मलाई पनि पानीले रुझाउँछ

मलाई पनि पानीले रुझाउँछ

परीक्षामा चिया

२०५३ सालको प्रवेशिका परीक्षाको समय आइपुग्यो। सबैले यसलाई कुरेका थिए। तर त्यसभन्दा बढी मैले कुरेको थिएँ। त्यतिबेला प्रवेशिका परीक्षालाई अभिभावक, विद्यार्थी र शिक्षक सबैको लगानीको प्रतिफल सुरक्षित गर्ने फलामे ढोकाका रूपमा चित्रित गरिन्थ्यो। १० वर्षको मिहिनेतपछि विद्यालय छाडेर उच्चशिक्षाका लागि ढोका उघारिने भएकैले होला, त्यसलाई स्कुल लिभिङ सर्टिफिकेट अर्थात् एसएलसी भनिएको।

यो राष्ट्रव्यापी रूपमा सञ्चालित परीक्षामा स्कुलको केही हात हुँदैनथ्यो। जतिसुकै मैले काठमाडौंमा बसेर पढेको भने पनि मैले शिक्षा लिएको छु भन्नेमा मेरा आफन्त र धेरैजसो छिमेकीको विश्वास थिएन। त्यसैले एसएलसीमा राम्रो अंक ल्याएर गोरखापत्रमा आफ्नो सिम्बोल नम्बर देखाई त्यो भ्रम चिर्ने ठूलो धोको थियो।

एसएलसी स्कुलले सञ्चालन गर्ने परीक्षा नभएकाले दृष्टिविहीन विद्यार्थीका निम्ति राखिने सहयोगी लेखकको सिफारिस गरेर विद्यालयले जिल्ला शिक्षा अधिकारीको कार्यालयमा पठाउनुपथ्र्यो। अन्य मान्छे नपरून् र दुपयोग नहोस् भनेर त्यस्तो व्यक्तिको फोटोसमेत टाँसेर सिफारिस तयार गर्नुपथ्र्यो। मेरा लागि राइटरको व्यवस्था रामहरिले नै गरेको थियो। उसकै नजिकको मान्छे जयराम बानियाँलाई राख्ने भनेर हामी पहिलेदेखि नै ढुक्क थियौं।

हाम्रो परीक्षा केन्द्र बोडेको गणेश माविमा पर्‍यो। अरू साथीहरूलाई प्रवेशपत्रको नम्बरअनुसार विभिन्न कक्षामा राखियो। म र जयरामलाई चाहिँ स्कुलको कार्यालयमै बसेर परीक्षा दिने व्यवस्था मिलाइयो। जयरामले प्रश्न पढ्ने र मैले मौखिक रूपले दिएको उत्तर उसले लेख्ने प्रक्रिया अरू विद्यार्थीसँगै एउटै कोठामा गरेको भए मेरो जवाफ उनीहरूले सार्ने सम्भावना रहन्थ्यो। सँगै परीक्षाको गोपनीयता पनि संकटमा पथ्र्यो।

हामी दुवै जना बोलीबोली लेख्दा त्यसले अन्य विद्यार्थीलाई परीक्षा दिन बाधा पाथ्र्यो। त्यसैले जहिले पनि दृष्टिविहीन विद्यार्थीलाई बेग्लै कोठामा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको छ। कतै हामीले चिट पो चोर्छौं कि, केही गलत मनसायले काम पो गर्छौं कि भनेर निगरानीका निम्ति दुई जना शिक्षक खटाइएका थिए।

पहिलो दिनको परीक्षा अंग्रेजीको थियो। भक्तपुरमा पहिलो पटक एसएलसी दिने दृष्टिविहीन भएकाले हो कि के भएर हो कुन्नि, तत्कालीन जिल्ला शिक्षा अधिकारी रामप्यारी श्रेष्ठ पनि हाम्रो परीक्षा केन्द्रमा आइन्।

उनी मैले उत्तर भनेको र त्यसलाई भ्याइनभ्याइ जयरामले लेखेको हेरेर छक्क परिन्। दुई दिनपछि मेरो निगरानीका लागि खटाइएका शिक्षकहरू क्रमश : हटे। मैले भन्न र जयरामले त्यसलाई लेख्न भ्याइनभ्याइ भएको देखेपछि उनीहरूलाई म चिट चोर्ने खालको विद्यार्थी नभएको थाहा भइसकेको थियो।

त्यहाँकी प्रिन्सिपल जो परीक्षा सुपरिवेक्षक थिइन्, उनी पनि मबाट अति प्रभावित भइन्। त्यसपछि परीक्षाकै बीचमा हामी दुई जनालाई कहिलेकाहीँ चिया पनि दिन थालियो।

नागरिक शास्त्र भनेर अर्कै

सातमध्ये ६ ओटा विषयको परीक्षा राम्रैसँग सकियो। ऐच्छिक विषयका रूपमा नागरिक शास्त्र लिएका हामी केही विद्यार्थीको मात्र परीक्षा बाँकी थियो। त्यति बेला जान्ने भनिएका विद्यार्थीले ऐच्छिक विषयका रूपमा एक्स्ट्रा गणित रोज्थे।

नागरिक शास्त्र, भूगोल या अन्य विषय चाहिँ कमजोरको रोजाइ हुन्थ्यो। म कमजोर त थिइनँ। तर गणितको समस्याले नागरिक शास्त्र लिनुपरेको थियो। जब नागरिक शास्त्रका प्रश्न जयरामले पढ्दै गयो, म त छाँगाबाट खसे जस्तो भएँ।

पहिलो प्रश्न उसले

पढ्यो, नपढेको विषयबाट सोधिएको थियो। दोस्रोे, तेस्रोे गर्दै सबै पढ्यो। तर कुनै पनि प्रश्न हामीलाई पढाइएको विषयबाट सोधिएको थिएन। मैले सुपरिवेक्षकलाई हामीलाई दिइएका प्रश्न गलत विषयका पो परे कि भनेर एक पटक बुझिदिन अनुरोध गरेँ।

उनले हामी बसेकै अफिस कोठाबाट परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरिन्। नागरिक शास्त्रबाटै प्रश्न सोधिएको रहेछ। तर हामीलाई विद्यालयले जेलाई नागरिक शास्त्र हो भनेर दुई वर्षसम्म पढायो, त्योचाहिँ फरक विषय रहेछ।

विद्यालय एवम् विषय शिक्षकको गम्भीर लापरबाही थियो, त्यो। मैले आफूले पढ्दै नपढेको विषयको परीक्षा दिन नसक्ने बताएँ। उता सोही विषयमा परीक्षा दिन लागेका अन्य साथीको अवस्था के थियो, मलाई केही भनिएन।

परीक्षा केन्द्रका सबैको सहानुभूति हामीतिरै थियो। तैपनि उनीहरू आधिकारिक रूपमा केही गर्न सक्दैनथे। हामीले विरोध गर्दागर्दै झन्डै एक घण्टा जतिको समय

गुज्रिसकेको थियो।

सबै विषयमा ढुक्कले प्रथम श्रेणीमा उत्तीर्ण हुने आशा बोकेको मलाई यो विषयमा फेल हुने सम्झिँदा मात्रै पनि कहाली लाग्न थाल्यो। फेरि अब के गर्ने भनेर सुपरिवेक्षकले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरिन्।

म पनि उही अफिसमा भएकाले उनीहरूको टेलिफोनको वार्तालापबाट अवस्था अनुमान गर्न गाह्रो भएन। जो जसले परीक्षा दिन्छन्, दिलाउनू, नदिने र विरोध गर्नेलाई अमर्यादित कार्य गरेकामा पक्रिनू भन्ने आदेश आयो।

हामी निर्दोष हौं। हामीलाई पढाउँदै नपढाएको विषयको प्रश्न सोधिएको छ। हाम्रो ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो ? ” मैले सुपरिवेक्षकलाई सोधें। उनी मौन रहिन्।

अनि चिटिङ

एसएलसी उत्तीर्ण गरेर सबैलाई दृष्टिविहीनहरूले पनि पढ्न सक्छन्; म पनि केही गर्न सक्छु भनी देखाउने मेरो सपना अधुरै रहने ठानेँ। धेरैजसो प्रश्न राजनीतिक प्रकृतिका थिए।

प्रश्नपत्रमा नेपालको संविधान, २०४७ का विशेषता, कार्यपालिका र न्यायपालिकाको गठन अनि काम, कर्तव्य तथा संयुक्त राष्ट्रसंघको स्थापनाका उद्देश्य आदि प्रश्न समेटिएका थिए। थोरै मात्रै पनि पढ्न पाएको भए त ती सबै मेरा रुचिकै क्षेत्र थिए।

सधैंजसो रेडियोमा समाचार सुन्ने भएकाले मलाई संयुक्त राष्ट्रसंघबारे अलिअलि थाहा थियो। मैले कनिकुथी त्यही प्रश्नको जवाफबाट लेख्न सुरु गराएँ। जीवनमै नपढेको विषयमा परीक्षा दिन थालें।

म बसेको देब्रे साइडमा झ्याल थियो। त्यो झ्यालमा सधैं हाम्रो निगरानीका लागि खडा प्रहरी निरीक्षक थिए। मेरा लागि गर या मरको थियो, त्यो क्षण। निर्दोष एवम् कमजोर भएपछि अनि अन्यायमा परेपछि डर पनि भाग्दो रहेछ। बरू उल्टै साहस आउँदो रहेछ।

ँदाइ ! हामीमाथि अन्याय भयो। पढ्दै नपढेको विषयको परीक्षा कसरी दिन सक्नु ? तर पनि एसएलसी पास गर्ने मेरो ठूलो धोको छ। २०४७ सालको संविधानका विशेषता कतैबाट ल्याइदिएर मलाई सहयोग गरिदिनुहोस् न,” मैले रुन्चे भावमा प्रहरी निरीक्षकलाई बिन्ती बिसाएँ।

बिनाकारण मैले जुन सजाय भोग्दै थिएँ, सायद त्यो उनलाई पनि सही लागेको थिएन। केन्द्रका कसैलाई पनि सही लागेको थिएन। प्रहरी निरीक्षकले मेरो पीडायुक्त अनुरोध स्विकारिदिए।

नेपालको संविधानका विशेषता राम्रोसँग सार्न सके २० अंकको प्रश्न हल हुन्थ्यो। अब मेरो आशा र भरोसा तिनै प्रहरी निरीक्षक भए जस्तो लाग्यो।

उनले झ्यालबाट प्रश्नका उत्तर दिने र जयरामले उत्तरपुस्तिकामा सार्ने काम भयो। मलाई उनको नाम त थाहा छैन। तर मेरो भलो गरेका उनको सधैं भलो होस् भनी यो मनले कामना गरिरहन्छ।

उता स्कुलका प्रधानाध्यापक मोहनमान श्रेष्ठ र विषय शिक्षक सहायक प्रधानाध्यापक जनज्योतिकुमार श्रेष्ठलाई सम्पर्क गरी हाम्रो अवस्थाबारे जानकारी गराइदिन सुपरिवेक्षकलाई फेरि अनुरोध गरेँ।

आखिर मेरा अन्य साथी पनि उस्तै अवस्थामा थिए। मोहन सर र जनज्योति सर आएपछि एउटा अनौपचारिक सहमति गरियो- हामीलाई थप एक घण्टा समय दिने।

त्यसपछि जनज्योति सरले सबै विद्यार्थी भएको कोठामा गएर फटाफट कालोपाटीमा प्रश्नका जवाफ लेखेर सार्न लगाएछन्। चिनजानकै विद्यालय भएकाले सबै काम मिलेरै भयो। सबैलाई जवाफ लेखाइसकेपछि उनी अफिसमा आए, जहाँ म छटपटिइरहेको थिएँ। ँमलाई तिमी पनि यो परीक्षा दिँदै छौ भन्ने यादै भएन,” उनको यस्तो भनाइले घाउमा मल्हम लगाउनुको सट्टा नुनचूक छर्किए जस्तो भयो।

आखिर एक जना दृष्टिविहीन विद्यार्थी, सबैको नजरमा परेको र सधैं उनको विषयमा बढी नम्बर ल्याउने म त्यो दिन सम्झनामै रहेनछु। अफिसमा मलाई भेटेपछि हतारहतार उनले दुईतीन ओटा प्रश्नको जवाफ जयरामलाई भन्दै गए र उसले लेख्दै गयो।

सबैलाई उत्तर सार्न लगाउने उनले मलाई किन बिर्सिएका थिए, मैले कहिल्यै दोहोर्‍याएर सोधिनँ।

६ ओटा विषयसम्म आइपुग्दा मुस्कान र चमक देखिएको मेरो अनुहार एकाएक सातौंमा आइपुग्दा साग ओइलाए जस्तै भयो। अब मलाई राम्रो नम्बर ल्याउनु त परको कुरा, एसएलसी पास हुनु पनि महाभारत लाग्न थाल्यो। छात्रावासमा फर्केर पनि खासै कोहीसँग बोल्न सकिनँ। वरिपरि उही नागरिक शास्त्र, स्कुलको चरम लापरबाही र जनज्योति सर घुमिरहे।

स्कुलले कुन आधारमा नागरिक शास्त्र भनेर अर्कै पाठ्यक्रम पढायो, थाहै पाइएन। ठूलो तनाव र पीडाबीच एसएलसी परीक्षा सकियो। त्यसपछि छात्रावासमा पनि बस्न मिल्दैनथ्यो। त्यसैले औपचारिक रूपले विद्यालय छोड्नुअघि स्कुल गएँ। सबै शिक्षकलाई बिदाइको अभिवादन गरेँ। र निरास मुद्रामा घर चितवनतिर लागेँ।

फेल भएर पास

असारको पहिलो साताको कुरा हो। चिरञ्जीवी दाइ म सुतिरहेको ठाउँमा आए। र एसएलसीको परिणाम सार्वजनिक भएको जानकारी दिए। म उत्तीर्ण हुनेमा धेरै आशावादी थिइनँ।

उत्साह कम र डर बढी लाग्यो। हुन त, घरमा नागरिक शास्त्रको प्रश्नपत्रबारे जे भएको थियो, त्यसको बेलिविस्तार लगाइसकेको थिएँ। तैपनि उनीहरूलाई म अनुत्तीर्ण नै हुन्छु भन्ने लागेको थिएन।

हाम्रो घर गाउँमै भएकाले तुरुन्त गोरखापत्र हेर्न पाइँदैनथ्यो। काठमाडौंमा सम्पर्क गर्न अहिले जस्तो तत्काल टेलिफोनको सुविधा पनि कहाँ पाउनु ? संयोगवश आमाबा त्यही दिन सामान किन्न टाँडी जाँदै हुनुहुन्थ्यो। त्यतैबाट मेरो नम्बर काठमाडौंमा रहेका हरि दाइलाई फोन गरेर बुझ्छौं भन्नुभयो।

बेलुका ५ बजेतिर उहाँहरू घर फर्कनुभयो। तर धेरै बेरसम्म केही बोल्नुभएन। केही नभने पनि त्यो मौनताले धेरै भनिसकेको थियो। एकछिनपछि बाले त्यो शान्ति भंग गर्दै ँतँ फेल भइछस्” भन्नुभयो।

आखिर मैले फेल हुने पहिले नै अनुमान गरेको थिएँ। घरका सबैलाई बताएको पनि थिएँ। तर फेल हुन सक्ने र फेल हुनुको भिन्नताभित्र कति पीडा हुँदो रहेछ, मैले त्यति बेला मात्रै अनुभूति गरेँ।

आफ्नोभन्दा अरूकै कारणले म असफल भएको थिएँ। जोडले चिच्याउन मन लाग्यो, ँयो स्कुलको लापरबाहीले भएको हो।” तर त्यो फगत भावना मात्र थियो। अलि बढी तन्काएको भए अर्थहीन आवेग बन्थ्यो। गोरखापत्रमा मेरो सिम्बोल नम्बर थिएन।

र, त्यो नै त्यतिबेलाको यथार्थ थियो। लाग्यो, गाउँका अरूसँगै आफ्नो सिम्बोल नम्बर गोरखापत्रमा देखाएर उनीहरूले जस्तै आफूले पनि एउटै विषय पढेको र उही शिक्षा लिएको देखाउने मेरो धोको अधुरै रह्यो।

त्यसपछि जुटपानीमा बस्नै मन लागेन। मन बिरक्तियो। भोलिपल्टै आमाको हात समाउँदै म काठमाडौं गएँ। मेरो रिजल्टबारे बुझ्न हरि दाइले स्कुलमा लगातार फोन गरिरहे। बल्लबल्ल श्याम सरसँग सम्पर्क भयो। उनी पनि मेरो नम्बर गोरखापत्रमा नआएकोमा दु :खी रहेछन्।

श्याम सरले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेपछि थप दु :खी बनाउने गरी एउटा अपत्यारिलो, आश्चर्यजनक एवम् कहालीलाग्दो जानकारी प्राप्त भयो।

रिजल्ट गोरखापत्रमा नआएको म नागरिक शास्त्रमा फेल भएर होइन रहेछ। मैले एक पटक पनि पढ्दै नपढी र अलिअलि प्रहरी निरीक्षकको मानवीय सहयोगको भरमा दिएको नागरिक शास्त्रको परीक्षा पनि उत्तीर्ण गरेछु। नागरिक शास्त्रमा उत्तीर्ण भएको खबरले मन फुरुंग त भयो। तर त्यसलाई समेत बिर्साउने गरी कार्यालय सञ्चालन र लेखा विषयमा कृष्णभक्त जोशी सरको लापरबाही र गैरजिम्मेवारको पर्दाफास भयो।

जे कारणले रिजल्ट रोकिएको थियो, त्यो सम्झँदा पनि मन चस्किन्छ। कार्यालय सञ्चालन र लेखा हामीले ऐच्छिक विषयका रूपमा पढ्नुपथ्र्यो। हामीलाई कृष्णभक्त जोशी सरले कक्षा ८ देखि नै यो विषय पढाउँथे। जोशी सर मान्छेचाहिँ हँसिला थिए। कक्षामा पनि राम्रैसँग पढाउँथे। नेपालका विसंगतिहरूमाथि चोटिलो व्यंग्य प्रहार गर्ने उनकोे कक्षामा समय बितेको पत्तै हुँदैनथ्यो। मलाई पनि उत्तिकै ध्यान दिन्थे। निकै सुमधुर सम्बन्ध थियो गुरुचेलाको।

उनको विषयमा अति राम्रो गर्नेहरूमध्ये म पनि थिएँ। तर एसएलसीमा तिनै सरले मेरो कार्यालय सञ्चालन र लेखाको प्राक्टिकलको नम्बर नपठाएको थाहा पाउँदा विश्वास गर्नै गाह्रो भयो। तर यथार्थ त्यही थियो। जोशी सरको मनपरीका कारण मैले सबैलाई आफ्नो नम्बर गोरखापत्रमा देखाउनबाट चुकेँ।

आँखा नदेख्ने मान्छेले प्राक्टिकल गर्नै सक्दैन। त्यस्तो विद्यार्थीलाई कसरी नम्बर दिनु ? ” उनले भनेका रहेछन्। तर मैले तीन वर्षसम्म पढ्दा उनले कहिल्यै त्यस्तो कुरा गरेका थिएनन्।

अरू विद्यार्थीलाई प्राक्टिकलको इग्जामका रूपमा गोश्वारा भौचर बनाउन लगाउँदा मैले जोशी सरलाई ँमलाई पनि वैकल्पिक प्रश्न सोधेर भए पनि परीक्षा लिनुहोस्” भनेको थिएँ।

गोश्वारा भौचर मैले ब्रेलमा बनाउन कठिन हुन्थ्यो। त्यसैले वैकल्पिक प्रश्न सोधेर परीक्षा लिनुहोस् भन्ने मेरो आग्रह थियो। ँतिमीले कति गर्न सक्छौ, मलाई थाहा छ। तिम्रो हरेक पटक राम्रो नम्बर आएको छ। त्यसैले केही चिन्ता नगर,” यति सकारात्मक सुनिने जोशी सरको व्यवहार चाहिँ बिलकुल अनपेक्षित एवम् आपत्तिजनक थियो।

कक्षा १० मा म उत्कृष्ट पाँचभित्रको विद्यार्थी। उनले धेरै पछाडि भएकाहरूलाई पनि २५ मा २५ नम्बर नै पठाएका थिए। तर मलाई कत्ति पनि नम्बर नपठाएर उनले आचरणगत रूपले सही गरेका थिएनन्।

उनलाई त्यही गर्ने मन भएको भए मलाई तीन वर्षसम्म त्यो विषय पढाउनु हुँदैनथ्यो। अर्थात् तीनतीन वर्षसम्म आफैंले पढाएर अन्त्यमा आँखा नदेख्नुलाई कारण बनाएर अंक नपठाउनु सही निर्णय थिएन।

महाभारतमा कर्णले क्षत्री होइन भनेर परशुरामसित धनुर्विद्या सिकेझैं मैले आफ्नो दृष्टिविहीनता लुकाएर उनको विषय पढेको थिइनँ।

स्कुलका आन्तरिक परीक्षामा सन्तुलन परीक्षणको तालिका बनाउने प्रश्नको विकल्पमा मलाई त्यससम्बन्धी वैकल्पिक प्रश्न सोधेर उनले अंक मिलान गर्ने काम नगरेका पनि होइनन्। तर एसएलसीमा चाहिँ उनको नियतमा किन बदनियत देखापर्‍यो, बुझ्न सकिनँ।

उनको यस्तो गैरजिम्मेवार हर्कतले म मात्रै होइन, श्याम सरलगायत पनि दु :खी भए। सबैबाट विरोध भएपछि खोइ के सोचेर हो, उनले हचुवामै २० नम्बर पठाए र स्थगित भएको मेरो परिणाम बल्ल सार्वजनिक भयो।

उनले मलाई प्राक्टिकलको २५ मा २० अंक दिए पनि ७५ अंकको लिखित परीक्षामा मैले ६४ अंक पाएको थिएँ। सायद, लिखितमा आएको यो ६४ नम्बर नै सो विषयमा त्यो वर्षको एसएलसीको सबैभन्दा बढी अंक हो भन्दै थिए कोहीकोहीले।

भेदभाव नगरी मलाई २५ अंक दिएको भए एकातिर मेरो रिजल्ट रोकिने थिएन भने अर्कोतिर हाम्रो स्कुल नै त्यो विषयमा सर्व श्रेष्ठ अंक ल्याउनेमा पथ्र्याे। जोशी सरको विभेदकारी आचरणले यस्तो अवसर गुम्यो।

मेरो रिजल्ट रोकिनु र प्रकाशन नहुनुभन्दा पनि जोशी सरजस्ता पढाउने मान्छेको सोचमा भएको खोट नै बढी चिन्ताको विषय हो।

जोशी सरले अंक नपठाएकाले स्कुलमा सबैले प्रमाणपत्र लिँदा मैले लिन पाइनँ। परीक्षा नियन्त्रण कार्यालयलाई बेग्लै किसिमले हातले लेखेर ओरिजिनल प्रमाणपत्र तयार गर्न थप समय लागेपछि झन्डै मेरो प्रमाणपत्र तहको पढाइ नै एक वर्षका लागि छुट्न गएको थियो।

अहिले पनि एसएलसीको प्रमाणपत्र हेर्‍यो भने अरूको भन्दा मेरो चाहिँ फरक छ, जसले मलाई जोशी सरको नमीठो सम्झना गराइदिन्छ। समाजमा उनी जस्ता शिक्षित असाक्षर धेरै छन्।

उनीहरूलाई बुझाउन र सकारात्मक परिवर्तन ल्याउन अझ धेरै गर्न बाँकी छ भन्ने पनि लाग्छ। नागरिक शास्त्रबाहेक सबै विषयमा पहिलो श्रेणीको नम्बर आएको थियो। कहिल्यै नपढेको नागरिक शास्त्रमा चाहिँ ४३ अंक ल्याएको थिएँ।

कक्षा ५ बाट ६ मा जाँदा जे कारणले म उत्कृष्ट तीनभित्र परिनँ भन्ने सुनेँ, मसँग त्यसको प्रमाण थिएन। तर एसएसलसी जस्तो राष्ट्रिय परीक्षामा आफ्नै स्कुलका विषय शिक्षकले देखाएको व्यवहारले शिक्षित मान्छे नै अपांगताप्रति कति नकारात्मक एवम् विभेदकारी बन्न सक्दो रहेछ भन्ने बलियो प्रमाणचाहिँ मिल्यो।

जति नै सकारात्मक सोचे पनि म पनि मान्छे हुँ। घाउ लाग्दा दुख्छ, पानीले रुझाउँछ र चिसोमा जाडो हुन्छ। उनीहरूको व्यवहारबाट मन कहिले बहकिन्थ्यो त कहिले चाहिँ विक्षिप्त पनि बन्थ्यो। तथापि मलाई उद्देश्य त्याग्नुपर्छ, सपना छोड्नुपर्छ भन्ने कहिल्यै लागेन।

अन्नपूर्ण पोस्ट दैनिकका स्तम्भकार डा. कमल लामिछानेको आत्मकथात्मक पुस्तक ‘अन्तर्दृष्टि’को सम्पादित अंश।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.