बाबुरामलाई जितायौँ, अब क्षमापूजा गरिन्छ : गगन थापा
गोरखा : नेपाली कांग्रेसका नेता गगन थापाले क्षमापूजा गरेर चुनावी भूलको प्रायश्चित गर्ने बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसको प्रथम नगरअधिवेशनलाई सम्बोधन गर्दै थापाले तत्कालीन नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई कांग्रेसले भोट दिएर जिताएकोले आउँदो निर्वाचनमा क्षमापूजा गरिने बताए।
''युद्धकालमा कांग्रेसकै नेता कार्यकर्ताको हत्या गरियो। बाँकी रहेका कांग्रेसजनको मतले बाबुरामले चुनाव जिते', उनले भने, 'तर चुनाव जितेपछि कांग्रेसलाई नै तथानाम गाली गर्न थाले।' पालुङटार पूर्वप्रधानमन्त्री डा. भट्टराईको गृहनगर पनि हो।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नयाँ शक्ति पार्टीबीच गठबन्धन बनेको थियो। दुई निर्वाचन क्षेत्र रहेको गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले नयाँ शक्ति पार्टीलाई समर्थन गरेको थियो। हाल नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकतापछि समाजवादी पार्टी नेपाल गठन भएको छ।
कांग्रेसकै भोटले चुनाव जितेका बाबुरामले चुनाव जितेपछि कांग्रेसलाई नै गाली गरेको भन्दै थापाले आक्रोश व्यक्त गरे। 'कांग्रेसलाई संग्राहलयमा राख्नुपर्छ भन्ने पनि उहाँबाट सुनियो, अब आउने चुनावमा हिसाबकिताब गरिन्छ। क्षमापूजा पनि त्यही बेला गरिन्छ', उनले भने।
सत्तारुढ नेकपा नीति, सिद्धान्त र विचारविहीन पार्टी भएको आरोप लगाउँदै थापाले देशको स्थिति बिग्रिनुमा नेकपा जिम्मेवार रहेको दाबी गरे यो सरकारले समृद्धि हासिल गर्ने सम्भावना नभएको उनको ठोकुवा छ। नेकपाका दुई अध्यक्षहरूबीच जुहारी चलिरहेकोले पार्टी फुट्ने अवस्थामा रहेको उनको दाबी छ।