फूलको माया
मानवी ढकी लिएर फूलबारीमा गइन्। आज उनका हात फूल टिप्न अघि सर्दै सरेनन्। फूलको असाध्यै माया लागेर आयो। टिप्न मन लाग्दै लागेन। उनलाई फूलका थुँगाहरू बोलेझैं लाग्यो।
‘मानवी, फूलबारीबाट राम्राराम्रा फूल टिपेर ल्याऊ त। म पूजाकोमा हुन्छु। फूल त्यहीँ ल्याउनु है !’ बाबा बिहान सधैंजसो मानवीलाई यही काम अर्यारउनुहुन्छ। मानवीलाई फूल टिप्ने काम गर्न मनै लाग्दैन। तर बाबाले भनेको मान्नु परिहाल्यो। उनी गाह्रो गरी फूलबारीमा जान्छिन्। ढकीभरि फूल टिपेर ल्याउँछिन्। पूजाकोमा राखिदिन्छिन्।
मानवीलाई फूल असाध्यै मन पर्छ। उनको फूलबारीमा धेरै थरीका फूल छन्। सबैजसो महिनामा एउटा न एउटा फूल फुलेको हुन्छ। उनी फूलको थुँगा जतनले समातेर मुसार्छिन्। गालामा टाँस्छिन्। चुप्प म्वाइँ खान्छिन्। गालामा फूल टाँस्दा मानवीलाई आनन्द आउँछ। फूल नटिपीकनै उनी फूललाई माया गर्छिन्।
पूजाकोठामा अनेक देवीदेवताका फोटा राखिएको छ। भित्तामा किला ठोकेर ती फोटामा माला लगाइएको छ। त्यहाँ सरस्वतीको मूर्ति पनि छ। मूर्तिमा पनि माला लगाइएको छ। मालाका फूल सुकेका छन्। मालामा सुकेका फूल देख्दा मानवीलाई पिर लाग्छ। तर उनी बाबाआमालाई केही भन्न सक्दिनन्।
बिहानै बाबाआमा पालैपालो पूजाकोठामा पसेर पूजा गर्नुहुन्छ। पूजा गरेर प्रसाद दिनुहुन्छ। टीका लगाइदिनुहुन्छ। शिरमा फूल राखिदिनुहुन्छ। खै किन हो, उनलाई ठाउकोमा फूल सिउरिन मनै लाग्दैन।
आज पनि बाबाले मानवीलाई फूल टिप्न अह्राउनुभयो। आमाले ढकी दिनुभयो। तर उनलाई फूलबारीको फूल टिप्नै मन लागेन। उनले भनिन्, ‘आमा, आज राम्ररी फूल फुलेकै छैन। म आज फूल टिप्दिनँ है !’
आमाले भन्नुभयो, ‘जति फुलेको छ, त्यै ल्याऊ न। नफुलेको भए फक्रिन लागेका कोपिला ल्याए पनि हुन्छ। पूजा गर्न ढिला भइसक्यो। बाबा र मलाई अफिस जान ढिलो हुन्छ। तिम्रो पनि स्कुल छुट्ला नि !’
मानवीले फूल नटिप्न बहाना बनाएकी थिइन्। फूलबारीमा चाहिँदो फूल फुलेका थिए। आमाले ढोकाबाटै हेर्नुभयो। उहाँले फेरि भन्नुभयो, ‘फूल त टन्नै फुलेको छ त। तिमीले देखेकी छैनौं ? तिमीलाई फूल टिप्न किन अल्छी लाग्छ हँ ? जैले पनि आनाकानी गछ्र्यौं। त्यति सानो काम लगाउँदा पनि अल्छी गर्नुहुन्छ ? ’
मानवीलाई ‘मलाई फूलको असाध्यै माया लाग्छ, त्यसैले टिप्न मन लाग्दैन’ भन्न मन लागेको थियो। बाबाआमाले गाली गर्नुहुन्छ भनेर अर्कै कुरा भनिन्, ‘मैले फूलबारीमा फूल फुलेकै देखेकी थिइनँ।’
उनी ढकी लिएर फूलबारीमा गइन्। आज उनका हात फूल टिप्न अघि सर्दै सरेनन्। फूलको असाध्यै माया लागेर आयो। टिप्न मन लाग्दै लागेन। उनलाई फूलका थुँगाहरू बोलेझैं लाग्यो। उनले कान थापेर सुनिन्। फूलको ठूलो एउटा थुँगाले भन्यो, ‘मानवी, तिमी हामीलाई माया गछ्र्यौं भने हामीलाई नटिप ल ! हामीलाई पनि तिमीजस्तै बढेर ठूलो हुन मन छ। सधैं तिमीले टिपिदिनाले हामी अकालमै मर्यौं । तिमी ज्ञानी मानिस हौ भने हामीलाई अकालमा नमार ल !’
फूलका कुरा सुनेर मानवीको मन कटक्क खायो। उनले फूल टिप्न सकिनन्। ढकी भुइँमा राखेर बसिन्। पूजा गर्न ढिलो भइसकेको थियो। छोरीले फूल नल्याएपछि बाबा कराउन थाल्नुभयो, ‘नानीले किन फूल ल्याइन हँ ? ढिलो भयो त।’
आमा आफैं फूलबारीमा जानुभयो। मानवी ढकी भुइँमा राखेर बसेकी थिइन्। आमाले रिसाउँदै भन्नुभयो, ‘तिमी किन अटेरी भएकी ? तिमीलाई नै स्कुल जान ढिलो हुने त हो नि !’
मानवी बोलिनन्। आमाले ढकी हातमा लिनुभयो। आफैं फूल टिप्न थाल्नुभयो। अघि उनीसँग कुरा गर्ने फूल पनि टिप्नुभयो। ‘त्यो फूलले मलाई कति सराप्यो होला ! ‘हामीलाई नटिप्नु’ भन्दै थियो।’ मानवीले मनमनले कुरा गरिन्। भित्रभित्रै रोइन्।
अर्को दिन पनि फूल टिप्ने समय भयो। मानवी घरमा देखिइनन्। बाबाआमाले बोलाउनुभयो। उनी बोलिनन्। बाबा ‘मानवी ! मानवी !’ भन्दै आँगनमा निस्कनुभयो। बाबा ढकी लिन पूजाकोठामा पस्नुभयो। कोठामा ढकी भेटिएन। चारैतिर खोज्नुभयो। ढकी पत्तो लागेन।
ढकी मात्रै हराएको हो र ! आज त देवीदेवता नै पूजाकोठामा थिएनन्। बाबालाई अचम्म लाग्यो। आमालाई बोलाउनुभयो। आमा पनि अचम्ममा पर्नुभयो। ‘कोठाका देवीदेवता कसले लग्यो होला ? फूल टिप्ने ढकी पनि छैन। मानवी पनि देखिएकी छैनन्।’
बाबाआमा दुवैजना बाहिर आउनुभयो। फूलबारीमा जानुभयो। मानवी फूलबारीमा नै थिइन्। पूजाकोठाको मूर्ति र फोटा उनले फूलबारीमा ल्याएकी रहिछन्। उनले मूर्तिलाई ढकीमा राखिछन्। फूलको थुँगा लर्काएर मूर्तिको टाउको माथि राखिदिइछन्। देवताका फोटालाई पनि फूलबारीको बीचमा राखिछन्। उनी आफैं पो पूजा गर्न थालेकी रहिछन्।
‘सरी है भगवान् ! मलाई फूलको माया लाग्यो। मैले फूल रोएको हेर्न सकिनँ। मैले फूलबारीमै ल्याएर तपाईंहरूको पूजा गरेकी छु। मसँग खुसी हुनुस् है !’
मानवी काम देखेर बाबाआमालाई पनि के गर्नु के नगर्नु भयो। मानवीले फूल टिप्न नमानेको कुरा बल्ल थाहा पाउनुभयो।
भाइबहिनी हो ! मानवीले गरेको यो नौलो काम तिमीलाई कस्तो लाग्यो ? त्यसपछि बाबाआमाले मानवीलाई के भन्नुभयो होला ! त्यसपछिको कुरा तिमीहरू आफैं कल्पना गर है !