्रगढी गाविस भवनसँगै पुस्तकालय सेवारत छ। आफ्नै भवन र जग्गा भएको यो पुस्तकालयले कविशिरोमणि लेखनाथ पौड्यालको सालिक पनि निर्माण गरेको छ। भाषाविद् चूडामणि रेग्मीलगायत स्थापनाकालदेखि नै सक्रिय थिए। पाँच हजारभन्दा बढी पुस्तक संकलन भएको यस पुस्तकालयका सचिव कृष्ण निराकारको भनाइ छ।

गौरादह सामुदायिक पुस्तकालय  

 दिगोपन नहुनु नेपाली पुस्तकालयको मात्र हैन, संसारभरिकै समस्या हो। तर गौरादह सामुदायिक पुस्तकालयमा दुई वर्षदेखि पुस्तक थप्ने र पाठक बढाउने काम ठप्प भएको छ। २०५५ सालमा एक कट्ठा जग्गामा पक्की घर बनाएर सुरु गरिएको पुस्तकालय राम्रो होउन्जेल ई–पुस्तकालय चलाउन दाताले कम्प्युटर पनि दिन्थे। स्थानीय सरकारको बेवास्ताले आफ्नो पुस्तकालय धराशायी भएको गुनासो संस्थापक भोजराज दाहालको छ। नेपालकै उत्कृष्ट पुस्तकालय घोषणा गरेर केही अनुदान ल्याएको रिड नेपाल नामक गैरसरकारी संस्थाले ल्याएको अनुदान कता पुर्‍यायो र उसको उत्कृष्टता के मानकले निर्धारण गरेको थियो, गौरादह सामुदायिक पुस्तकालय स्वयं बेखबर छ।

 त्रिफला राष्ट्रिय पुस्तकालय  

 २०५३ सालमा मेचीनगर नगरपालिका धुलाबारीमा प्रेमप्रकाश फलाहारीले आफू अध्यक्ष र मोहन खड्कालाई महासचिव बनाएर सुरु गरेको पुस्तकालय हालसम्म सञ्चालनमा छ। सुरुमा यो पुस्तकालय धार्मिक सामग्री संकलन र संरक्षण गर्ने उद्देश्यले खुलेको थियो। समयक्रममा पुस्तकालय विज्ञानको मानकबमोजिम वर्गीकरण र सूचीकरण गरी हाल यस पुस्तकालयमा ४५ हजारभन्दा बढी पुस्तक संग्रह गरिसकिएको छ। मेची–महाकाली पैदय यात्रा गरेरै फलाहारीले सहयोग जुटाएका थिए। दातामार्पmत प्राप्त दुई कट्ठा पाँच धुर जमिनमा तीनतले पक्की भवन पुस्तकालयको आफ्नै सम्पत्ति हो। दस करोड जति भौतिक सम्पत्ति जोडिसकेको त्रिफला राष्ट्रिय पुस्तकालय पाठक नआएका कारण भएका ज्ञान संग्रह गरेर पाठक पर्खिरहेछ।

पुस्तकालय, इन्टरनेटसहितको सूचना केन्द्र, सभाहल, आवाससहितको वाचनालय लगायतका सुविधा भए पनि पुस्तकालयमा पाठक आकर्षित नहुनुसँग व्यवस्थापकहरू जुधिरहेका छन्। स्थापनाकालमा दुई सय २६ जना व्यक्तिबाट प्रतिव्यक्ति एक हजार एक सय ११ र संघसंस्था आदिबाट एक लाख १४ हजार गरी जम्मा तीन लाख ६५ हजार रकम अक्षयकोषमा राखेर पुस्तकालय सुरु गरिएको थियो। साहित्यिक कार्यक्रम, साहित्यकार सम्मान, ‘त्रिफला दर्पण’ पत्रिकाको प्रकाशन, धार्मिक स्थलको खोजी र यस्ता स्थानका बारेमा पुस्तक प्रकाशन गर्ने काममा त्रिफला निरन्तर लागिरहेको छ। कवि गोष्ठी, साहित्यिक अन्तरक्रियाजस्ता कार्यक्रमबाट पाठक बढाउन यो पुस्तकालयले गरिरहेको प्रयास प्रशंसनीय छ। मौलिक ढंगले सञ्चालन र कार्यक्रम गर्दै आएको यो पुस्तकालयबाट अन्य स्थानका यस्ता संस्थाले धेरै कुरा सिक्न सक्छन्।

 सिंहदेवी पुस्तकालय  

 पृथ्वीनगर–५ मा रहेको यो पुस्तकालय २०५६ सालमा खुलेको हो। ग्रामीण क्षेत्रमा पनि पुस्तकालयको महत्व दर्शाउन यो पुस्तकालय तीन हजार पुस्तक संकलनबाट सुरु गरिएको थियो। साहित्यिक गतिविधिमा बढी संलग्न देखिएको यो पुस्तकालय ग्रामीण क्षेत्रमा पनि यस्तो संस्था चलाउन सम्भव हुने सन्देश पैmलाउन सफल छ। युवाको बाहुल्य रहने पुस्तकालयको व्यवस्थापन समिति देशका नाम चलेका साहित्यकार झापामा ल्याएर कार्यक्रम गर्नमा अग्रणी छ। पृथ्वीनगर गाउँपालिका हाल भद्रपुर नगरपालिकामा गाभिएकाले यो पुस्तकालय यसै नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने देखिन्छ।

 देवकोटा सन्दर्भ पुस्तकालय  

 स्थानीय निकायले सञ्चालन गरेको पुस्तकालयमा यो पुस्तकालय पनि पर्छ। मेचीनगर नगरपालिकाको अगुवाइमा मेचीनगर जेसिस मिलेर २०५७ फागुनमा सुरु गरिएको यो पुस्तकालयमा सात सदस्यीय समिति गठन भएको थियो। हरिशकुमार श्रेष्ठ संस्थापक अध्यक्ष रहेको यो पुस्तकालय धुलाबारीमा सञ्चालित दोस्रो सार्वजनिक पुस्तकालय हो। नगरपालिकाले पासाङ ल्हामु स्मृति भवनमा यो पुस्तकालय सञ्चालन गर्दै आएको छ।

 बुद्धभानु स्मृति सार्वजनिक पुस्तकालय  

 धुलाबारीमा प्रेमप्रकाश फलाहारीसँग मिलेर २०५३ सालमा त्रिफला राष्ट्रिय पुस्तकालय खोल्ने मोहन खड्काले २०५८ सालमा बिर्तामोडमा यो पुस्तकालय सुरु गरेका हुन्। अफगानिस्तानमा तालिवानले संसारकै ठूलो बुद्धमूर्ति ध्वस्त गरेको र दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनका क्रममा कवि भानुभक्तको सालिक तोडफोड भएको घटनाले क्षुब्ध भएका खड्काले बुद्ध र भानुभक्तका नाममा बुद्धभानु पुस्तकालय खोलेका हुन्। झापाका सबैजसो पुस्तकालयले जस्तै यो पुस्तकालयले पनि साहित्यिक गतिविधि बढी मात्रामा सञ्चालन गर्ने र नेपाली भाषाको सेवा गर्ने लक्ष्य लिएको देखिन्छ।

 घरेलु पुस्तकालय   

हाल कमल गाउँपालिकामा पर्ने तोपगाछी बजार पञ्चायतकालदेखि नै चहलपहलको स्थान थियो। यहाँ २०३० सालमा एक सय ५० जना पाठकबाट वार्षिक शुल्क प्रतिपाठक ६ हजार रुपैयाँ उठाएर पुस्तकालय सञ्चालन गरियो। दुई हजार दुई सय १३ पुस्तक विभिन्न व्यक्तिबाट नि :शुल्क प्राप्त गरी सुरु गरेर २०३५ सालसम्म पुग्दा तीन हजार पाँच सय पुस्तक संकलन भइसकेको इतिहास पाइन्छ। यो तोपगाछी क्षेत्रको पहिलो पुस्तकालय थियो। २०३५ सालपछि स्वतन्त्र रूपले पुस्तकालय चलाउन गाह्रो भएको भन्दै देवी देउराली सञ्चालक रहेको समितिले त्यहाँको प्रस्तावित कमला निम्न माध्यमिक विद्यालयलाई सम्पूर्ण पुस्तक हस्तान्तरण गर्‍यो।

पाठकले लगेका पुस्तक फिर्ता नगरेका कारण विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्दा करिब छ सय पुस्तक हिनामिना गरिएको रिपोर्ट सार्वजनिक गरियो। विद्यालयले पनि पाठकबाट पुस्तक फिर्ता नआउने समस्या भोगिरह्यो। घरेलु पुस्तकालयको अभ्यासविपरीत २०४३ सालमा पुस्तक घरमा लैजान बन्द गरियो। तर पाठकको आवागमन ठप्प प्राय : भएपछि २०४५ सालबाट पुस्तकालय सधैंका लागि बन्द गरियो।

 पञ्चायत पुस्तकालय तथा वाचनालय  

 तोपगाछी बजार पञ्चायत कालमा चल्तीको स्थान भएको प्रमाणित गर्न २०३५ सालमा खुलेको यो वाचनालय काफी छ। तत्कालीन तोपगाछी गाउँ पञ्चायतमा खुलेको पुस्तकालयलाई गाउँ पञ्चायतको सहयोग भएको कुरा अनुमान गर्न सकिन्छ। देवी देउराली र गुरु अधिकारीसँग सल्लाह लिएर यो पुस्तकालय चलेको थियो। तीन हजार थान पुस्तक संकलन गरी थालिएको पुस्तकालय २०३७ सालपछि चल्न सकेन।

 अशेष घरेलु पुस्तकालय  

 टोलटोलमा घरेलु पुस्तकालय खुल्नुपर्ने अडान राख्ने किरात जेबीराईले सञ्चालन गरेको यो पुस्तकालय व्यक्तिगत पुस्तकालय हो। उनले आपूmसँग कुनै कुरा सोध्न आउनेका लागि यही पुस्तकालय नि :शुल्क प्रयोग गर्न र जानकारी लिन सिफारिस गर्ने गरेका छन्। एक हजारभन्दा बढी पुस्तकसहित राईको घरमा सञ्चालन भए पनि यो कतै दर्ता छैन। स्थायी रूपमा सञ्चालन छैन।

यीबाहेक पनि झापामा अरू पुस्तकालय चलेका देखिन्छन् तर तिनको प्रकृति संघसंस्थासँग बढी सम्बन्ध र सार्वजनिक रूपमा कम पहुँच भएका कारण लेखमा उल्लेख गरिएको छैन। झापाली पुस्तकालयले साहित्यसँग जोडिएर मात्र चल्न सकिन्छ भन्ने भ्रममा पनि रहेको पाइयो। खोलो तरेपछि लौरो बिर्सिएको उखानजस्तै पञ्चायतकालमा निश्चित उद्देश्य बोकेका झापाली पुस्तकालय प्रजातन्त्र प्राप्तिपछि सेलाउँदै गएका र बन्द भएका पाइए।

 अन्त्यमा  

 नेपालमा ठूला पुस्तकालय व्यक्तिगत संकलनबाट सुरु भएका उदाहरण हेर्न काठमाडौं उपत्यकाबाट अन्त जानु पर्दैन। हालको राष्ट्रिय पुस्तकालय राजगुरु हेमराज पाण्डेको संकलन खरिद गरेर, केशर र डिल्लीरमण रेग्मी पुस्तकालय व्यक्तिले राज्यलाई हस्तान्तरण गरेर, मदन पुरस्कार पुस्तकालय कमलमणिको व्यक्तिगत संकलनलाई गुठीमा परिणत गरेर विकास भएका हुन्। राज्य तहबाट पुस्तकालय खोल्ने र सञ्चालन गर्ने (राष्ट्रिय पुस्तकालय खरिद गर्नुबाहेक)तर्फ कुनै काम भएको देखिँदैन। माथि उल्लिखित चार पुस्तकालय नेपालमा हँदैनथे भने नेपालको चित्र कस्तो देखिन्थ्यो होला ? हाम्रो ज्ञानको परम्परा कता हराइसक्थ्यो होला ? त्रिभुवन विश्वविद्यालयले शैक्षिक उद्देश्यले चलाएको पुस्तकालय र टाठाबाठा विदेशी (कर्कप्याट्रिक लगायत)ले लग्न बाँकी राखिदिएका हस्तलिखित सामग्रीले धानेको राष्ट्रिय संग्रहालयले आजको नेपालको पुस्तकालयको मुख छोप्थ्यो होला ? झापा जिल्लामा जस्तै गाउँगाउँमा खुलेका पुस्तकालय र तिनमा संगृहीत सामग्रीले पुस्तकालयको रूप लिन्थे वा हामी विगत अध्ययन छाडेर भविष्य निर्माणमा जुट्थ्यौ ? प्रश्नसामु घोरिँदै हामी वर्तमानमा अडेका छौं।

@orameshg5 पुस्तकालय अधिकृत, त्रिभुवन विश्वविद्यालय।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.