तयार भए मान्जनका मूर्ति

तयार भए मान्जनका मूर्ति

काठमाडौं : हालै आर्ट काउन्सिलमा भएको नवौं ललितकला प्रदर्शनीको अवसरमा मिठ्ठु थारूले लोककला विधामा उत्कृष्ट पुरस्कार पाए। दाङबाट रात्रि बसमा पुरस्कार थाप्न काठमाडौं आएका कलाकार थारूलाई पुरस्कार थापेर रात्रि बसमै पुनः दाङ फर्किन हतार थियो।

मिठ्ठु अहिले दाङको चखौरामा बनिरहेको थारू संग्रहालयमा मूर्ति बनाइरहेका छन्। यही मूर्तिको कामका लागि उनको धपेडी बढेको थियो। थारू संस्कृति संरक्षण केन्द्रको अगुवाइमा बनिरहेको संग्रहालय हालसम्म बनेको थारू संग्रहालयभन्दा सबैभन्दा ठूलो रहेको केन्द्रका अध्यक्ष राजेश चौधरी बताउँछन्। संग्रहालयका लागि ५ नं. प्रदेशका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले सांसद विकास कोषबाट ६५ लाख रुपैयाँ सघाएका छन्।

दाङमा थारू राजा दंगीशरणले कुनै समय राज्य गरेको भनाइ छ। यही दंगीशरण राजाका सन्तान हालका नाथ सम्प्रदायका योगी रहेको अन्वेषक राजाराम सुवेदीको भनाइ छ। दाङकै कलाकार रामचन्द्र श्रेष्ठले २०६४ सालमा दाङमा दंगीशरण महोत्सव हुँदा उनको मुहारको परिकल्पना गर्दै स्केच तयार पारेका थिए। कलाकार मिठ्ठुले सोही स्केचलाई मूर्तिमा ढालेका छन्।

थारू संग्रहालयका लागि आवश्यक मूर्ति र पेन्टिङ बनाउने परियोजनाका कन्सल्टेन्ट अशोक थारूका अनुसार थारूहरूको जन्मदेखि मृत्यु संस्कार तथा विवाहदेखि गुरै पाटी (धामी–झाँक्री बसेको)सम्म झल्किने मूर्ति तयार भएका छन्। केही मूर्ति त्रिवि कीर्तिपुरमा एमएफए अध्ययनरत विद्यार्थीले तयार पारेका छन्। मूर्ति बनाउने कामको संयोजन कलाकार चन्द्रमणि मगरले गरेका हुन्।

दाङलाई शासन सञ्चालनका लागि राणाकाल र सात सालको प्रजातन्त्रपछि पनि विभिन्न प्रगन्नामा विभाजन गरिएको थियो। छिल्ली, पछला, सवारी, पाटु यी सबै प्रगन्नाका मान्जन (अगुवा) पनि थारू समुदायकै थिए। संस्कृतिविद् अशोक थारू भन्छन्, ‘यी सबै प्रगन्ना मान्जनहरूको मूर्ति पनि बनाइएको छ।’

थारूहरूको महिला, पुरुषले लगाउने परम्परागत पोसाक गरगहना लगाएका पेन्टिङ पनि थारू संग्रहालयमा सजिँदै छन्। करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको थारू संग्रहालयमा थारू पाहुना घरसमेत सञ्चालन भइसकेको छ। यही संग्रहालय परिसरमा उपहार घरसमेत बनाएर थारू समुदायले बनाएका हस्तकलाका सामग्रीको बिक्री कक्ष पनि बनाइने अशोक थारू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.