प्लुटो

प्लुटो

कुकुरलाई एकाएक पुरानै अवस्थामा देखेर उनीहरू खुसीले प्रफुल्लित हुन्छन्। उनीहरू प्लुटोलाई पालैपालो उचालेर अँगाल्छन्। प्लुटो उनीहरूको अनुहारभरि मायाले चाट्न थाल्छ।


बैठक कोठाको किताब र्‍याकबाट भइँमा खसेको चाल्र्स डार्बिनको किताब ‘ओरिजिन अफ स्पेसिज’बाट च्यात्तिएर बाहिर छरिएका छन् केही पाना। ती पानाहरूलाई एकदम एकचित्त भएर सुँघ्न थाल्छ प्लुटो नामधारी एउटा कौतूहल जर्मन सेफर्ड। पानाहरू आद्योपान्त सुँघिसकेपछि उसको मुहारमा एकाएक परिवर्तन आउँछ। उसलाई केही अजीव महसुज हुन्छ। किन–किन उसलाई एक्कासि आफ्ना जिजुपुर्खाहरूको बेस्सरी याद आउँछ। उसले आफ्नो माता पितालाई सम्म नसम्झेको युग भइसकेको अवस्थामा आफूले जिन्दगीमा कहिल्यै साक्षात्कार नै नगरेका जिजुपुर्र्खाहरूको याद आउनु अनौठो घटना भइदिन्छ। उसलाई एक्कासि किन यस्तो भयो, उसले कुनै भेउ पाउन सक्दैन। आफ्नो मानसिक असमञ्जस्यमाझ ऊ टीभी र सोफाको बीचमा ज्यामिति मिलाएर ओछ्याइएको मुलायम गलैंचामाथि गएर घुद्रुक्क पल्टिन्छ।

कुनै डरलाग्दो जंगलको बीचमा ठिंग उभिएको छ ऊ। उसको अघिल्तिर उसको स्वागतखातिर एक हुल प्राणी तम्तयार छ। ती प्राणीहरू छन् करिब करिब आफूजस्तै। आफ्नोजस्तै अनुहारको बुनोट, कालो नाक अनुहारको अघिल्तर टुप्लुक्क छ आफ्नैजस्तो। मुखभित्र दाह्रा उस्तै, उस्तै छ पुच्छरको ढाँचा। शरीरको सम्पूर्ण वास्तुकला दुरुस्तै देखिन्छ। उनीहरूको आँखा भने अलि बढी पहेँला र कान बढ्ता चनाखा देखिने गरी अलि ठाडा। शरीर उसको भन्दा केही ठूला र अनुहारको भावभंगीमा अलि बढी रिसाहापन, अलि बढि डरलाग्दो प्रकटन।

उनीहरू छन् उसको स्वागतार्थ तम्तयार-

‘हे एकै पुर्खाका सन्तान, हाम्रो निकटतम बन्धु। मानवनिर्मित दासत्वको साङ्लो चुँडेर आफ्नो स्वतन्त्रतामा फर्किनुभएको छ। तपाईंलाई हाम्रो परिवारमा स्वागत छ। पाल्नुहोस्।’

तरररररररररऽऽऽ

बैठक कोठाको टीभीमा फलानो ‘रियालिटी सो’मा ढिस्कानो सहभागीले आफ्नो प्रस्तुतिलाई अन्त्य गर्छ। मञ्चअघि विराजमान दर्शकदीर्घाको जमातले बेस्सरी ताली पिटेर आआफ्नो धर्म निर्वाह गरिरहेको उक्त क्षणमा उसले आफ्ना अज्ञानताका आँखा खोल्छ- झल्याँस्स।

अहो ! अहो ! अहो ! जो उसलाई एकै पुर्खाका सन्तान, आफ्नो निकटम बन्धु भनेर सम्बोधन गरिरहेका थिए; करिब–करिब आफूजस्तै आकृतिहरू, ती त ब्वाँसाहरू थिए। डरलाग्दो जंगलमा बस्ने हिंस्रक प्राणी- ब्वाँसाहरू।

घरमा आक्कलझुक्कल लाग्ने नेसनल जियोग्राफी च्यानलमा उसले ती हिँस्रक जनावरहरूलाई देखेको छ। ती प्राणीलाई देख्दा उसलाई कता–कता आफूजस्तै नलागेको त होइन तर उनीहरूको हिंस्रक पवृत्ति र अधम्य साहस देखेपछि उसलाई आफू भ्रममा परेको यकिन भएको थियो।

तर ठीक यति बेला भने उसको मगजको तलैयामा सन्देहले डुंगा खियाइरहेको छ। के साँच्चि उनीहरू एकै पुर्खाका सन्तान नै हुन् त ? निकटतम बन्धुहरू नै हुन् त ?

ब्वाँसाहरू जंगलमा बस्छन् र समूहमा सिकार गर्छन्। ती कतिसम्म साहसी, कतिसम्म निडर र बलशाली हुन्छन् भने उसको जस्तै दाह्रा र नंग्राको सहायताले मृगहरूको मात्रै के कुरा, अर्नाजस्ता भीमकाय जनावरसमेत मज्जैले मारिदिन्छन्। बाघ, सिँह, चितुवा, आम्मै–आम्मै ! जंगलमा ती ब्वाँसाभन्दा हजारौं गुणा हिंस्रक र बलवान् प्राणीहरू यत्रतत्र छरिएका हुन्छन्, जति बेला पनि जम्काभेट हुन के बेर ? हात्ती, गैंडाजस्ता अजंग, बिच्छी, सर्पजस्तै विशालु जनावरहरूको माझमा निर्धक्क बसोबास गर्नु कम्ता चुनौती, कम्ता साहसको कुरा होइन, जहाँ पाइला पाइलामा त्रास मात्रै छ, पाइला पाइलामा मृत्यु मात्रै छ।

आफ्नै पुर्खाका सन्तान भईकन पनि कसरी बस्न सक्छन् होला ती ब्वाँसाहरू त्यस्तो डरलाग्दो परिवेशभित्र, जहाँ बस्नु ऊजस्तो प्राणीका लागि मुस्किल मात्रै होइन; असम्भवप्राय : नै छ। उसलाई आश्चर्य लाग्न थाल्छ। उनीहरू के गरी ऊभन्दा त्यति फरक भए ? त्यस्तो डरलाग्दो जंगलभित्र उनीहरूलाई मान्छेको आडभरोसा र सहाराबिनै बस्न कसरी सम्भव भयो ?

प्रश्न ‍औ आश्चर्य मिश्रित मनोदशासँगै प्लुटो गलैंचाबाट उठ्छ र झ्यालतर्फ पाइला चाल्छ। घरअघिल्तिरको सार्वजनिक पार्कमा जापनिज स्पिज नश्लको श्वेत छाउरो एउटा भुँडे मानव आकृति वरिपरि उन्मादित अवस्थितिमा उफ्रँदै कुद्दै हुन्छ। भुँडे आकृतिको अनुहारमा कतिखेर छाउराले बिस्ट्याउला र उठाऊँला भन्ने पर्खाइको छटपटी देखिन्छ।

प्लुटोको मनभित्रको हुन्डरी यथावत् चलिरहन्छ।

उनीहरू त यतै कतै हुनुपर्ने वरपर छरछिमेकतिर। हुनुपर्ने कतै छ त, मैदान, सडक या नालीतिर। दाम्लोमा बेरिएर कुनै पार्कतिर लुखुर–लुखुर डुलिरहेको हुनुपर्ने उनीहरू पनि मान्छेको अघिपछि। या त कुनै सडकछाप भुस्याहा कुकुरहरूजस्तो कतै खलान सुँघिरहेको, फोहोरको थुप्रो खोस्रिरहेको वा कतै भोको पेट, जीउभरि अजस्र पीडा बोकेर मान्छेको अनुहारमा याचनाको दृष्टिले हेरिरहेको या मान्छेहरूकै अनुहारबाट त्रासको कम्पनले भागिरहेको भेटिनुपर्ने।

प्रश्न औ जिज्ञासाले भरिएको अनुहारलाई उसले यताउती घुमाउन थाल्छ। आँखाहरू प्रश्न बोकेर बस्तीको कुनाकाप्चासम्म पुग्छन् र निरुत्तर फर्कन्छन्। उसले एउटा दीर्घ श्वास लिन्छ र लामो गरी फ्याँक्छ। सधैं छिटोछिटो श्वास लिने उसको जैविक गुण भएकाले होला, उसलाई यो दीर्घ श्वासले झन् गाह्रो बनाउँछ। साह्रै अप्ठ्यारो पर्दा मान्छेहरू दीर्घ श्वास लिएर एकछिन हल्का भएको उसले देखेको छ। ‘यो मान्छेहरूका लागि मात्रै रहेछ’, उसले लख काट्छ।

छेउको सोफातिर यस्तरी लम्किन्छ, मानौं कुनै रोबोट हिँडिरहेछ एकदम किंकर्तव्यविमूढ। सोफामाथि टुक्रुक्क बस्छ। दिमाग फनफनी घुमिरहेको महसुस हुन्छ उसलाई र आफ्ना अघिल्ला दुई खुट्टालाई उचालेर घुमिरहेको आफ्नो टाउको अड्याउँछ। यसो गर्दा उसलाई केही राहत त हुन्छ तर उसको बसाइ एकदम अजीव र हास्यास्पद देखिन्छ।

‘होइन, बरु हामी पो यहाँ यो मान्छेहरूको बीचमा कसरी आइपुग्यौं ? ’ एक्कासि उसको सोचले कोल्टे फेर्छ।

‘ती हाम्रा जिजुपुर्खाका सन्तानहरू कस्तो निडर बाँचिरहेका होलान् जंगलमा स्वतन्त्र जिन्दगी। उनीहरूलाई न कुनै चार दिवारभित्र कैद हुनु छ, न त कुनै दोस्रो प्राणीप्रति आश्रित हुनु छ। न कुनै मानवको दास भएर उसकै आज्ञाको इशारामा नाच्नु छ। अहो ! तोकिएको समयतालिकामा खानु, तोकिएकै समयतालिकामा हग्नु, मुत्नु यो कस्तो जिन्दगी ? यतिसम्म कि सम्भोग पानि मानव चाहनाअनुरूप तोकिएकै प्राणीसँग गर्नुपर्ने या प्राय :जसो त्यसबाट जिन्दगीभर वञ्चित नै रहनुपर्ने यो विल्कुल एक्लो औ निरश जिन्दगीभन्दा हजार गुणा भरिपूर्ण जिन्दगी बाँच्दा हुन् ती ब्वाँसाहरू।’

उसले आफ्नो लाचार जिन्दगीको दैनिकीलाई ऐनामा हेर्न थाल्छ। ‘आफ्ना दावँल दौंतरीसँग एक बारको जिन्दगीमा कतै एकछिन बिताउनु पनि छैन हामीलाई। हामीलाई पाल्ने मान्छेसँग हामी खुसी हुँदै पुच्छर हल्लाइदिनुपर्ने, उनीहरूसँगै रमाइदिनुपर्ने, यिनीहरूले उठ् भने उठिदिनुपर्ने, बस् भने बसिदिनुपर्ने, कुद् भने कुदिदिनुपर्ने। दिनभर कोठाभित्र एकोहोरो गुम्सिएर केवल यिनीहरूकै प्रतीक्षामा बसिदिनुपर्ने कस्तो नियति हाम्रो। त्यस्ता स्वतन्त्र र निडर पुर्खाहरूको सन्तती हामी कसरी यस्तो आश्रित र कायर जिन्दगी बिताइरहेछौं यी मान्छेहरूको मनोरञ्जनको साधन भएर ? कसरी हामीलाई हाम्रो समुदायबाट अलग्याएर एक्लोे बनाउन सक्षम भए यिनीहरू ? कसरी हामी यिनीहरूबेगर हाम्रो जिन्दगी जिउन नसक्ने स्थितिमा आइपुग्यौं ? यिनीहरूकै घरको छतबेगर हाम्रो कुनै बस्ने ठाउँ छैन, यिनीहरूकै भान्साबेगर हाम्रो कुनै खाने ठाउँ छैन। न हामी निश्चिन्त जंगलमै रात बिताउन सक्छौं, न आफ्ना लागि आफैंले भोजनको राम्रोसँग जोहो नै गर्न सक्छौं, न त हामीसँग आफ्नो लागि एउटा ओतसम्म बनाउने सीप छ। हामी त खत्तम भइसकेछौं। मान्छेले त हामीलाई आफ्नो दास बनाइसकेछन्, दास।’

बैठक कोठाभत्रि सोफामाथि प्लुटोको अद्भुत आसन कायम नै थियो। ऊ आफ्नो सोचमा कति डुबिसकेछ भने उसलाई समयको हेक्का भएन।

‘प्लुटो !’

‘प्लुटो !’

मानव परिवारको एक सदस्य जब बैठककोठाभित्र प्लुटोलाई बोलाउँदै छिर्छिन्, उसको बसाइ देखेर उनलाई थामिनसक्नुको हाँसो उठ्छ। हतारहतार आफ्नो गोजीभित्रबाट मोबाइल निकालेर कुकुरको यो कहिल्यै नदेखिएको अनौठो पोजलाई उनी बिरालोे चालमा फ्रन्ट भ्यु, साइड भ्यु, ब्याक भ्युलगाएत तमाम कोणबाट एक भारी फोटो खिचिसक्दा बल्ल उनी धीत मारेर हाँस्दै फेरि बोलाउन थाल्छिन्।

‘प्लुटो !’

‘प्लुटो !’

प्लुटो चुपचाप छ। उही पोजमा अनेक चिन्तनमा लिप्त छ ‌ऊ। उसलाई मानव सदस्यको आगमन, खित्का र आग्रहको कुनै पर्वाह छैन या उसले कुनै भेउसम्म पाएको छैन। उसले आफ्नो चिन्तनको संसारभन्दा बाहिरको संसारलाई अझै आफ्ना इन्द्रियहरू प्रदान गरेको छैन। ऊ उही पोजमा छ मूर्तिवत्।

लामो समयसम्म पनि प्लुटोलाई हल न चल एउटै आसनमा जड देखेपछि मालिक्नी आत्तिएर प्रकम्पित स्वरमा चिच्याउन थाल्छिन्-

‘प्लुटो !’

‘प्लुटो !’

आत्तिँदै उनी प्लुटोको छेउमै पुग्छिन्। यावत् इन्द्रियहरू नै बिथोलिने गरी उनले प्लुटोको ध्यानमग्न कायालाई बेस्सरी हल्लाएपछि बल्ल ऊ झसंग हुँदै तन्द्राबाट बिउँझिन्छ। आफ्नो एकान्त समय बिनाकारण बिथोलिदिने मानव सदस्यमाथि ऊ एक जोर क्रोधित नजर फ्याँक्छ।

‘यी मूला मान्छेहरू हामीलाई एकैछिन आरामले सोच्नसम्म दिँदैनन्’, रिसले मुर्मुरिँदै ऊ भर्‍याङमाथि उक्लिएर छततिर लाग्छ।

अब यो घरभित्र उसलाई दिनप्रतिदिन झन्पछि झन् उकुसमुकुस हुँदै जान थाल्छ। घर झ्यालखानाजस्तै लाग्न थाल्छ।

प्लुटो यता आ- हस्।

प्लुटो हात दे- हस्।

प्लुटो जा कुद्दै गएर भकुण्डो लिएर आइज- हस्।

प्लुटो कत्ति क्युट- (फुरुंग)

लभ यु प्लुटो- (दंग)

प्लुटो, ला खाना खा- हस्।

प्लुटो, जा दिसा गर- हस्।

अनेकन आदेशहरूमा ऊ दासता देख्न थाल्छ। उनीहरूको मनोरञ्जनको निमित्त निर्देशित, उनीहरूको मन बहलाउने फगत एक साधन देख्न थाल्छ आफूलाई। उसलाई हरबखत झिँजो लाग्न थाल्छ। माया र प्र‌शंसाका शब्दहरूमा पहिले ऊ जति प्रफुल्लित भएर उफ्रिन्थ्यो, उसलाई ती अब आफ्नै पतनका शब्दावलीहरूजस्तै लाग्न थाल्छन्। उसको मनोदशा दिनानुदिन भत्किँदै जान थाल्छ। ऊ ज्यादा टोलाउन थाल्छ। प्राय : ऊ त्यही आफ्नो अजीव आसनमा मूर्तिवत् देखिन थाल्छ।

उसले मानव सदस्यहरूका अह्रनखटनहरू अब मन नलागी नलागी गर्न थाल्छ। उनीहरूको साक्षात्कारमा उसको पुच्छर पहिले–पहिलेजस्तो वेगमा नाच्न छाडिदिन्छ। बस्, अल्छीलाग्दो पारामा घडीको पेन्डुलमजस्तो यन्त्रवत् हल्लिदिन्छ एकैछिन।

प्लुटो यता आ- जानै त पर्‍यो नि।

प्लुटो हात दे- दिनै त पर्‍यो नि।

प्लुटो जा कुद्दै गएर बल लिएर आइज- ल्याउनै त पर्‍यो नि।

प्लुटो कत्ति क्युट- ठीकै छ।

लभ यु प्लुटो- ठिकै छ।

प्लुटो ला खाना खा- नखाई पनि त भएन।

प्लुटो जा दिसा गर- नगरी पनि त भएन।

बिस्तारै बिस्तारै उसले अह्रनखटनहरू टेर्नै छोड्छ। उसले आफ्नो पुच्छर बरु कतै एकान्तमा मन लगाएर नचाइदिन्छ तर मानव परिवारका सदस्यहरूको साक्षात्कारमा उसको पुच्छर सिमेन्टको पिल्लरजस्तो जड भइदिन्छ। एक किसिमले ऊ भद्र अवज्ञा आन्दोलन नै गरिदिन्छ।

प्लुटो यता आ- मरिगए आउँदिनँ।

प्लुटो हात द- दिन्न जा।

प्लुटो जा कुद्दै गएर बल लिएर आइज- तेरो बल तैं लिएर आ।

प्लुटो कत्ति क्युट- ह्या।

लभ यु प्लुटो- ह्या झिँजो नला।

प्लुटो ला खाना खा- तैं घिच।

प्लुटो, जा दिसा गर- तैं गर।

मानव परिवार आफ्नो कुकुरमा आएको यो परिवर्तनले सुरुसुरुमा जति आश्चर्यचकित थिए, पछि विस्तारै त्यति नै चिन्तित हुन थाल्छन्। खेल्न, कुद्नको साथसाथै प्लुटोले खाना खान पनि अटेर गर्न थालेपछि अन्त्यमा उनीहरू कुकुर बिरामी भएको अड्कल काट्छन् र छिट्टै कुनै दिन डाक्टरकहाँ लैजाने सल्लाह गर्छन्।

एक दिनको कुरो, प्लुटोको भद्र अवज्ञा आन्दोलनले हदै नाघिदिन्छ। मानव परिवारका सदस्यहरू नित्यजस्तै आआफ्नो कामको सिलसिलामा प्लुटोको एक्लोपनलाई घरमै थन्क्याएर बाहिर हिँडिसकेपछि ऊ आफ्नो उही पछिल्लो कालमा परिचित अजीवासनमा सोफामाथि गम्भीर मुद्रामा टुसुक्क बस्छ र आँखा चिम्म गरेर आफ्ना बचपनका घटनाक्रमहरूलाई एक–एक गर्दै नियाल्न थाल्छ।

बाल्यकालमा ऊ चञ्चल थियो। अटेरी, आक्रामक थियो। मान्छेले भनेको उसले टेरपुच्छर लगाउँदैनथ्यो। आफ्नै दुनियाँमा आफ्नो माताको साथ मस्त थियो, जिन्दगी अलमस्त थियो। उसका थुप्रै भाइबहिनी थिए, साथीसंगीहरू थिए। उनीहरूसँग ऊ खेल्थ्यो, कुद्थ्यो, रमाउँथ्यो। तर उसको मातासँगको समीपता, उसका भाइबहिनी, साथीसंगीहरूसँगको सामीप्यता धेरै दिन नै टिकेन। उसलाई उनीहरूबाट अलग्याइयो र एक्लो बनाइयो। मान्छेको लागि तयार रोबोट हुनुपर्ने समय आइसकेको थियो उसको र उसलाई प्रशिक्षण केन्द्र लगियो।

उसले सम्झन थाल्यो, कसरी उसको कलिलो दिमागलाई मानिसहरूले आफ्नो दास बन्ने गरी प्रशिक्षण दिए। इनामस्वरूप पाइने विविध व्यञ्जनहरूको प्रलोभनमा उसले कसरी सिक्यो बस् भन्दा खुरुक्क बस्न, उठ भन्दा जुरुक्क उठ्न। कसरी उसको कलिलो दिमागलाई भ्रमित तुल्याई तुल्याई सिकाइयो आइजो भन्दा आउन, जा भन्दा जान। इनामको कुन प्रलोभनले उसले आफ्नो अघिल्लो दाहिने खुट्टा मान्छेको हत्केलामा राखिदिन्थ्यो, कुन प्रलोभनले ऊ बेतोड कुद्थ्यो र फ्याँकिएको भकुण्डो लिएर मानवमालिकसामु खुरुखुरु आउँथ्यो र कस्तरी उसलाई यसमा अभ्यस्त बनाइयो। उसको दिमागमा एक–एक गरेर नाच्न थाले प्रशिक्षणकालीन ती दृथ्यहरू। उसलाई कुनै हेक्का थिएन कसरी उसलाई बिस्तारै बिस्तारै रोबोट बनाइँदै छ, दास बनाइँदै छ मालिक मान्छेहरूका लागि।

सम्झँदा सम्झँदै उसलाई भाउन्न हुन्छ। एकाएक उसलाई एकदमै असहज महसुस हुन्छ। उसको पेट बेहद बटारिन थाल्छ र आन्द्राहरूमा साह्रै अप्ठ्यारो भइदिन्छ। उसले सहनै सक्दैन।

‘लौ जा त। दिसा लाग्दा पनि कहाँ कहाँको कोठामा पुगेर, कस्ता–कस्ता जिनिसमाथि कुन अप्ठ्यारो गरी बसेर, ठ्याक्कै प्वालमै पर्ने गरी हग्दिनुपर्ने तिमेरका लागि।’

उसले आफू बसेको आसनबाट आफ्नो चाक अलिकति मास्तिर उठाएर सोफामै सुइँक्याइदिन्छ।

ऊ सोफाबाट उठ्छ। आफ्नो हर्कत देखेर कता–कता डर लाग्छ उसलाई। तर सोफामा बडो हँसिलो मुद्रामा आफ्नो गुहु देखेपछि ऊ आफ्नो हिम्मत देखेर दंग पर्छ।

तर मनै त हो फेरि, उसलाई केही डर लाग्न थाल्छ।

झ्यालमा बसेर टोलाउन थाल्छ ऊ।

बजारको कुनै उपभोग्य वस्तुजस्तै ऊ किनियो बचपनमै। उसको साथमा अन्य मित्रहरू बेचिनका लागि तम्तयार थिए। उनीहरू पनि किनिए होलान्। कुन–कुन ठाउँमा मानव मनोरञ्जनको साधन भएर, मन बहलाउने मिसिन भएर बसिरहेका होलान्। आफूलाई दास बनाएर मान्छेले कसरी पतीत बनाइरहेछन्, कसरी आँखा छोपिदिएर रिँगाइरहेछन् भन्ने हेक्कै नभएर दङ्दास होलान्। कोही गाडीमा चढेर ठाउँ–ठाउँ सयर गर्दा हुन्। अलिकति पनि बिरामी पर्दा ख्याल राख्ने मान्छेहरू देखेर धन्य–धन्य हुँदा हुन् आफ्नो जिन्दगीप्रति। उफ्रिनु खेल्नु छँदै छ। मीठो खानु छँदै छ। न्यानो गरी सुत्नु छँदै छ। न डर, न त्रास कुनै हिंस्रक प्राणीहरूको, टोलका दादा भुस्याहा कुकुरहरूको।

बस्तीको एउटा मकानको दैलोमा एउटा भोटे कुकुर देखा पर्छ। उभिएको भोटे कुकुरसँग उसका आँखा ठोकिन्छन्। भोटेले खाऊँलाजस्तो गरी उसको अनुहारमै ताकेर तथानाम भुक्न थाल्छ। ‘दैलोको कुकुर बलियो !’ भुकाइप्रति बेवास्ता गर्दै प्लुटो आफ्नो टोलाउने सिलसिला जारी राख्छ।

कुनै बेघर भुस्याहा कुकुरले फेरि अर्कै सोच्दो हो। लाग्दो हो, उनीहरूलाई पनि कसैले शरण लिदिए जिन्दगीले अर्थ पाउने थियो। जाडोमा लुगलुग कामेर सन्की मान्छेहरूको त्रास बोकीबोकी घरको पेटी, दुर्घन्धित नाली छेउ, पर्खालको आड, कुनाकाप्चा या असिना, झरीले चुटिँदै खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता हँदैनथ्यो। शरीरभरि विभिन्न घाउचोट बोकेर उपचारको अभावमा निरीह भएर छाक खोज्दै या कहीँ कतै चोरीको मौका पर्खंदै बस्नुपर्ने बाध्यता नहुँदो हो त उनीहरूका लागि जिन्दगी जिन्दगीजस्तै हुने थियो कि।

सहरको किनारबाट टाढा उभिएको, धुवाँको पर्दाभित्र धमिलो–धमिलो देखिने पहाडको जंगलबाट आएको एक हरफ चिसो स्याँठले प्लुटोको नाकमा नमीठो कविता लेखेर जान्छ- ‘हाच्छिउँ।’

उसको चिसो कायालाई बैठक कोठाको भुइँमा ओछ्याइएको मुलायम गलैंचाको न्यानोपनले आमन्त्रण गर्छ।

‘साँच्चै ! ब्वाँसाहरूलाई यस्तो आनन्द, यस्तो सुविधा त कहाँ र ? ’ आफ्नो शरीरलाई न्यानो पार्दै उसले विचार गर्न थाल्छ।

‘अनेकानेक हिंस्रक प्राणीहरूको साथ जंगलमा कसरी त्रसित बाँच्नुपर्दो हो। बिरामी हुँदा कसले उपचार गर्दो हो ? यी मान्छेहरू छन् र औषधिमुलो गरिदिन्छन्। कति छिट्टै निको भइदिन्छन् कत्ति डरलाग्दा रोगहरू, घाउहरू, दु :खहरू। थरीथरीका व्यञ्जन कति सहजै उपलब्ध हुन्छ मान्छेको भान्छाभित्र हामीलाई। झरी, चट्याङ्, हावाहुरी केही नसोची कस्तरी निर्धक्क निदाउन सकिन्छ यहाँ।’

बेघर भुस्याहा कुकुरहरूकै जिन्दगी सम्झँदा पनि ऊ भावुक हुन्छ। घरभित्र पालिएका ऊजस्तै कुकुरहरूभन्दा कति–कति स्वतन्त्र भईकन पनि कत्ति दयनीय स्थिति छ उनीहरूको। एक छाक जुटाउन कस्तो संकट छ। कस्तो–कस्तो फोहोरमा मुख जोती जोती हिँड्नुपर्छ, छि ! सोच्दा पनि उसलाई बान्ता लागेर आउँछ। त्यसमाथि कारण अकारण कस्तरी निर्दयी भएर ढुंगा, भाटा, लात्ता वा उस्तै परे धारिलो हतियारसम्मले आक्रमण गर्छन् मान्छेहरू यिनै भुस्याहा कुकुरहरूलाई।

‘अहो ! कत्ति घृणा गर्छन् यी मान्छेहरू कुनै मान्छेको सहाराविहीन हामीहरूलाई नै। यो घरबाट विद्रोह गरेर म निक्लिएँ या निकालिएँ भने मेरो जाने ठाउँ कहाँ छ ? मेरोअगाडि यिनै भुस्याहा कुकुरहरूको जस्तो नै जिन्दगी त बाँकी रहन्छ। एक्लै म कहाँ जान सकूँला ? के म जंगलको डरलाग्दो वातावरणमा एक्लै जिउँदो रहन सकूँला ? फेरि जंगलमा मैले आफ्नो गाँस, बास, कपास, औषधिमुलोको जोहो कसरी गर्नु, ‌ओहो ! बाँच्नु कसरी त्यहाँ, हत्तेरी !’

गलैंचामाथिको आफ्नो आसन बदल्दै उसले गम्न थाल्छ।

‘म ब्वाँसोजस्तै निडर भएर ब्वाँसोको जस्तै स्वतन्त्र जिन्दगी बिताउन सक्छु त ? के मैले उनीहरूबाट सिक्न सकूँला उनीहरूको जीवनशैली ? के उनीहरू मलाई सिकाउलान् ? मैले उनीहरूलाई कुन भाषामा सम्झाउन बुझाउन सकूँला कि म उनीहरूकै सन्तति हुँ भनेर ? के उनीहरूले मेरो भाषा बुझ्लान् ? के उनीहरूलाई हाम्रोबारे थाहा होला ? के थाहा, उल्टै उनीहरूले ममाथि आक्रमण गरी मेरो ज्यान नलेलान् भन्ने, के ग्यारेन्टी ? जंगलमा बस्ता–बस्ता उनीहरूको स्वभाव कत्ति हिंस्रक भइसकेको छ। के मलाई देखे भने ज्यूँदो बाँकी राख्लान् उनीहरूले ? ’

प्रश्नैप्रश्नको घेराबन्दीभित्र ऊ छटपटिन थाल्छ। उसको नाकको शिखरमा पसिनाका दाना टिलपिलाउन थाल्छन्।

‘हामीलाई मानिसको बफादार सेवक देखेर हामीप्रति उनीहरूको घृणा पो छ कि ? या हामी आरामदायी गाडीमा सयर गरिरहँदा उनीहरूमा हामीप्रति आह्रिस पो छ कि ? ’

‘उफ् !’

ऊ गलैंचाबाट उठ्छ र फेरि झ्यालतर्फ लम्कन्छ।

‘हुन त उनीहरूलाई के फुर्सत हाम्रो जिन्दगीमाथि आफूलाई तुलना गरी बस्न, जरुरी के र उनीहरूलाई। हामी गाडीमा हिँडौं कि आरामदायी सोफामा बसौं, उनीहरूलाई त्यसले रत्तिभर के फरक पार्छ र ? उनीहरू आफ्नो स्वतन्त्र जिन्दगीमा उन्मादित छन्, आफ्नै संसारमा मग्न छन्। यी विल्कुल असम्बन्धित कुराहरू उनीहरूले के खाँचोले सोच्दा हुन् ? उनीहरूको जो आफ्नो प्रकृति छ, जो आफ्नो स्वाभव छ, त्यसमै अलमस्त छन्, आफ्नै कर्ममा व्यस्त छन्।’

अनेक दुविधाहरूसँगको लामो घम्साघम्सीपछि प्लुटो केही संनयमित देखिन थाल्छ। उसलाई लाग्न थाल्छ, उनीहरूलाई पहिले नै यो दासता अस्वीकार्य हुनुपर्ने थियो जति बेला उनीहरू ब्वाँसोहरूजस्तै बलशाली, हिम्मतवान् थिए। ब्वाँसोहरूजस्तै जंगलमा निडर बस्न, स्वतन्त्र बाँच्न सक्थे। जति बेला उनीहरू फर्केर जंगल जाने हिम्मत गर्न सक्थे। जति बेला जंगल उनीहरूको आफ्नो घर थियो, भर थियो। उसलाई इतिहासमा आफूहरूले ठूलो गल्ती गरिसकेको महसुस हुन थाल्छ।

‘अब त हामीलाई हाम्रै शरीरको जिनले नै अक्षम करार गरिसक्यो, अब त जंगलले पनि आफ्नो ठान्न छाडिसक्यो। बाध्य भएर अब हामी यिनै मान्छेहरूको दास बन्नु पर्नेछ युगौंयुगभर। यिनीहरूकै वरिपरि बस्नुपर्नेछ, यिनीहरूकै शरणमा बाँच्नुपर्नेछ। हामीले चाहेर पनि उस्तो जिन्दगी अब कसरी सम्भव होला र खै।’

बडो उदास मुद्रामा उसले आफ्नो लाचारी ओकल्छ। मानसिक तनावको भारीले उसलाई गह्रौं गरी थिच्छ। यस्तो कठिन मनस्थितिबाट आजसम्म गुज्रिएको थिएन ऊ। छटपटीमा घरि कोठाको वल्लो कुना पुग्छ घरि अर्को। घरि कोठालाई यस्तरी फन्को मार्छ, मानौं यो कोठा कुनै सौर्यमण्डल हो र ऊ कुनै विवश ग्रह, जसबाट ऊ टाढा भाग्न खोजिरहेछ तर यसको गुरुत्वले उसलाई आफूतिर खिचिरहेको छ। उसलाई केही सोच्नै मन लाग्दैन, उसलाई आफ्नै विचारप्रति झर्को लाग्न थाल्छ। भित्तामा टाँसिएको मानव परिवारसँगको प्रसन्न मुद्राको आफ्नै तस्बिरमुनि ऊ थचक्क बस्छ। शरीरका कोषकोषमा सञ्चित थकानले ऊ केही छिनमै भुसुक्क निदाउँछ।

घरको गेटबाहिर गाडीको आवाज नजिकिँदै जाँदा पो प्लुटो झल्याँस्स हुन्छ। झमक्क साँझ परिसकेछ। मानव परिवारले गेटभित्र आफ्नो गाडी छिराउँदै गर्दा ऊ सोफामाथिको आफ्नो बदमासी सम्झन्छ। उनीहरूको आक्रोशित अनुहार र भयानक गाली सम्झन्छ। सम्झन्छ, भुस्याहा कुकुरको कष्टकर जिन्दगी। ब्वाँसाहरूको हिंस्रक आक्रमण, जंगलको डरलाग्दो परिवेश र आफ्नो अत्यासलाग्दो मरण सम्झन्छ ऊ।

एकाएक उसलाई भयंकर डर लागेर आउँछ। उसले सोफामाथिको आफ्नो हर्कतलाई जसरी पनि तह लगाउनुपर्ने देख्छ। आफ्नो मूर्खता देखेर आफैंलाई सराप्न थाल्छ ऊ। के गर्ने के नगर्नेको हतास मनस्थितिमा उसले अन्य केही उपाय नै देख्दैन र हतार हतार सोफामाथिको आफ्नो गुहुलाई कपाकप खान थाल्छ। सोफामाथि लागेको गुहुको दागलाई चाटीवरी सिनित्त पारिदिन्छ।

मानव परिवारले गाडी पार्क गरेर ढोका खोलिसक्दा नसक्दै ऊ बेतोडले कुदेर मूलढोकामा स्वागतार्थ उपस्थित हुन्छ। उनीहरूलाई देखेपछि प्लुटोले उनीहरू अघिल्तिर उफ्रँदै कुद्दै जोडजोडले पुच्छर हल्लाउन थाल्छ। कुकुरलाई एकाएक पुरानै अवस्थामा देखेर उनीहरू खुसीले प्रफुल्लित हुन्छन्। उनीहरू प्लुटोलाई पालैपालो उचालेर अँगाल्छन्। प्लुटोले उनीहरूको अनुहारभरि मायाले चाट्न थाल्छ।

कम्प्युटर इन्जिनियरिङमा स्नातक नदीशको ‘हाँगामा झुण्डिएको आत्मकथा’ कवितासंग्रह प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.