साक्षी कतिपय

साक्षी कतिपय

१९९० सालको वैशाखमा रामेछाप जिल्लाको बाबियाखर्कमा जन्मेका श्रीवत्सराज न्यौपाने पढाइसँगै सरकारी जागिर खाने हुटहुटीले २००७ सालमा रामेछापबाट काठमाडौं आए। त्यति बेला देशमा प्रजातन्त्रको उदय भइसकेको थिएन। २००७ साल मंसिरमा रामेछापबाट हिँडेर काठमाडौं आएका थिए। रामेछापबाट सिन्धुली, काभ्रे हुँदै सुनकोसी नदीको किनारैकिनार दोलालघाटसम्म आइपुग्न दुई दिन लाग्थ्यो।

दोलालघाटबाट उनी र उनका साथी काठमाडौं आउनुअघि गाउँका छिमेकी सुब्बा छविरमण घिमिरे (जो सिन्धुपाल्चोक मालपोतका हाकिम थिए), उनलाई भेट्न पुगेछन्। मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि संघर्ष उत्कर्षतिर पुग्दै थियो। मुलुकको पूर्वी भाग र पश्चिमबाट आन्दोलन क्रमश : केन्द्रीकृत हुँदै राजधानीतर्फ अघि बढ्दै थियो। न्यौपानेले हालै प्रकाशन गरेको ‘भुक्तभोगीको बकपत्र’ नामक संस्मरणात्मक पुस्तकमा उनले आफ्नो प्रशासनिक जीवनको भोगाइलाई अभिव्यक्त गरेका छन्।

अहिलेजस्तो सञ्चार प्रविधिको विकास भइसकेको थिएन, न त यातायातको सुगमता नै थियो। गाउँका युवा केटाहरू आएको मेसोमा सुब्बा छविरमण हाकिमसाबले देशको राजनीतिक परिवेश बुझ्न आफ्ना साथी नुवाकोेट माल अड्डाकै हाकिमलाई पत्र लेखेर उनको पनि जवाफ लिएर आउन अह्राएछन्। रामेछापबाटै साथै आएका आफ्ना साथी वासुदेव घिमिरेसँगै सिन्धुपाल्चोकबाट हिँडेर नुवाकोट पुगेर पत्र थमाई अर्को पत्र लिएर सिन्धुपाल्चोक फर्केपछि केही समय न्यौपानेले लेखन्दासका रूपमा सिन्धुपाल्चोक मालअड्डामा काम पनि गरेछन्। त्यसपछि एउटा फाँटवालाले अक्षर राम्रो लागेर हाकिमलाई भनसुन गरी गुठीतर्फको तहसिलदारमा भर्ना गराएछन्। तीन महिनाजति काम गरिसकेपछि काठमाडौं गएरै पढ्ने र जागिर खाने धोको पूरा गर्न त्यहाँको जागिर तिलाञ्जली दिएर न्यौपाने राजधानी आए।

राजधानी आएपछि उनले आफू पालिन र पढ्नका लागि डिल्लीबजार मालअड्डामा लेखनदासको काम गरेका रहेछन्। यही बीचमा प्रवेशिका र निजामती मध्यम परीक्षा पास गरे। काम चल्दै थियो। २०११ सालमा तत्कालीन राजा त्रिभुवनको निधन भएपछि १३ दिन अड्डा बिदा भयो। अड्डा बिदा हुँदा उनको आयस्रोत सुक्यो। त्यसपछि उनी स्थायी प्रकृतिको जागिरको खोजीमा लागे। सिन्धुपाल्चोक मालपोतमा चिनाजानी भएका नन्दनहरि उपाध्याय अर्थ मन्त्रालयमा आएका रहेछन्। नन्दनहरि उपाध्यायकै संगतले जुम्ला गौंडाका बडाहाकिमको सिफारिसमा जुम्लामा तहरिर डिट्ठाबाट २०१२ साल मंसिरबाट उनको जागिरे जीवन सुरु हुन्छ।

उनी जुम्लामै रहँदा २०१५ सालमा आमचुनाव भयो। कर्णालीलाई त्यति बेलाको चुनावमा दुई क्षेत्रमा विभाजन गरिएको थियो। त्यति बेला बडाहाकिमहरूले गरेको शोषणविरुद्ध आवाज उठाउने स्वतन्त्र उम्मेदवारहरू जुम्लाका दुवै क्षेत्रमा विजयी भएका थिए। २०१५ सालको चुनावमा नेपाली कांग्रेसको बहुमत आएपछि विश्वेश्वरप्रसाद कोइराला सर्वसम्मतिले प्रधानमन्त्री भई मन्त्रिमण्डल गठन गरे।

शाह नेपाली सेनाको कप्तानबाट अवकाश पाएपछि बडाहाकिम भएर जुम्ला गएका रहेछन्। उनले जुम्लीहरूलाई शोषण गर्ने, दु :ख दिने भएकाले सन्धि सर्पन, पानीघाट, सार्वजनिक सम्पत्ति व्यक्तिका नाममा दर्ता गर्ने बडाहाकिमका फैसलालाई न्यौपानेले कानुनसम्मत नभएको भनी राय बझाइदिने गरेका थिए अर्थात् सभ्य हिसाबले शोषण, उत्पीडनको विरोध गरेका थिए। बडाहाकिमले आफ्ना भाइ राजबहादुर शाहलाई तहरिर डिट्ठामा बढुवा गर्नुपर्ने पारिवारिक दबाबका कारण बडाहाकिमले न्यौपानेको बढुवा गरी असिस्टेन्ट बनाएका रहेछन्।

न्यौपानेको संस्मरणात्मक कृतिबाट राणाकालपछिको प्रशासन, प्रजातान्त्रिक समय र खुला समाज, त्यसपछिको पञ्चायतकालीन प्रशासनलाई बुझ्न सकिन्छ।

कांग्रेसको सरकार आएपछि जुम्ला गौडाका बडाहाकिम नन्दबहादुर शाहलाई काठमाडौं फिर्ता बोलाइएछ। उनका शोषणविरुद्ध गृह मन्त्रालयमा उजुरी परेर होला सायद, आफू मुनिकालाई कामु दिएर गृह मन्त्रालयमा हाजिर हुनु भन्ने आदेश बडाहाकिम शाहलाई थियो। तर शाहले आफूले गरेर जथाभावी निर्णयहरू खुल्ने र आफू उदांगिने डरले निजामतीतर्फका आफू मुनिका कर्मचारी न्यौपानेलाई का.मु. नदिएर नियमविपरीत चन्दननाथ कम्पनीका लेफ्टिनेन्ट नरेन्द्रबहादुर शाहलाई दिने मनसुवा बनाएका रहेछन्। निजामतीलाई का.मु. नदिएर जंगीलाई निजामती सेवातर्फको जिम्मेवारी दिन मिल्दैनथ्यो। यही मेसोमा बडाहाकिमले आफू काठमाडौं रमाना हुनुअघि सुरक्षा कानुन लगाएर न्यौपानेलाई बिनाकारण समातेर जेल हालेछन्। र जंगीतर्फ सेवारत आफ्ना भाइलाई जिम्मेवारी दिएर गृह मन्त्रालयमा हाजिर हुन काठमाडौं आएछन्।

तर, न्यौपानेले आफूलाई थुन्ने गाइँगुइँ सुनेपछि गृह मन्त्रालयलाई आकाशवाणी पठाइसकेका रहेछन्। केही दिनपछि गृह मन्त्रालय न्यौपानेलाई नै का.मु. दिनु भनेर आकाशवाणी पठाएपछि उनी रिहा भए र यथावत् काम गर्न लागे। २०१६ साल साउनमा उनलाई गृह मन्त्रालयका हाजिर हुनु भन्ने निर्देशनअनुसार जुम्लाबाट उनी काठमाडौं फर्के। जुम्लाबाट जाजरकोट, सल्यान, सुर्खेत, नेपालगन्ज हुँदै भारतको बाटो भएर रक्सौल पुगी वीरगन्ज भएर काठमाडौं आउन लामो समय लाग्थ्यो।

जुम्लाबाट फर्कने क्रममा साउनको महिना भएकाले पानी पर्नु स्वाभाविक थियो। जंगलको बाटो हिँडेर च्याखुरे लेकको टुप्पोमा पुगेर जाजरकोटतिर झर्ने बेलामा घनघोर जंगलको बीमा मुसलधारे वर्षा भएछ। भिजेर निथ्रुक्क भएका उनी चिप्लिएर लडेछन्। पानी परिहेकाले केही समयपछि होशमा आएर हेर्दा रात परिसकेको छ, घनघोर जंगलको बीचमा। केही समयपछि कुकुर भुकेको आवाज आयो। सँगसँगै एकजना मान्छे पनि आएर मेरो गोठ छ, त्यहीँ गएर बसौं भनेर राति गोठमा बास बसी खानासमेत खाएर भोलिपल्ट बिहान त्यहाँबाट हिँडेको उनले उल्लेख गरेका छन्।

बास दिनेले बताइदिएको बाटो हुँदै पहिरो काटेर पल्लो गाउँमा पुगेर हेर्दा त न गोठ देखिन्छ, न त पल्लो गाउँका मान्छेले त्यहाँ गोठ भएको कुरा पत्याउँछन्। जंगलमा लडेका उनलाई उठाएर लगेर बास दिने, खान दिने कतै भगवान् नै पो थिए कि भनेर पाठकलाई पत्याउन करै लाग्छ, जुन विषयवस्तु र परिवेशको दलील उनले गरेका छन्।

काठमाडौं फर्केपछि आफूलाई परेको अन्यायबारे तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई उनको निवास त्रिपुरेश्वरमै गएर बताउँछन्। कोइरालाले चाखपूर्वक उनको गुनासो सुनेर तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेट्न पठाउँछन्। उनलाई अन्याय गरी जेलमा हाल्ने जुम्लाका तत्कालीन बडाहाकिम नन्दबहादुर शाहलाई जरिवाना हुन्छ।

त्यहीबीचमा मुलुकमा फेरि २०१७ साल पुस १ को राजनीतिक परिवर्तन हुन्छ। तत्कालीन राजा महेन्द्रले राजनीतिक दलहरूलाई प्रतिबन्ध गरेर पञ्चायती व्यवस्था सुरु गर्दा न्यौपाने त्यति बेला दैलैख गौंडाको का.मु. बडाहाकिम थिए। पञ्चायती व्यवस्थाको विरोधमा प्रदर्शन हुन नदिनु र शान्तिसुरक्षा तथा अमनचैन कायम गर्नु बडाहाकिमहरूको जिम्मेवारी थियो। जागिरे जीवनका क्रममा उनले दैलेख, पछि काठमाडौं मेजिस्ट्रेटको कार्यालय, दाङ गोश्वारा तथा २०१८ सालदेखि सुरु भएका विभिन्न दौडाहा टोलीमा सदस्यसचिव भएर काम गरेको पुस्तकमा उल्लेख गरेका छन्। देशभर प्रशासन सञ्चालन गर्न २०२२ साल अघिसम्म ३२ गांैडा कायम थिए। अञ्चल विभाजनपछि, विभिन्न दौडाहा टोली सम्बन्धित अञ्चलमा पुगेर गुनासो लिने, मुद्दामामिला फछ्र्योट गर्ने गथ्र्यो। आफ्नो जागिरे जीवनका क्रममा न्यौपाने नेपाल–चीन सीमा लार्के हिमालमा सीमा सर्वेको काममा खटिए। सर्वेको काम सकेर आएपछि फेरि काठमाडौं मेजिस्ट्रेटको कार्यालयमा काम गरे। फेरि उनको सरुवा सप्तरी गोश्वरा र त्यसपछि राप्ति अञ्चलाधीशको कार्यालयमा भयो। उनले चितवनमा सीमा प्रशासनमा पनि काम गरे।

नेपालको सीमावर्ती भारतको नरकटियागन्जका मान्छेहरूले नेपालको भूभागमा राम्रा रूख काटेर लैजाने नियतले ठोरी भन्ने ठाउँमा सीमास्तम्भ उखेलेर नेपालतर्फ सार्दा रहेछन्। सीमा स्तम्भ सारेको पत्ता लागेपछि उनले स्तम्भ बनाउन केन्द्रको बजेट नपर्खीकनै आफ्नै खर्चमा सीमा स्तम्भहरू बनाउन लगाएको पुस्तकमा उल्लेख गरेका छन्।

आफ्नो जागिरे जीवनको उत्तराद्र्धमा २०४० सालतिर केही समय सिंहदरबारको केन्द्रीय सेवा विभाग बेलायती बैठकमा काम गरेका रहेछन्। त्यति बेला बेलायती बैठकको झ्यालमा तत्कालीन समयमा चन्द्रशमशेरले स्थापना गरेको कृष्णको मूर्ति चोरी भएछ। त्यसको खोजी गर्दा यसका विभिन्न भागमा खोलेर मूर्तिलाई सिंहदरबारकै विभिन्न ठाउँमा लुकाएको भेटिएछ। शनिबारको दिन मूर्ति हराएको आइतबार उनले कार्यालयमा प्रवेश गर्दा थाहा पाए, प्रहरी बोलाई उक्त विषयमा जानकारी गराई दुई जना पाले प्रहरीको जिम्मा लगाइयो। यसरी उनीहरूको बयानका आधारमा खोजी गर्दै जाँदा सिंहदरबारका विभिन्न स्थानमा उक्त मूर्तिका भागहरू फेला परे र यसलाई पुनस्र्थापना गरियो भनेर उनले आफ्नो संस्मरणात्मक पुस्तकमा उल्लेख गरेका छन्।

बेलायती बैठकमा कार्यरत रहँदा नै उनले जागिरे जीवनलाई पूर्णविराम लगाएर स्वैच्छिक अवकाश लिए। २०४१ सालमा काशी बनारस तीर्थाटन गर्ने र जोगी हुने हेतुले भारततिर लागे। काशीमा तीर्थ गर्न गएका भूतपूर्व र बहालवाला चिनजानका केही कर्मचारीले उनलाई त्यहाँ भेटे र नछोडेर लिएरै आएछन्। त्यसपछि उनी केही समय आफ्नो जग्गाजमिनसमेत रहेको सर्लाहीको हरिहरपुरमा खेतीपाती गरेर बसेछन् र २०५३ सालदेखि सर्लाहीको खेत बिक्री गरी चितवनको देवघाटमा कुटी बनाएर बस्दै आएका रहेछन्।

२०७२ सालको भुइँचालो र नाकाबन्दीपछि भने उनी छोराहरूसँग ललितपुरको सानेपामा बस्दै आएका र अझै पनि देवघाट आ        श्रममै गएर बस्ने इच्छा जागृत भएको आफ्नो पुस्तकमा लेखेका छन्। काठमाडौं मेजिस्ट्रेटमा हुँदा उनले घरपरिवार, घरझगडासम्बन्धी धेरै किचलो तथा गुनासोसम्बन्धी मुद्दा छिनिदिएका रहेछन्। ती मुद्दामामिला प्राय : छोराबुहारीले दु :ख दिएको, छोरीमात्र जन्माएको भनेर श्रीमानले घरबाट निकालेका जस्ता समस्या हुन्थे।

त्यति बेला आमाबाबुहरू सन्तानले हेरचाह गरेनन् भनेर मेजिस्ट्रेटका आउने गर्थे, उनले छोरा बुहारीलाई सम्झाइबुझाइ गरेर समस्या समाधान गराइदिएका रहेछन्। अहिले तिनै छोराबुहारी बढ्यौलीतिर प्रवेश गरेका छन्। कतिपयसँग भेट हुँदा हालखबर सोध्यो भने पहिले तिनका आमाबाबुले झैं दु :ख पाएको बताउँदा उनको स्मृतिमा पुराना दिन सम्झनामा आउँछन्। पुस्तकको अन्त्यमा उनले घुमिफिरी सबैले एक दिन वृद्ध हुनुपर्ने हुँदा आफ्ना बाबुआमाको उचित हेरचाह गरी सन्तानलाई पनि सोही कुरा सिकाए आफ्नो बुढ्यौलीमा दु :ख झेल्नु पर्दैन भनेर समाजलाई नैतिक मूल्य र मान्यतातिर फर्काउने कोसिस गरेका छन्। न्यौपानेको संंस्मरणात्मक कृतिबाट राणाकालपछिको प्रशासन, प्रजातान्त्रिक समय र खुला समाज, त्यसपछिको पञ्चायतकालीन प्रशासनलाई बुझ्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.