जलजले भीरमा मौरीसँग झुत्ती [फोटो फिचर]

जलजले भीरमा मौरीसँग झुत्ती [फोटो फिचर]

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका तौथलीमाथिको जलजले भीरमा मह काढ्ने तयारी हुँदै छ। कविराजसहितका १२ स्थानीयवासी जेठको अन्तिम शुक्रबार बिहानैदेखि तयारीमा व्यस्त देखिन्छन्।

कविराज थामी (४५) समूहका नाइके हुन्। अरू बेला खेतीपातीमै व्यस्त हुने उनका लागि जेठ महिना भने विशेष छ। यो महिना वरपरका जंगलमा मह काढ्नु उनको काम हो। गाउँलेहरू उनैलाई सम्झन्छन्। किनभने यो सीप उनीसँग मात्र छ। र, यो सीपले काम गरेको २२ वर्ष पुग्यो।

मह काढ्ने क्रममा बाजेलाई डोरी दिने र डोरी तान्ने गर्दागर्दै कविराज यसमा पोख्त भएका हुन्। ‘न बाले सिक्नुभयो, न त मेरा सन्तानहरूले नै’, मह काढ्ने तयारी हुँदै गर्दा उनले सुनाए। बाजेबाट सिकेको सीप आफ्नो शेषपछि कसले सम्हाल्ला भन्ने चिन्ता छ उनलाई। भन्छन्, ‘म अरूलाई पनि सिकाउन लागिपरेको छु। कोही न कोही त निस्केला नि सिक्ने !’

सुन्दर डाँडाकाँडा र झरना हुँदै करिब आधा घण्टामा भीरमा पुगियो। भीरमा लहरै मौरीका पाँच घार देखिन्छन्। मह काढ्न बाँसको चोयाबाट निर्मित भर्‍याङलाई भीरमा रहेको रूखमा झुन्ड्याइयो। त्यही भर्‍याङ र डोरीमा झुन्डिएर घारनजिकै स्याउला बालियो। स्याउला बालेर घारबाट मौरीहरूलाई भगाइयो र बच्चा काढियो। बाँसको टाँगो र दाबिलोको सहयोगले मह काढेर डालोमा राखी भीरबाट तल झारियो।

एउटा घारबाट मह निकाल्न करिब २० मिनेट लाग्छ। करिब दुई घण्टा महका लागि झुत्ती खेलेपछि काम सकियो। अब चाकाबाट मह निकाल्ने काम सुरु भयो। पञ्जा लगाएर चाका निचोर्दै भाँडामा मह राखियो।

निकालिएको महको आधा हिस्सा काढ्ने मान्छेकोे भागमा पर्छ। आफूले पाउने मह प्राय : उनी घर लैजान्छन् र केही बिक्री पनि गर्छन्। औषधिका रूपमा पनि प्रयोग हुने भीरमौरीको मह विदेशमा समेत निर्यात हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.