एकजना कर्मचारीको भरमा लोमन्थाङ गाउँपालिका
जोमसोम : मुस्ताङको लोमान्थाङ गाउँपालिकामा २९ जना कर्मचारीको दरबन्दी छ। तर १ जना प्रशासकीय अधिकृतले सिँगो गाउँपालिका कार्यालय धानेका छन्।
आवश्यक कर्मचारी नभएपछि काम गर्न समस्या भएको प्रमुख प्रशासकीय अधिकृत सुशील अर्यालले जानकारी दिए। गाउँपालिकाले कर्मचारी अभाव सुरुदेखि नै भोग्दै आइरहेको अर्याल बताउँछन्। उनकै भनाइमा वडाहरुमा पनि कर्मचारी अभाव उस्तै छ। ५ वडा सचिवसहित रिक्त १० दरबन्दीमध्ये करार र प्राविधिकतर्फका गरी ४ जना मात्रै कर्मचारी छन्।
कर्मचारीविहीन हुँदा दैनिक प्रशासनिक, सेवाग्राहीको सेवा र विकास निर्माणसम्मै अप्ठ्यारो परेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए। लोमन्थाङ दुर्गम र चिसो ठाउँ भएकैले कर्मचारीको हेलामा परेको हो। कर्मचारीकै अभावबीच पनि कार्यालय भवनसहित अन्य ४ वटा वडा कार्यालय लोमन्थाङले बनाइसकेको छ।