प्रकृतिमाथि प्रतिबन्ध
पढ्नलाई यति धेरै किताब छन्, हेर्नलाई यति धेरै सिनेमा छन्। प्रेम पनि गर्नै पर्यो त्यसमाथि। प्रेम त झन् फुलटाइम पेसाभन्दा भारी हुन्छ। दिनमा छ घण्टाजति त प्रेमिकाहरूसँग कुरा गर्दै बित्छ। २४ घण्टामा के के मात्र गर्नु ?
त्यसैले मलाई ‘स्मल टक’ मन पर्दैन। ‘के छ ? ’, ‘अनि डिनर भो ? लन्च भो ? ब्रेकफास्ट भो ? ’ जस्ता प्रश्नको के तुक ? रिसै उठ्छ !
त्यस प्रकारका प्रश्नको समाधानस्वरूप एउटा तरिका सोचेँ। ‘के छ ? ’ भन्नेहरूलाई अचेल भन्दिन्छु, ‘ऋण छ। तिरिदिन्छौ ? ’
धेरैजसो त यतिमै भाग्छन्। केही वर्षअघि एउटी केटी भने भागिन। उल्टै भनी, ‘कसलाई र कति तिर्नुपर्ने हो ? ’
यस्ता मान्छे संगत गर्न योग्य हुन्छन्। जीवनमा अग्र्याजम, मोटिभेसन वा पैसामध्ये कुनै एक पनि नदिने संगतको कामै छैन। समयको बरबादी मात्र हो। टाइम वेस्ट। इन्ट्रेस्टिङ मान्छे खोज्ने र फोकटलालहरूलाई भगाउने पद्धतिको खोजमा म सधैं रहने गर्छु।
यही क्रममा मनु मन्जिलको किताब पढ्दै थिएँ, ‘ल्याम्प पोस्टबाट खसेको जून’। कविताको किताब चाटीचुटी गर्नैमा मजा छ। मनु मन्जिलको त ग्रोसरी लिस्ट पनि काव्यात्मक हुन्छ होला। त्यसैले भूमिकासमेत नछाडी पढ्दै थिएँ। एक ठाउँमा मैले मेरो समस्याको हल पाएँ।
लेखिएको थियो, बिट जेनेरेसनका प्रख्यात कवि एलेन गिन्सबर्ग फोकटलालहरूलाई भगाउन यस्ता प्रश्न सोध्दा रहेछन्, ‘गाँजा खाने गरेका छौ ? ’, ‘चिहानमा सुतेका छौ ? ’
मैले चोरिहालेँ ती प्रश्न। आजभोलि च्याट वा फोनमा अपरिचित अनुहार र आवाज आउनेबित्तिकै सुरुमा तिनै प्रश्न सोध्छु। जतिले ‘हो, खाएको छु’ भने, ती मलाई इन्ट्रेस्टिङ लागे।
दालभात मात्र खानेले दालभातै देख्छ, दालभातै लेख्छ। गाँजा खानेहरू आकाश देख्छन् र आकाशै लेख्छन्। आइन्स्टाइनको पाइपमा के हुन्थ्यो भनेर भनिरहनु नपर्ला। एलन ट्युरिङ, सेक्सपियर, बब मार्ली— भन्दै गए लिस्ट लामै हुन्छ। ल्याटिन भाषामा एउटा उखान छ, ‘निल निसी बोनम’। अर्थात्, मरिसकेकाका कुरै नगरौं।
यही क्रममा पश्चिमी राष्ट्रहरू गाँजालाई फुकुवा गर्दै गए। हाम्रातिर पनि फुकुवा गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ। झिनै सही, मधुरै सही। हाम्रा छलफलहरूमा कैयौं साथीहरू यही विषयमा जोडदार बहस चलाउँछन्। कसरी हाम्रो पुख्र्यौली जेथा मानिएको शिवबुटी खैरेहरूको षड्यन्त्रकारी दबाबमा परेर गैरकानुनी भयो र कसरी अहिले उनीहरू आफैंले यो बुटीको महिमा बुझेर यसलाई कानुनी मान्यता दिँदैछन् भनेर साथीहरू आवाज उठाउँछन्। गोप्य बैठकहरूमा।
निद्रा नलाग्नेलाई बादलको बिछ्यौना भइदिने, स्वादे जिब्रोलाई बाक्लो मीठो चटनी भइदिने यो वनस्पतिले अनेक कलाकारलाई जादुगर बनाइदियो। दुखेर छटपटाइरहेका क्यान्सरका रोगीहरूको पीडा हरिदियो। कपडा बनाउनेहरूले यसैको फाइबरको कपडा बनाए। जाडोमा न्यानो, गर्मीमा शीतल हुने रेशा बनिदियो।
तर यस विषयमा सार्वजनिक बहस चलाउने हिम्मत कसले गर्ने ? बिरालाको घाँटीमा घन्टी कसले बाँध्ने ? घन्टी बाँध्नु आवश्यक भने छ। यसका धेरै कारण छन्।
सबैभन्दा महत्वपूर्ण कारण त— प्रकृति गैरकानुनी कसरी हुनसक्छ ?
यसलाई गैरकानुनी बनाउनका पछाडि फाइदा कसको थियो ? गाँजा खाएर कति मान्छे मरेका छन् ? कतिले घर र टोलमा झगडा गर्दै हिँडेका छन् ? रक्सी, चुरोट वा सुर्ती खाएर मरेका मान्छेको तथ्यांक हरेक वर्ष सरकारले निकाल्छ।
सरकारलाई नागरिकको स्वास्थ्यमाथि साँच्चै नै चासो हुँदो हो त यी वस्तु प्रतिबन्धित गर्दो हो।
कतै पढेको हुँ, काठमाडौंको हावामा सास फेर्नु भनेको दिनमा दसवटा चुरोट पिउनुबराबर हो। सरकारलाई हाम्रो उस्तै चासो हुँदो हो त धुवाँधुलो प्रतिबन्धित गर्दो हो। प्रकृतिले स्वीकार गरेको एउटा बिरुवामाथि सरकारको किन त्यतिविघ्न चासो ? किन लाग्यो गाँजामाथि प्रतिबन्ध ?
निकैअघि गाँजालाई कानुनले भनेबमोजिम नै लागूऔषध ठान्ने गरेको मैले एक साथीलाई सोधेँ, ‘तिमीलाई कस्ता मान्छे खराब लाग्छन् ? ’ उसले अनेक उदाहरण दिई, तर गाँजा खाने मान्छे खराब लाग्छन् भनिन।
अन्त्यमा मैले आफैं सोधेँ, ‘अनि गाँजा खाने मान्छे नि ? ’
उसले भनी, ‘किन खराब लाग्नु ? अस्सी वर्षकी मेरी हजुरआमा सधैं गाँजा खानुहुन्छ।’
सोधेँ, ‘कति भयो उहाँले खान थाल्नुभएको ? ’
भनी, ‘दस वर्ष जति भयो। पहिला चुरोट खानुहुन्थ्यो। त्यसले बेफाइदा गर्न थालेपछि गाँजा खान थाल्नुभयो। सधैं जीउ दुख्ने, पखाला लाग्ने, छटपटी हुने समस्या गाँजा खान थालेपछि ठीक भए। अहिले स्वस्थ हुनुहुन्छ। रक्सी खाने छिमेकी कराउँछन्, झगडा गर्छन्। उहाँ भने गाँजा खाएपछि मुस्कुराउनु हुन्छ। गाँजा खाने मान्छे खराब हुन् भनी कसरी भनूँ ? ’
यति सुनेपछि म बुरुक्क नउफ्रिने कुरै भएन। बडा चित्त बुझ्यो।
जति उचाइमा गयो, उति नै राम्रो गाँजा पाइने विश्वास गरिन्छ। हाम्रो देशको हिमाली भेगमा पाइने गाँजा सायद त्यसैले पनि संसारप्रसिद्ध छ। डर्टी, डिफिकल्ट र डेन्जरस काम गराउन मात्र हाम्रा युवा विदेश निर्यात गर्ने ? साक्षात् महादेवले सेवन गर्ने भनिएको हाम्रो देशको गाँजा किन निर्यात नगर्ने ?
गाउँघरमा अझै पनि गाईबस्तुदेखि मान्छेसम्मलाई लाग्ने रोग निवारणमा गाँजाको प्रयोग हुन्छ। सहरमा बसेर आफ्नै लहडमा कानुन बनाउनेले देश किन नबुझेका ? आफ्नै सभ्यता र संस्कृति किन नबुझेका ?
बिटल्स, जिमी हेन्ड्रिक्स, मिक ज्यागर, पाउलो कोहेलो, क्याट स्टिभेन्स, बब मार्लीसम्मका हस्तीहरूले हाम्रो सभ्यता र वनस्पतिलाई आफ्ना रचनामा उतारेको कुरा हाम्रा पर्यटनका हाकिमहरूलाई थाहा छ कि छैन ? कि तिनीहरू पढ्न र इन्टरनेट चलाउनै जान्दैनन् ?
भियतनाम युद्धमा आफ्ना युवालाई सिपाही बनाई पठाउन चाहेको अमेरिकी सरकारले ती युवा नेपाल आएर मस्त हुन थालेको देखी डराएर नेपालमा गाँजा प्रतिबन्धित गराएको हो सत्तरीको दशकमा। आफ्नो अर्थतन्त्रमा भएको त्यो प्रहार सहेरै हामी चाटुकार अमेरिकी जीहजुरी गरिरह्यौं। अब ब्यूँझिने बेला भएन ? भियतनाम युद्ध सकिइसक्यो।
अमेरिकी पुँजीवाद र राजनीतिको साँठगाँठमा परेर प्रतिबन्धित हुनुपर्यो बिचरो एउटा बिरुवा। निम्छरा देशहरूको कानुनमा उनीहरूले जबर्जस्ती त्यही लेख्न लगाए। अहिले भने त्यही अमेरिका गाँजालाई वैधानिकता दिन लागेको छ।
कैयौं राज्यमा त त्यसले कानुनी मान्यता नै पाइसकेको छ। हाम्रोमा यो बहस चलाउने हिम्मत र चासो कसले गर्ने ?
टाउकाको भारी र काँधको जिम्मेवारीलाई वि श्रान्ति दिँदै हामी शिवपुरी डाँडा चढेको हालैको एक शनिबार थियो त्यो। माथि उक्लने क्रममा हामी एउटा यस्तो ठाउँमा पुग्यौं जहाँ प्राकृतिक रूपमै उम्रिएका गाँजाका बुट्यानको घारी बनेको थियो। हामी आश्चर्यमा पर्यौं।
शिवपुरी छिर्ने प्रवेशद्वारमा कडाइका साथ चेकिङ हुन्छ। चुरोट, सलाई, रक्सी, धारिला हतियार आदि केही लाने अनुमति दिँदैनन् जंगलको रक्षार्थ खटिएका सिपाहीले। त्यस्तोमा कानुनले प्रतिबन्ध लगाएको त्यो बिरुवा कसरी जंगलभित्र छिरेर त्यत्रोविधि मौलाउन पायो ? मलाई खुसी लाग्यो।
चाहे हजार बाँध बाँधोस् मानिस, चाहे लाख सीमा कोरिदियोस् कानुन, अन्त्यमा जित प्रकृतिकै हुने रहेछ। प्रकृतिमाथि कानुनको कहाँ केही चलोस् ! जुरासिक पार्कका डाक्टरले भनेको सम्झिएँ, ‘नेचर विल अल्वेज फाइन्ड इट्स वे।’ लाग्यो, यसबारे लेख्नैपर्छ।
वर्जना र प्रतिबन्ध सधैं खतरनाक सिद्ध भएको छ। नेपालमा गर्भपतन गैरकानुनी हुँदा भारतका सीमावर्ती सहरका नक्कली डाक्टरहरूको हातबाट कैयौं नेपाली महिला मरे। पछि सुरक्षित गर्भपतनले कानुनी मान्यता पायो। सहरका अस्पताल र कुशल डाक्टरको हात यसमा परेपछि धेरैको ज्यान जोगिएको छ। कानुनले त यसरी एउटा ज्ञानी अभिभावकको पो काम गर्नुपर्छ। मूर्ख राजाले जस्तो जो मन लाग्यो त्यसैलाई झुन्ड्याइदेओ भनेर हुन्छ ?
नियमित रूपमा गाँजा सेवन गर्ने एउटा जेनेरेसन छ हामीकहाँ। तिनलाई त्यसका राम्रा–नराम्रा पक्षबारे कसले बुझाउने ? तिनले बाआमालाई सोधून् कि शिक्षकलाई ? तिनले पढ्ने पाठ्यपुस्तकमा त जंगबहादुरकालीन प्रोपागान्डाकै शैलीमा लेखिएको हुन्छ, गाँजा ‘लागूऔषध’ हो भनेर।
विभिन्न ठाउँमा जाँदा, बस्दा मैले तन्नेरीहरूले गाँजाका लागि प्रयोग गर्ने अनेक ‘स्ल्याङ’ सुनेको छु।
एक फुर्सदिलो दिन म एउटा क्याफेमा कफी पिउन बसेका बेला एक हुल किशोरी छेवैको टेबुल ओगटेर बस्यो। उनीहरू ‘पखेटा’ तान्न जाने कुरा गर्दै थिए। त्यस्तै, कोही ‘तोप’ भर्छन् त कोही ‘विड’।
म ठोकुवा गरेर भन्छु, संसारकै ५० प्रतिशतभन्दा बढी जनसंख्याले आफ्नो जीवनकालमा कमसेकम एकपल्ट गाँजा तानेकै हुन्छ। उसो भए यो फोस्रो आडम्बर किन त ?
कानुन बनाउन बसेका हाम्रा लठुवाहरू त बदलिँदो संसारको भाषाप्रति मानौं निरक्षर नै छन्। त्यसैले पोर्न बन्द गरे। भीपीएन भन्ने कुरा पनि हुन्छ भन्ने यिनीहरूलाई के थाहा ? नीतिनिर्माणको तप्कामा नयाँ युगको भाषा बोल्नेहरू कहिले आउने ? यता विरोध खतिवडा, आहुतिजस्ता भिजनरीहरूले गाँजालाई फुकुवा गराउनुपर्छ भनेर बहस चलाउन थालेका छन्। यी ऋषिमनहरूलाई भविष्यले धन्यवाद दिनेछ।
कविहरूले संविधान बनाएनन्। ऋषिहरूले नाराका स्वर भट्याएनन्। प्रेमीहरूले सरकारसमक्ष आफ्ना माग कहिल्यै राखेनन्। त्यसैले हाम्रा नियम र कानुन लठुवाहरूले बनाए। त्यसैले त प्रकृतिमाथि प्रतिबन्ध लाग्यो।
प्रेम वर्जित भएको यो देशमा जीवनलाई सुन्दर बनाउने जे जति कुरा छन्, वर्जित छन्। हिमालमा किन प्रतिबन्ध लगाउँदैनन् यिनीहरू ? वा सूर्यास्तमा ? सूर्यास्तले मान्छेलाई प्रेमका रंग सम्झाउन सक्छ। प्रेम गर्न उकास्न सक्छ। प्रेम समाजका लागि खतरनाक हो। प्रकृति खतरनाक हो। उद्योगले बनाएका कुरा बरु जति बिखालु हुन्, कानुनले छुट दिन्छ। कर जो तिर्छन् उद्योगहरू। त्यही करले कानुन बनाउनेहरू चिल्ला कार चढ्छन्। भुइँमान्छे नदेखिने अग्ला आइभोरी टावरमा बस्छन्। प्रकृतिले कर तिर्दैन। तिर्ने भए यहाँ कुनै वनस्पति गैरकानुनी हँदैनथ्यो।
ईश्वर सर्वव्यापी छन्। सब थोकमा छन्। केही कुरामा भने ईश्वर अलि बढी छन्। केही कुरामा ईश्वर आफ्नो सम्पूर्णतामा आएर बसेका छन्। एउटा वनस्पतिमा आएर ईश्वर यसरी बसिदिए, त्यो वनस्पति कल्पवृक्ष भइदियो। अर्थात् जसलाई जे चाहियो उसलाई त्यही दिने भइदियो।
निद्रा नलाग्नेलाई बादलको बिछ्यौना भइदिने, स्वादे जिब्रोलाई बाक्लो मीठो चटनी भइदिने यो वनस्पतिले अनेक कलाकारलाई जादुगर बनाइदियो। दुखेर छटपटाइरहेका क्यान्सरका रोगीहरूको पीडा हरिदियो। कपडा बनाउनेहरूले यसैको फाइबरको कपडा बनाए। जाडोमा न्यानो, गर्मीमा शीतल हुने रेशा बनिदियो।
तर धर्तीका केही लोभीहरूलाई ईश्वरको यो उदारता सह्य भएन। त्यसैले कानुन नामको अंकुश यो वनस्पतिमाथि लगाइदिए। तिनले भने— यसले लठ्याउँछ, मताउँछ। मूर्खताको राज छ संसारमा भन्ने कुराको प्रमाण के यही काफी छैन ? प्रकृतिमाथि प्रतिबन्ध ? आफूलाई जे स्रोतले जन्म दियो, त्यसैमाथि प्रतिबन्ध ? कुनै बिरुवा गैरकानुनी कसरी हुनसक्छ ? कानुन ठूलो कि प्रकृति ? ईश्वरले स्वीकार गरेर फलाएको, फुलाएको वनस्पतिमाथि कानुन लगाउनेहरूलाइ बुद्धिमान कसरी मान्न सकिन्छ ?
उनीहरू तर्क गर्लान्, समाजको सुरक्षाको दुहाई देलान्। तर समाज वर्जनाहरूले गर्दा असुरक्षित छ। अनेक रोग, शोक र किटाणुहरूले, मृत्युले असुरक्षित छ। उनीहरू मृत्युमाथि प्रतिबन्ध किन लगाउँदैनन् ? अनिद्रा, डिप्रेसन, क्यान्सरमाथि प्रतिबन्ध किन लगाउँदैनन् ? किन ती सबैको औषधि प्राकृतिक रूपमै गर्नसक्ने वनस्पतिमाथि प्रतिबन्ध लगाउँछन् ?
यसको कारण छ— उनीहरू हामी प्रकृतिमा हैन उनीहरूमा आ िश्रत भएको हेर्न चाहन्छन्। हामीमाथि व्यापार गरिरहन चाहन्छन् र त्यसका लागि हामीमाथि नियन्त्रण चाहन्छन्। सत्तरीको दशकमा अमेरिकी सरकारको दबाबमा गाँजामाथि प्रतिबन्ध लगाएको नेपाल सरकार अमेरिकी सरकारले यसका महत्व र फाइदाहरूको अघि घुँडा टेक्दासम्म किन मौन छ ? उत्तर सजिलो छ। हाम्रो देशमा नियम बनाउने र पालना गराउनेहरू संसारका मामिलामा अपडेटेड छैनन्। सरकारी जागिर खाएर वा राजनीति गरेर उच्च ओहदामा पुगेपछि उनीहरूलाई भुँडी र खल्ती भर्दै फुर्सद हुँदैन। समयको माग र बदलिँदो परिवेशका बारेमा उनीहरूलाई के चासो ?
यस अर्थमा नयाँ पुस्ताको भोट र समर्थन पाउने एउटा गतिलो सम्भावना ती नेताहरूलाई छ जसले यस विषयमा सशक्त आवाज उठाउन सक्छन्। अमेरिका, नेदरल्यान्ड्स, स्पेन, क्यानडा लगायतका विकसित राष्ट्रहरूले अनुमति दिएको कुरा हाम्रोमा अझै के कारण प्रतिबन्धित छ ? उनीहरूले यस विषयमा आवाज उठाउन सक्छन्। हाम्रो समर्थन रहन्छ त्यसमा।
अनेक रोगको औषधिको रूपमा गाँजाको प्रयोग गर्न सकिने रिसर्चहरू हुँदै जान थालेपछि धेरै देशले यसमाथिको कानुनी बन्देज फुकुवा गरेका छन्। नेपालका लागि यो एउटा महत्वपूर्ण अवसर हुन सक्छ। हामीकहाँ गाँजाको अनेक प्राकृतिक प्रजातिहरू अझै उपलब्ध छन्। तराईदेखि मधेससम्मका गल्ली र झाडीमा यो आफैं हुर्किरहेको हुन्छ। विदेशीहरू गाँजाका यी प्राकृतिक स्ट्रेनलाई विशेष मन पराउने गर्छन्। उनीहरूको देशमा कृत्रिम रूपमा हुर्काइएका प्रजातिहरू पाइन्छन् जसमा हामीकहाँ हुनेजति औषधीय गुणहरू कमै मात्र हुन्छ।
गाँजाको बीउ प्रोटिनको उत्कृष्ट स्रोत हो। यसमा मानव शरीरका लागि अत्यावश्क मानिएका नौ प्रकारका अमाइनो एसिड पाइन्छन्। ओमेगा थ्री र फाइबरसमेत पाइने गाँजाको बीउ पायल्स र कब्जियतका रोगीहरूलाई रामवाण मानिन्छ। गाँजाको बोटबाट प्राप्त गरिने रेशा ‘हेम्प’ कपडा र डोरी बनाउन सबैभन्दा उत्कृष्ट प्राकृतिक फाइबर हो। गाँजाले जे जति हानि गर्छ भनिएको छ, त्यसभन्दा बढी र मूल्यवान् यसका फाइदाहरू छन्। अनेक रिसर्चले यो क्यान्सरको निदानमा उपयोगी भएको देखाएका छन्। डिप्रेसन, बेचैनीलगायतका कैयौं मानसिक समस्या यो अचुक औषधि सावित भएको छ। दु :खाइ र पेटको रोगमा पनि गाँजाले फाइदा गर्छ।
यसले फाइदा र निदान गर्नसक्ने रोगहरूको सूची बनाउने हो भने सूची लामै बन्छ। चुरोटले के फाइदा गर्छ ? यो किन किराना पसलदेखि पान पसलसम्ममा पाइन्छ ? अनिद्रा, पेटका रोगदेखि लिएर माइग्रेनसम्मको समाधानका लागि यसको प्रयोग गर्ने मेरा टन्नै साथी छन्। असाध्य दुखाइका लागि गाँजाभन्दा सुरक्षित र प्रभावकारी अर्को औषधि छैन। बरु दुखाइका लागि प्रयोग गरिने पेन किलरले छोटो समयमै किड्नी ड्यामेज गरेका अनेक उदाहरण छन्। ग्लाउकोमा भनिने अन्धोपन नै गराउन सक्ने आँखाको रोगमा पनि गाँजाको प्रयोग लाभदायक सिद्ध भएको छ।
खासै प्रभावकारी एलोपेथिक औषधि नभएको रोग पार्किन्सन्सले आक्रान्त मेरा साथीहरू गाँजाको प्रयोगले आफूलाई धेरै राहत मिलेको बताउँछन्। क्यान्सर उपचारका लागि गरिने किमोथेरापीले गराउने वाकवाकीमा पनि गाँजाको प्रयोग लाभदायक छ। मात्नैका लागि प्रयोग गरिएको खण्डमा पनि गाँजाको नशा उत्तेजक किसिमको हुँदैन। बरु रक्सी खाएर मान्छे होहल्ला र झगडा गर्छ। गाँजा खानेहरू आफ्नै सुरमा शान्त भएर यसको आनन्द लिन्छन्। सिर्जनात्मक काम गर्नेका लागि त यो वरदान नै हो। हाम्रा कवि, लेखक, कलाकारहरू यसबारेमा किन केही बोल्दैनन् ? मलाई अचम्म लाग्छ।
हल्ला छ, गाँजाले अनेक रोग निको हुने भएको भएरै खरबौं लगानी भएका औषधि कम्पनीहरू गरिब देशको सरकारहरूलाई यसमाथिको प्रतिबन्ध हटाउन दिँदैनन्। हुन सक्छ, हाम्रो संस्कृतिमाथि धावा बोल्ने र त्यसलाई मास्ने षड्यन्त्रकै एक पाटो हो यो पनि। आयुर्वेदमा प्रयोग हुने अनेक रसायन पाश्चात्य दबाबका कारण प्रतिबन्धित भएकै छ र हुने क्रम जारी छ। संसारका अनेक देशबाट स्थानीय प्रजातिहरू मासेको आरोप लागेर लखेटिएको कम्पनी मोनसान्टो नेपाल आउन लाग्दै छ भन्ने सुनिएकै हो। कुनै दिन कुनै शक्तिकेन्द्रको खल्ती भारी गराएर नेपाल प्रवेश गर्ने दाउ गरिरहेकै हुँदो हो मोनसान्टो।
गाँजा नशालु पदार्थ हो र यो प्रतिबन्धित हुनैपर्छ भनेर तर्क गर्नेहरू पनि होलान्। तर नशालु पदार्थ प्रतिबन्धित हुँदैमा प्रयोग गर्ने मान्छे घट्छन् भन्ने हैन। बरु नशालु पदार्थका प्रयोगकर्ताहरू अञ्जानमा अन्य हानिकारक पदार्थहरूको प्रयोग गर्न थाल्ने खतरा हुन्छ त्यसमा।
अमेरिकाको सरकारी स्वास्थ्य विभागले मुसामाथि गरेको अध्ययनमा गाँजाको प्रयोगले क्यान्सरग्रस्त कोष मारेको पुष्टि गरेको छ। गाँजाको प्रयोग फुकुवा भएका अमेरिकी राज्यमा क्यान्सरका रोगीहरूले पीडा कम गर्नकै लागि भए पनि यसको प्रयोग सुरु गरिसकेका छन्। विकसित भनिएका देशमा भर्खरै कानुनी मान्यता पाउँदै गरेको गाँजाका फाइदा र बेफाइदाका बारेमा विस्तृत अध्ययन हुने क्रम जारी छ। यसका तात्कालिक असरहरूमा इन्द्रियहरूको अत्यधिक संवेदनशीलता, समयशून्यता र अवर्णनीय खुसी बताइएको छ। सायद त्यसैले पनि यो सिर्जनात्मक काम गर्नेहरूको प्रिय रहँदै आएको होला।
यिनै कारणहरूले गर्दा धार्मिक र आध्यात्मिक प्रक्रियाहरूमा समेत गाँजाको विशेष महत्व रहँदै आएको छ। गाँजा सेवन गर्नेहरूले आफूले ईश्वर र ब्रह्माण्डसँग एक भएको अवस्था अनुभव गरेको बताउने गरेका छन्। म हुर्किएको मध्यमवर्गीय बाहुनवादी समाजको सबैभन्दा ठूलो डर मान्छेले के भन्लान् भन्ने डर थियो। कानुनी झमेलामा परिएला वा जेल परिएला भनेर त्यो समाज सधैं सशंकित रहन्थ्यो।
त्यसैले कानुनको अक्षरश : पालना गर्नुलाई नै यो समाजले आफ्नो धर्म ठान्यो। कहिले कुनै कुरामा प्रश्न नगरी भेडा बनेरै यिनको जीवन बित्यो। कानुनमाथि प्रश्न गर्नसक्ने केही बागी सत्ता परिवर्तन हँदा बन्ने नयाँ कानुनको पालनालाई नै आफ्नो धर्म ठान्थे।
म आफू जन्मिएको, हुर्किएको यो लोभी र कायर मध्यमवर्गीय बाहुनवादी समाज बहिष्कार गर्छु। कानुन कसले र कसको फाइदाका लागि बनाउँछ भनेर यिनले कहिल्यै प्रश्न गरेनन्। बरु तल्लो जात भनी हेपिएकाले नै सधैं अवज्ञाको हिम्मत गरे।
नेपालमा माओवादी जनआन्दोलन सफल हुनुमा पश्चिम नेपालका खाम मगरहरूको विशेष हात छ। उनीहरू पुख्र्याैली रूपमा नगदे बालीका रूपमा गाँजा खेती गर्थे। गाँजाको रेशाबाट कपडा बनाउँथे। त्यसैका बियाँको अचार बनाउँथे। अमेरिकी सरकारको दबाबमा नेपालमा गाँजा खेती अवैध करार गरिएपछि भड्किएका उनीहरूले तत्कालीन बागी माओवादी आन्दोलनलाई विशेष समर्थन गरे।
म ती साहसिला दाजुभाइ दिदीबहिनीप्रति यहीँबाट श्रद्धाले शिर निहुराउँछु। देश संघीय प्रणालीमा गएयता केही प्रदेशमा गाँजामाथिको नियन्त्रण फुकुवा गराउने बहस चल्दै छ। यसलाई फुकुवा गराउने पहिलो प्रदेश र त्यसका भिजनरी प्रशासकहरू यो देशको इतिहासमा अमर रहनेछन्। उनीहरूलाई भविष्यको पुस्ताले सम्मान र प्रेम गर्नेछ। @swamianoopamaxl