भैंसी उड्यो
कास्की माझगाऊँ। २०२२ साल मंसिर २८ गतेको कुरा। त्यस दिन हामीले आँगनमा कोदाको दाइँ हालेका थियौं। एकापट्टि भुसको रास थियो भने अर्कापट्टि कोदाको।
पहाडमा भैंसी दिउँसो फुकाएर वनमा चराउने चलन थियो। दिनभरि भैंसी वनमा चर्थे र साँझ परेपछि आफैं गोठमा फर्कन्थे।
गोठमा दुइटा भैंसी थिए। एउटा लैनो अर्को बकेर्नो। बिहान खाना खाइवरी मैले दुवै भैंसी फुकाएर वनतिर छोडिदिएँ।।
आमा आँगनमुन्तिर बारीमा साग टिप्दै हुनुहुन्थ्यो। ‘भैंसी किन आएनन्, बाबु ? ’ आमाले सोध्नुभयो। अरू बेला घाम अस्ताउने बेलासम्ममा आइपुग्ने भैंसी त्यस दिन साँझ परिसक्दासमेत आइपुगेनन्।
किन भैंसी आइपुगेनन् भनेर हामी आमाछोरा कुरा गरिरहेको बेला मेरी मामाकी छोरी पनि आइन्। म उनीसँग सन्चोबिसन्चो मात्र सोधेर भैंसी खोज्न हिँडेँ।
गल्लीको बाटो तर्पाएँतर्पाएँ जाँदाजाँदै गाउँ सकियो। त्यसपछि डरलाग्दो खोलो आयो। खोलाको काठकाठै बाटो थियो। बाटो तल चौर थियो। जूनको उज्यालोमा मैले चौरबाट हाम्रा भैंसी आइरहेको प्रस्ट देखेँ। ती मेरो जजिक आए। त्यसपछि भैंसी धपाउँदै घर ल्याएँ।
भैंसी खुरुखुरु आए। अरू दिन आउनेबित्तिकै आआफ्ना किलामा आएर बस्थे। तर त्यस दिन मैले भैंसीलाई मरिकाट्टे बाँध्न सकिनँ। दुइटै भैंसी घरि यता घरि उता दगुर्न थाले।
हुँदाहुँदा ती आँगनमा आए। आँगनबाट फेरि तल्लो सागबारीमा फदाले। सागमा तीनचार फेर यताउता घुमे।
‘होइन के भो भैंसीलाई ? ’ अनौठो मानेर म बोलेँ। त्यसपछि मैले भैंसीलाई दुईतीन पटक दाउराले हानेँ। मरिकाट्टे लागेन।
धन्न भैंसी छिर्नेबित्तिकै मैले तगारो लगाइसकेको थिएँ। बाँध्न नसकेको झोँकमा एउटा भैंसीलाई कसोकसो तल्लो गरामै झरेर बेस्कन हानँे। तगारो नाघेर भैंसी त आएकै बाटो पो लागे। म छक्क परेँ। त्यति अग्लो तगारो फट्केर जानु कम अचम्मको कुरा थिएन।
साँझ छिप्पिन छिप्पिन लागेको थियो। यत्तिकैमा आमा आउनुभयो। आमाले भैंसी फर्कंदै गरेको देख्नुभयो र मलाई हकार्नुभयो।
‘हेर त यस्ले भैंसी बिच्कार ! रामरी फकार पो बाँध्नुपर्च’, आमाले मलाई गाली गर्न थाल्नुभयो।
‘हेर त, भैंसीले कोदो आँगनभरि बनाच। सागमा हेर त ! रामराम ! के विधि फदालेर। यस्ता सजिला भैंसी, सजिलै आर बस्थे। यस्ले किन बिच्काको होला ? ’ आमा कराउन थाल्नुभयो।
म भने यसरी तगारै फट्केर गएका भैंसीका पछाडि अब जाने कि नजाने भनी गम्दै थिएँ। फेरि अब ल्याएर बाँध्न सक्छु कि सक्दिनँ ? मलाई अलिकति शङ्का लाग्यो।
ती भैंसी त हुन् त ?
हुन् भने ती हाम्रा हुन् कि होइनन् होला ?
ठ्याक्कै हाम्राजस्तै छन्। भैंसीको पछिपछि त जानैपर्यो भन्ने लाग्यो।
‘भैंसी नभएर ती अर्थोक नै चीज रहेछन् भने पनि यतिन्जेल सम्ममा त मलाई खाइसक्थे।’ मैले अलिकति हिम्मत बटुलेँ।
भैंसी जुन बाटो आएका थिए त्यही बाटो हुँदै गए। म पनि त्यही बाटो दगुर्दै गएँ।
सामान्यतया गाईगोरुजस्तो डाँडापाखाबाट भैंसी फदाल्न सक्दैनन्। घुमाउरो सिँढी भएको ठाउँमा छिटोछिटो हिँड्दैनन्। तर ती भैंसी सजिलै दगुर्दै थिए।
गाउँ सकिएपछि खोलो पनि आइपुग्यो। अब यहाँबाट त भैंसी जान सक्दैनन् भन्नेमा म ढुक्क थिएँ। तर फदाल्नै नसकिने ठाउँबाट बाँदर फदालेझैं दुवै भैंसी ब्वाङब्वाङ पो फदाले।
‘हँ भाइ ! अब यी भैंसी होइनन् !’ मैले अड्कल काटेँ।
त्यसरी फदालेका भैंसीलाई न चोटपटक लाग्यो न केही भयो। त्यसपछि म ती भैंसी होइनन् भन्नेमा ढुक्क भएँ।
भैंसी नभएर ती पिचास हुन् भन्ने लाग्यो। अरूको घरमा नपसेर हाम्रै घरमा किन पसेका होलान् ती भन्ने सोच्दै म त्यहाँबाट फरक्क घर फर्किएँ।
अलिअलि डराउँदै घर आइपुगेँ। तर म त्यति धेरै डराएको चाहिँ थिइनँ किनभने मैले त्यस्ता कथाहरू गाउँका बूढापाकाहरूबाट सुनेको थिएँ।
रात त्यति छिप्पिइसकेको थिएन।
‘ल आमा ! ती त हाम्रा भैंसी होइन रचन् !’ घर पुग्नासाथ आमालाई मैले बेलिबिस्तार लगाएँ।
‘लौ न नि, ती त भैंसासुर पो रचन् !’ आमाले भन्नुभयो।
‘हत्तेरिका ! आज बैनी आकी बरा। दूधभात खान नि पाइन’, आमाले पहाडबाट आएकी मामाकी छोरीतिर फर्किएर भन्नुभयो।
खाना खाइवरी म आँगनको डिलमा हात चुठ्दै थिएँ। तगाराबाट एक्कासि लामो वाइँ आवाज आयो। ओहो ! भैंसी फेरि देखिए।
‘होइन के हो फेरि ? ’
अलिअलि डर मिसिएका गोडा कपाउँदै पिँढीमा लोटा राखेर तगारो उघारेँ। भैंसी आआफ्ना किलामा आएर उभिए। मैले बाँधेँ।
‘आमा, भैंसी त बल्ला पो आए’, मैले भनेँ।
भैंसी आएकामा खुसी भए पनि डराउँदै मलाई सोध्नुभयो, ‘तँलाई सन्चै त छ बाबु ? भैंसासुरले केही बित्तल त पारेनन् ? ’
‘मलाई केही भा’छैन आमा’, मैले भनेँ।
‘त्यसो भए दूध दुहुन त बाब।’
अघिपछिझैं दुवै भैंसीले गरेर गबुवाभरि दूध दिए।
बिहान उठेर हेर्दा त आँगनमा कोदाको रास जस्ताको तस्तै थियो। कोदाको भुसको रास पनि जस्ताको त्यस्तै थियो। मानौं हिजो ती भैंसीका खुट्टाले कोदाको रासमा अलक्क छोएका पनि थिएनन्। ती भैंसी कुदेको ठाउँमा कुनै अवशेषसम्म नदेखिँदा म छक्क परेँ।
पहाडमा त के चलन थियो भने, केही अन्नको रास बनाएपछि खरानीको रेखी हाल्ने। हुँदाहुँदा त्यो रेखी पनि जस्ताको त्यस्तै थियो। हिजो भत्याङभुतुङ भएको गुन्द्री पनि जस्ताको त्यस्तै थियो।
त्यति मात्रै होइन, भैंसी आँगनमुन्तिर गराका सागमा कुल्चँदै दुईतीन पटक हिँडेको ठाउँ पनि जस्ताको त्यस्तै थियो। म छक्क परेँ। मानौं रातभरिमा कुनै जादू भएको हो।
हिजोआज म नातिनातिनीहरूलाई भैंसी फदालेको कथा सुनाइरहन्छु। ठीक मजस्तै उनीहरू पनि छक्क परेर मेरो कथा सुन्छन्।