बजेट सक्न असारे विकास
भैरहवा : असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी रुपन्देहीमा अझै रोकिएको छैन। असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचना भए पनि यो परिपाटी नरोकिएको तथ्यांकले देखाएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीको तथ्यांकअनुसार चालु वर्ष ०७५÷७६ को जेठ मसान्तसम्म ६५ दशमलव ५२ प्रतिशतमात्रै पुँजिगत बजेट खर्च भएको छ।
रुपन्देहीमा यस वर्ष ५ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुँजिगत बजेट विनियोजन गरिएको थियो। जसमध्ये जेठ मसान्त सम्म ३ अर्ब ८६ करोड २४ लाख रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए। एघार महिनामा ६५ दशमलव ६२ प्रतिशतमात्र पँुजिगत बजेट खर्च भएकोमा अब असारमा २ अर्ब ३ करोड २५ लाख बढी रुपैयाँ अर्थात ३४ दशमलव ४८ प्रतिशत बजेटको काम गर्नुपर्ने देखिएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) रुपन्देहीबाट प्राप्त तथ्यांकअनुसार चालु वर्ष ०७५÷७६ मा पँुजिगत खर्च गर्न नसकेका आयोजना तथा कार्यालयमा डिभिजन सडक कार्यालय, व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया बुटवल सडक), लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजना, भैरहवा लुम्बिनी तौलिहवा सडक योजना, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, प्रदेश प्रमुख कार्यालय, भैरहवा भन्सार कार्यालय, भैरहवा लुम्बिनी भुमिगत जल सिंचाइ व्यवस्थापन डिभिजनलगायत छन्।
सबभन्दा बढी बजेट डिभिजन सडक कार्यालयले खर्च गर्न सकेको छैन। अब एक महिनामा ६३ करोड ८५ लाख ३० हजार ६१ रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। व्यापारिक मार्ग बिस्तार आयोजना (बेलहिया बुटवल सडक) ले २६ करोड ५८ लाख ८१ हजार ५ सय ७७ रुपैयाँ, लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजनाले १२ करोड ५५ लाख २६ हजार ५ सय ४४ रुपैयाँ, भैरहवा लुम्बिनी तौलिहवा सडक योजनाले ११ करोड ९० लाख ६२ हजार ८ सय ५२ रुपैयाँ पँुजिगत बजेट खर्च गर्न बाँकी रहेको तथ्यांकमा देखिएको छ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले १३ करोड ८८ लाख ३ हजार १ सय ६ रुपैयाँ, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १४ करोड ५७ लाख ९२ हजार ३ सय ६१ रुपैयाँ, भैरहवा लुम्बिनी भुमिगत जल सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयले ६ करोड ४१ लाख ८४ हजार ७ सय ११ रुपैयाँ, भैरहवा भन्सार कार्यालयले ४ करोड ९९ लाख २६ हजार ८ सय ५७ रुपैयाँ, प्रदेश प्रमुख कार्यालयले ७३ लाख ८७ हजार ६ सय ३७ रुपैयाँ पँुजिगत बजेट खर्च गर्न बाँकी देखिएको छ।
रुपन्देहीका विभिन्न कार्यालय र आयोजनाका लागि प्रयाप्त बजेट भए पनि खर्च गर्न नसकेको हो। खासगरी ठुला विकासे अड्डाले समयमा बजेट खर्च गर्न नसक्दा फ्रिज हुने अवस्था देखिएको छ। विगतमा पनि समयमा पुँजिगत तर्फको बजेट खर्च अर्थात विकास निर्माणको काम हुन समयमा हुन नसक्दा करोडौँ रुपैयाँ बजेट फ्रिज हँुदै आएको छ। असारमा काम गर्दा हतपतमा लतपत भने झैं गुणस्तरीय काम नहुने गरेको सर्वत्र गुनासो हुने गरेको छ।
फेरिएन शैली
०७५/७६ सकिन केही साता बाँकी छ। आर्थिक वर्ष सकिन लाग्दा सरकारी निकायलाई बजेट सक्न भ्याइनभ्याइ छ। असारमा तालिम, गोष्ठी, अन्तरक्रिया, सभा, सम्मेलन, विकास निर्माणमा बजेट सिध्याउन व्यस्त छन्। ‘अन्तिम समयमा बजेट सक्न गरिने काम नीतिगत भ्रष्टाचार हो’, स्थानीय विजयगोविन्द श्रेष्ठले भने, ‘यो गलत प्रवृति हो। यसलाई रोक्नुपर्छ।’ जनता सजग नभएसम्म यस्ता प्रवृति नरोकिने उनको भनाइ छ।
असारसँगै मनसुन भित्रिएको छ। मनसुनको बेला बुटवल उमहानगरले ११ लाख ६२ हजार रुपैयाँमा मिलन पथ–धर्मपथ सडकको कालोपत्रे गर्न ठेक्काका लागि स्थानीय पत्रिकामा सूचना प्रकाशित गरेको छ। प्राविधिक अनुसार हालै कालोपत्रे भएको सडकमा वर्षा भएमा सडकको आयु घट्छ। उपमहानगरले सडक निर्माण र हाटबजारको टहरो मर्मत गर्न करिब २० लाख रुपैयाँमा असार ५ गते स्थानीय पत्रिकामा सूचना प्रकाशित गरी ठेक्का आह्वान गरेको छ।
वडा नम्बर चार लक्ष्मीनगरमा १४ लाख ६२ हजार रुपैयाँमा पानी ट्यांकी निर्माण गर्न ठेक्का दिएको छ। असार ३ गते सूचना प्रकाशित गरी १८ लाख ६४ हजार रुपैयाँमा वडा नम्बर १२ स्थित शान्तिमार्गमा पखेटा पर्खाल निर्माण योजना ठेक्का सम्झौता गर्न लागेको छ। बुटवल उपमहानगरले आर्थिक वर्ष सकिन लाग्दा निर्माणकार्य, मर्मत, सामग्री खरिदमा करोडौं रुपैयाँ खर्च गर्ने गरी ठेक्का आह्वान÷सम्झौता गरेको छ।
गैडहवा गाउँपालिकाले विद्यालयलाई २६ लाखका लागि बोलपत्र आह्वान गरेको छ। चार वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री र आईसीटी कार्यक्रम गर्न २६ लाख रुपैयाँ विनियोजन गरी स्थानीय पत्रिकामा सूचना प्रकाशित गरेको हो। जनकल्याण मावि र जनता आधारभुत विद्यालयलाई आईसीटीका लागि ६ लाख ५० हजारको दरले १३ लाख रुपैयाँ दिन प्रक्रिया अगाडी बढाएको छ।
४० लाख बजेट विनियोजन गरेर गाउँपालिकाले केही दिन अघिमात्रै सडहवा–विचौवापुर सडक कालोपत्रे गर्न उपभोक्ता समिति निर्माण गरी सम्झौता गरेको छ। गाउँपालिकाको अधिकांश योजना उपभोक्ता समितीमार्फत सञ्चालन भइरहेको छ। गाउँपालिकामा पूर्वाधारका विकास निर्माण र कार्यक्रम अहिले धमाधम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले स्विकार गरे। कर्मचारी अभावले योजना, कार्यक्रमपछि धकेलिएकाले अन्तिम समयमा योजना, कार्यक्रम सञ्चालन गर्नुपरेको उनको भनाइ छ।