डेनमार्कमा कांग्रेसको प्रशिक्षण
काठमाडौं : प्रवासमा रहेका नेपाली कांग्रेसका २३ वटा जनसम्पर्क समितिको संयुक्त प्रशिक्षण डेनमार्कको कोपनहेगमा सुरु भएको छ। कांग्रेसका मुलुक बाहिर ३३ जनसम्पर्क समिति छन्।
कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको प्रशिक्षणमा प्रतिष्ठानका संयोजक समेत रहेका उपसभापति विमलेन्द्र निधिसहित पार्टीका शीर्ष नेता सहभागी छन्।
प्रशिक्षणमा महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, अनुशासन समिति संयोजक भीष्मराज आङ्देम्बेलगायतका नेता पुगेका छन्।
जनसम्पर्क समिति डेनमार्कको १४ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले पार्टीका विदेशमा रहेका समितिको संयुक्त प्रशिक्षण गरेका हुन्। कार्यक्रममा पार्टीको अनुशासन, विधानदेखि नीति सिद्धान्तका बारेमा १६ वटा कार्यपत्र प्रस्तुत गर्ने योजना छ।
शनिबार सुरु भएको कार्यक्रम सोमबार सकिने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले शनिबार विज्ञप्ति निकालेर जनाएका छन्।